विराटनगर । प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले खेल क्षेत्रमा लगानी बढाउन आवस्यक भएको बताएका छन् ।

मानव जीवनमा खेलकुदको महत्व हुँदाहुँदै पनि सम्बन्धित क्षेत्रले ध्यान दिन नसक्दा नेपालको खेल क्षेत्रमा अपेक्षा गरे अनुसार प्रगति हुन नसकेको बताए । मंगलबार विराटनगरमा सम्पन्न मिल्स कप खुल्ला क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले विषयगत क्षेत्रले विशेष ध्यान दिन जरुरी भएको बताए ।

मानव स्वास्थ्यको हित र राष्ट्रको गरिमा उच्च राख्न मात्रै नभई खेल क्षेत्रले आपसी सद्भाव, अनुशासन, मर्यादित जीवनयापन कायम राख्न पनि मद्धत गर्ने भएकाले खेल क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्नेमा उनको जोड छ । सामाजिक परिवर्तन, शान्ति र आपसी समझदारीमा खेल क्षेत्रको धेरै महत्व रहेको उनले स्पष्ट पारे ।

कतिपय क्षेत्रमा राज्यले खेलकुदका लागि दिएको बजेट सदुपयोग हुन नसक्दा समेत समस्या सृजना हुने गरेको पाईएको उनको भनाइ छ । यस्तै नेपाली खेलाडीको मनोवल उच्च राख्दै उदयीमान खेलाडीलाई अन्तराष्ट्रिय स्तर सम्म पु¥याउन आफ्ना तर्फबाट सक्दो पहल गर्ने पनि उनले बताए । उक्त प्रतियोगिताका लागि उहाँले व्यक्तिगत तवरबाट नगद १ लाख रुपैँया समेत सहयोग गरे ।

विराटनगर स्थित जुटमिलको खेल मैदानमा भएको प्रतियोगितामा भारतको समशेर क्रिकेट क्लबलाई ६ रनले हराउँदै पुर्वाञ्चल क्रिकेट क्लब विराटनगरले प्रतियोगितको उपाधी हात पारेको छ ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी विराटनगर १६ ले आयोजना गरेको प्रतियोगिताको बिजेता टिमलाई मन्त्री हाङ्गामले ट्रफी तथा प्रमाणपत्र वितरण गरे । बिजेता टिमले ट्रफी तथा प्रमाणपत्र सहित नगद १ लाख ११ हजार रुपैँया हात पारेको छ भने उपबिजेता टिमले ट्रफी तथा प्रमाणपत्र सहित ५१ हजार रुपैँया पाएको छ ।

तपाईको प्रतिक्रिया