सिरहा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार सिरहाका तीन स्थानीय तहमा उपमेयर पदका लागि दलित महिलाले उम्मेदवारी दिएकी छन् । गोलबजार नगरपालिकामा कांग्रेसबाट शान्ति सदा, सिरहा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)बाट शशिमित्रा माझी मुसहर र कर्जन्हा नगरपालिकामा एमालेको तर्फबाट निर्मला पासवानले उम्मेदवारी दिएकी हुन् ।

स्थानीय तहको निर्वाचनमा प्राय: दलित महिला आरक्षित वडा सदस्यसम्म उम्मेदवार बनाइने मुसहर समुदायका दुई महिला र पासवान समुदायका महिलाले उपमेयरको पदमा उम्मेदवारी दिनु पनि ती समुदायमा राजनीतिक जागरण बढ्दै गएको संकेत गर्छ ।

दलित समुदायको पनि पीँधमा रहेको मानिने मुहसर समुदायकी शान्ति सदाले मजदुरी गर्थिन् । जंगलबाट दाउरा ओसार्दा होस वा मजदुरी र वस्तुभाउ चराउन जाँदा शान्ति मन खोलेर गीत गुनगुनाउँथिन् । मजदुरी गरेर एसएलसी उत्तीर्ण शान्तिले पठनपाठनको प्रारम्भ नौलो बिहानी कक्षाबाट सुरुवात गरिन् । सेभ द चिल्ड्रेनद्वारा सञ्चालित विद्यालय बाहिर रहेको बालबालिकाहरुको लागि नौलो बिहानी कक्षाको पढाईपछि सरस्वती माविमा कक्षा ५ मा शान्ति भर्ना भइन् । मजदुरी र दाउरा ओसार्ने काम गर्दै उनी त्यही विद्यालयबाट एसएलसी उत्तीर्ण भइन् ।

मिरमिरे बाल क्लबमा हुँदा शान्ति बालअधिकारसम्बन्धी गीत गाउँथिन् । माध्यमिक तहमा अध्ययनरत अवस्थामा विवाह बन्धनमा बाँधिएका शान्तिको शिक्षा र सांगीतिक यात्रा दुवै पराई घर गोलबजार नगरपालिका–६ डोहटियाबाट सुरु भयो । सानै उमेरदेखि गीत गाउने चाहनालाई पनि तीनले विवाहपश्चात् निरन्तरता दिन थालिन् । मुसहर जातिको उत्थानमा सक्रिय सवरी संकल्प समाज गोलबजारको पहलमा मैथिली संगीतका गुरु सूर्यनारायण सिंहले संगीत शिक्षा दिन थाले । सिंहले ७ वर्षसम्म गोलबजारमा संगीत सिकाए ।

संगीत गुरु सिंहले नै गीत, संगीतमा पोख्त पारेर ‘सैया पैया परैछी’ गीतको रचना गरी रेकर्डिङमा पुर्‍याए । सिंहकै समन्वयमा ती जोडी भारतको इलाहावाद प्रयाग संगीत विद्यालयमा संगीत शिक्षाको औपचारिक शिक्षाका लागि भर्ना भए । जातीयरुपमा विभेद गर्ने समाजमा दलित मुसहर समुदायका एउटा बुहारीलाई मञ्चमा गीत गाउनु र आफ्ना प्रतिभा देखाउन कठिन भए पनि संघर्ष यात्रालाई जारी राखिन् ।

