काठमाडौं । नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाको मेयरका लागि दलित समुदायका नेता गोविन्द दर्नालसहित नौ जनाको नाम सिफारिस गरेको छ ।

नगर कार्यसमितिले मेयरका आकांक्षीहरूमध्ये दर्नालसहित नौ जनाको नाम सिफारिस गरेको हो । दर्नाल कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका प्रदेश १ कार्यसमितिका सभापति समेत हुन् ।

लामो समयदेखि कांग्रेसमा सक्रिय भएर काम गर्दै नेता दर्नालले आफू पनि धरानको विकासको नेतृत्व गर्न सक्षम रहेको भन्दै मेयरका लागि दाबी गरेका हुन् ।

महानगर कार्यसमितिले मेयर पदका लागि हालका मेयर तिलक राई, नेताहरु किशोर राई, पर्वत राई, अजय राई, उमेश थापा, सुजेन्द्र तामाङ, श्यामा रेग्मी र मीना पुलामीको नाम सिफारिस गरेको छ । महानगर कार्यसमितिले नौ जना आकांक्षी सिफारिस गर्दा एक महिला र एक दलित समेटेको हो ।

कांग्रेसको विधानअनुसार सर्वसम्मत उम्मेदवार चयन गर्न नसके एक पदका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । नगर समितिको सिफारिसमा जिल्लाले राय राखेपछि प्रदेश संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ ।

सत्ता गठबन्धनले धरान उपमहानगरको मेयर कांग्रेसले लिने र उपमेयर माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ ।

धरानबाट कांग्रेसले उपमेयरमा हिमाल राई, मनिता घिमिरे, झुमा राई, उर्मिला प्रधान, शीला ब्रजाचार्य, निलकुमारी थापा, कुसुम ओली, निर्मला शाक्य, सन्तोष विश्वकर्मा र कोपिला भट्टराईको नाम सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया