काठमाडौं । सरकारले स्थानीय निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयले एक सुचना जारी गर्दै एक लाख संख्यामा म्यादी प्रहरीमा भर्ना खुलाएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने छ ।
चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको विज्ञापनमा उल्लेख छ ।
म्यादी प्रहरीमा भर्ना हुनेले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् । प्रहरी जवानको आधारभूत तलब २२ हजार ६ सय ८० अनुसार उनीहरुले तलब बापत ३० हजार २ सय ४० पारिश्रमिक पाउने छन् । यसबाहेक खाद्यान्न वापत ७ हजार २ सय र पोसाक तथा अन्य सामान खरिदका लागि ६ हजार र निर्वाचनका खटिदा एक पटक आतेजातेका लागि १ हजार पाउने छन् ।
१८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्नेछन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा गत साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्णले पनि भर्ना हुन प्राथमिकतामा राखेको छ । यद्यपी उनीहरुले प्रवेश पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
यसका साथै तीनवटै सुरक्षा निकायका अवकाशप्राप्त कर्मचारी, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरेर अवकाश पाएकाहरुलाई पनि प्राथमिकतामा राखिएको छ ।