काठमाडौं । नेपाल प्रहरीको एआईजी बढुवाका लागि तीन डीआईजी सिफारिस भएका छन्। गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
सोही सिफारिसका आधारमा अब बस्ने मन्त्रिपरिषद्को बैठकले एआईजीमा बढुवा गर्नेछ। यसअघि सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो। हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन्। तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्ने भएको छ।
एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन्। पन्त आईजीपीकै ब्याची हुन्। उनी आईजीपीसँगै अवकाशमा जानेछन्।
आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन्। उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अन्य डीआईजीहरुले पनि अवकाश पाउनेछन्।