शान्ति र उनका पति गुरुशरणले नेपाली र मैथिलीमा तीन दर्जनभन्दा बढी गीत अहिलेसम्म रेकर्ड गराइसकेका छन् । तर कोभिडबाट उनका पति गुरुशरणको एक वर्षअघि निधन भयो । शान्तिले रेडियो नेपालबाट २०७४ मा आयोजित आधुनिक गीत प्रतियोगितामा ‘मुटुभरि तिम्रो माया, आँखाभरि आँसु’ गीत गाएर प्रदेश २ मा दोस्रो स्थान जित हासिल गरिन् । राजनीतिक क्षेत्रमा नहोमिएकी ३२ वर्षीया शान्तिलाई कांग्रेसले गोलबजार नगरपालिकाको उपमेयर बनायो । चुनावी अभियानमा सक्रिय शान्तिले राजनीतिक क्षेत्रबाट मात्रै समाज रुपान्तरण सम्भव भएकाले उम्मेदवारी दिएको बताइन् ।

यस्तै सिरहा नगरपालिकाको उपमेयरमा दलित मुसहर समुदायकी शशिमित्रा माझी मुसहर उम्मेदवार बनेकी छन् । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेकी २९ वर्षीया शशिमित्रा यसअघि महिला अधिकार क्षेत्रमा सक्रिय थिइन् । स्टाफ नर्स उत्तीर्ण उनले सिरहा युथ नेपाल नामक संस्था दर्ता गरेर दलित, महिला अधिकार क्षेत्रमा सचेतीकरण अभियान सञ्चालन गरेकी थिइन् । सिरहा नगरपालिका क्षेत्रमा पुस्तौंदेखि जकडिएको हानिकारक प्रथाविरुद्ध आवाज उठाउनुका साथै कानुनको पहुँच बाहिर रहेका भूमिहीन दलित सुकुम्बासीलाई कानुनी उपचारका लागि पैरवी गरेको उनमा ५ वर्षको अनुभव छ ।

राजनीतिक पृष्ठभूमिको परिवार भएकै कारण सर्लाही चन्द्रनगर गाउँपालिका–६ माइतीमै रहँदा उनीमा राजनीतिक चेतना विकास भएको थियो । उनका बुबा रामकेवल माझी वामपन्थी विचारधाराका थिए । रामकेवल एमाले हुँदै नयाँ शक्ति पार्टी केन्द्रीय सदस्यसमेत थिए । रामकेवलले समेत जनता समाजवादी पार्टीबाट सोमबार वडाध्यक्षमा उम्मेदवारी दिएको उनले सुनाइन् ।

सामाजिक अभियानलाई राजनीतिकरुपमा उपमेयर पदमा उमेदवारी दर्ता गराएर पीडामा छट्पटिएका आवाजविहीन दलित समुदायलगायत पीडामा रहेका नागरिकहरुका लागि मलमपट्टीका रुपमा आफ्नो भूमिका प्रस्तुत गर्ने बताइन् । उनका पति दिलीप माझी मुसहर सिरहा अस्पतालमा चिकित्सक छन् । सन् २००७ मा किर्गिस्तानबाट एमबीबीएस उत्तीर्ण दिलीप चिकित्सक पेसा छाडी त्यत्तिखेर सिरहा नगरपालिकामा नयाँ शक्ति पार्टीबाट मेयरको प्रतिस्पर्धामा उत्रिएका थिए ।

जिल्लाको पश्चिमी भेगमा पर्ने कर्जन्हा नगरपालिकामा एमालेले दलित महिला संघकी पूर्वअध्यक्ष तथा दलित महिला अधिकारकर्मी निर्मलाकुमारी देवी पासवानलाई उपमेयर उम्मेदवार बनाएको छ । २७ वर्षसम्म दलित महिला संघको नेतृत्व गरेकी पासवानको राजनीतिक यात्रा एमाले सम्बद्ध २०६५ सालमा युवा संघ नेपालबाट सुरु भएको हो । त्यतिखेर संघको जिल्ला समिति सदस्य बनिन् । २०७७ सालमा एमालेको जिल्ला समिति सदस्य बनेकी ४५ वर्षीया निर्मलाले महिला अधिकार, दलित समुदायको सशक्तिकरणका लागि आफ्नो उम्मेदवारी दिएको बताइन् ।

– इकान्तिपुरबाट ।

तपाईको प्रतिक्रिया