- दिपा नेपाली
युवा केही गर्न सक्दैनन् । उनीहरूमा राजनीति चेत हुँदैन । भर्खरै राजनीतिमा होमिएका युवायुवती अवसरको लागि आत्तिनु हुँदैन, पालो आउँछ, अवसर पाइन्छ । राजनीतिमा धैर्य हुनुपर्छ रे ? कति पुस्ता धैर्यतामा नै विलय भएर गए कहिले यकिन गरेका छौ ? नयाँ पुस्ता आलोकाँचो हुन सक्छ , तर केही न केही कुरामा अद्यावधिक नभएका हुँदैनन् । कम्तीमा उनीहरुको त्यो क्षमतालाई अगाडी बढ्न दिने सामर्थ्य पनि त राख्न सक्नुपर्यो नि ।
जानेर हो या नजानेर अथवा हल्का फुल्का तरिकाले । पार्टीको अधिवेशन र महाधिवेशनमा मात्र होइन । असामान्य अभिव्यक्ति युवाको नेतृत्व क्षमतामा तगारो बन्दै आएको छ । त्यसै गरी यसपालिको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा युवामाथि मनगणन्त्य विचार पोखिन रोकिएन । युवाप्रति सकारात्मक धारणा भएर हो, या नभएर ।
आसन्न वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि युवालाई टिकट दिने विषयमा कुनै पार्टीले निर्णय गरेको पत्तो पाइएन । बरु युवा निर्वाचनमा होमिने डर र शंका भने सबै पार्टीमा पैदा भएको छ ।
चुनावमा भिड्ने आकांक्षा राख्ने युवालाई कुनै पार्टीले प्राथमिकताका साथ स्वीकारेकाे देखिएन । जसले गर्दा युवामा नैरास्यता उत्पन्न गराएको अड्कल गर्न सकिन्छ । हुन सक्छ, त्यसैको उपजमा, विभिन्न पार्टीमा आबद्ध युवाले पार्टी त्यागेर स्थानीय तहको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरे ।
जहाँ युवामा समाज र नागरिकका लागि सक्षम नेतृत्वको रूपमा स्थापित गर्न खोजिरहेको संकेत देखा परेको छ । विगतदेखि आजसम्मको राजनीतिक अभ्यासलाई केलाउँदा समाज र देश कसरी बनाउने ? विज्ञान र प्रविधिलाई कसरी प्रयोगमा ल्याउने भन्ने भन्दा पनि सत्ता कसरी टिकाउने ? जनतालाई जालझेल गरी कसरी झुक्याउने ?
युवालाई कसरी आफ्नो मातहतमा हिँडाउने भन्ने कथित पार्टीका नेताको चतुर्याई एकछत्र छलाङ मारेको देखिन्छ । तर, त्यो चत्तुर्याई अबका पुस्ताले सहजै स्विकार्न सक्ने अवस्था छैन । भलै नयाँ पुस्ताले राजनीति इतिहास नपढेका, नजानेका, नबुझेका हुन सक्छन् । तर उनीहरू इतिहासको अनभिज्ञतामा चुप लागेर बस्न भने मानेका छैनन्, बस उनीहरू यति मात्र जान्न र बुझ्न चाहेका छन् ।
ताकी आजका दिनसम्म नेपाली समाज कसरी पछि परिरहेको छ । देशमा बेरोजगार, गरिबी, विकृति र विसंगतीको खाडल किन पुरिएन ? नेपाली समाज विश्व व्यापिकरणको चमत्कारमा किन दौडिन सकेन ?नेपाली समाज र जनताको अवस्था, युवाले खाडी मुलुकमा सस्तो मूल्यमा पसिना बगाउनु परेको विवशता, मुक्त कमैया र सुकुम्वासीको दयनीय अवस्था किन फेरिएन ? भन्ने विषयतर्फ युवाको चासो र चिन्ता बढेको पाइन्छ ।
विश्वमा युवाले राष्ट्रको नेतृत्व अंगालेर उदाहरणीय काम गरेर परिचित छन् भने नेपालमा युवाले एउटा वडा, नगरपालिका र गाउँपालिका समाल्नै नसक्ने हन्छ र ? उता विश्वका ठूला मुलुकमा युवा प्रधानमन्त्रीले प्रशंसनीय काम गरेका धेरै उदाहरण छन् । जसमध्ये ३७ वर्षको उमेरमा न्यूजिल्यान्डकी प्रधानमन्त्री बनेकी जसिन्डा आर्डर्नले आफू प्रधानमन्त्री बनिसके भनेपछि हामी एक हौ, उनीहरू हामी मध्येकै हुन् भन्ने छोटो भनाइमार्फत सिङ्गो न्यूजिल्यान्डलाई एकजुट पारिन र विश्वलाई एउटा स्पष्ट सन्देश दिन सफल भईन ।
एक स्वघोषित श्वेत सर्वोच्चतावादीले क्राइस्टचर्चस्थित दुई वटा मस्जिदमा ५० जनाको ज्यान जाने गरी गरेको आक्रमणपछि उत्पन्न राष्ट्रिय संकट खेप्दा उनले देखाएको सुझबुझलाई लिएर विश्वभर जसिन्डाको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा भयो । उनले राष्ट्रको आवश्यकता बुझिन्छ र साँच्चिकै उदाहरणीय रूपमा कदम चालिन् । यसरी विश्वका विकसित राष्ट्रमा सत्ता समाल्ने र चलाउने कुरामा धेरै वर्ष पहिले युवालाई स्थान दिइएको उदाहरण छन् । विडम्बना नेपालमा भने सत्ता चलाउने कुरा परको हो ।
राजनीतिको नेतृत्व समाल्न सक्ने सक्षम युवालाई उमेरको ट्याग लगाएर पाखा लगाउने प्रचलन एकाधिकार रूपले अघि बढेको छ । युवाको क्षमता र योग्यता भन्दा पनि उनीहरूको उमेर, जात र लिङ्गलाई औल्याएर बोलिने परिपाटीको छ । यस्तो राजनीतिक प्रवृत्तिले युवाको क्षमतालाई आगामी दिनमा प्रयोगमा ल्याउन सक्छ कि सक्दैन ? यो अन्यौलको विषय बनेको छ । यद्यपि नेपालमा कुनै युवा नेतृत्व तहमा नपुगेको पनि होइन । तर पनि पछिल्लो समयमा युवा जमात नेतृत्व तहमा किन पुग्न सकेन भन्ने विषय नै चासोको विषय हो ।
समाजवादको लक्ष्य लिएर हिँडेका २२औँ प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ४४ वर्षको उमेरमा जनमतसंग्रहबाट निर्वाचित पहिलो प्रधानमन्त्रीको रूपमा स्थापित भए । उनलाई नेपाली राजनीतिका शिखर पुरुषको रूपमा चिनिन्छन् । उनले प्रधानमन्त्रीकालमा बिर्ता उन्मुलन गरी जग्गा जोत्नेको हुनुपर्छ भन्ने भूमिसुधार लागु गराएका थिए ।
पाँच प्रतिशत व्यक्तिका हातमा देशको अधिकांश जमिन हुन तथा ९५ प्रतिशत व्यक्ति भूमिहीन रहनुलाई उनी अन्यायपूर्ण ठान्थे । जहाँ भूमिसुधार र जमिनको न्यायोचित पुनर्वितरण बिपीको प्राथमिक आर्थिक एजेण्डा थियो ।
उनले गरेका थुप्रै उदाहरणकी काम मध्ये यो एउटा जनताको हितमा गरेको कामको उदाहरण मात्र हो । त्यति मात्र होइन, नेपालको राणा विरोधी आन्दोलनमा उनको अग्रणी भूमिका सर्वविदितै छ । आज उनले देखेको समाजवादको सपना अझै पुरा हुन सकिरहेको छैन । यति मात्र होइन, जनतालाई निरंकुश शासनबाट उन्मुक्ति गर्न नेपाली युवाको ऐतिहासिक योगदान छ ।
नेपालका प्रत्येक राजनीतिक आन्दोलनमा युवाको बलिदानीपुर्ण संघर्ष छ । लामो समयदेखि जरो गाडेर रहेको राणा शासनको अन्त्य गर्न युवाको गर्विलो इतिहास छ । जसलाई कसैले नकार्न मिल्दैन । जसमा विसं १९९६ सालमा गंगालाल श्रेष्ठले राणा शासन विरुद्धमा गरेको संघर्षले जनताको आधिकारलाई निरंकुश शासनले पर्दा बाहिर निकाल्ने जमर्को गर्यो । त्यतिखेर उनी वर्षले २० को सेरोफेरोमा थिए ।
उनले गरेको आज पनि रापिलो छ । जसको बाटो पछ्याउँदै क्रमशः आन्दोलन हुँदै गए । प्रजातन्त्र प्राप्तिको निम्ति विसं २००६ मा भएको क्रान्ति, वि स २०३६, सालमा नेपालमा बहुदल वा पञ्चायती व्यवस्था मान्ने कि नमान्ने भन्ने विषयमा भएको जनमत संग्रह, २०४६ मा भएको पञ्चायती व्यवस्थाविरुद्ध को जनआन्दोलन, विसं. २०५२ को सशस्त्र जनयुद्ध लगायत यी सबै आन्दोलनहरूमा हजारौँ युवाहरूले उत्पीडित समुदाय र उत्पीडित वर्गको निम्ति गरेको संघर्ष र बलिदान ताजै छ ।
जहाँ बन्दुक उठाएर जहानियाँ राणा शासनको अन्त्य गर्न अग्रपंत्तीमा लड्ने आट गर्ने तीनै युवा थिए । जसले राणा र तानशाही शासनलाई एक किनारा लगाएर छोडे । जनता र देशको लागि बिना स्वार्थ रगत बगाए । देशको व्यवस्था फेर्न ज्यानको आहुती दिए । त्यसैगरि २०६२/६३ मा उठेको जनआन्दोलन निरंकुश राजतन्त्रविरुद्ध १९ दिने जनआन्दोलनमा पनि युवाको अग्रतामा आन्दोलन भएको थियो ।
जुन आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनुपर्यो । यसरी विभिन्न कालखण्डलाई पार गर्दै देशलाई यो अवस्थासम्म ल्याई पुर्याउने युवा आज आएर समाजको विकराल अवस्थालाई टुलुटुलु हेरेर बस्नपर्छ भन्ने अभिव्यक्ति नै सरासर गलत हो भन्न सकिन्छ ।
लामो समयको संघर्षपछि आएको गणतन्त्रमा एकात्मक जातिवादले रजाई गरिरहेको बेला युवा अन्यायमा परेका छन् । अझै भन्ने हो भने, रगत बगाएर स्थापना गरेको लोकतन्त्र, गणतन्त्र र संविधानमाथि अवसरवादी र पुँजीवादीको वर्चस्व बढिरहेको छ । संविधानले दिएको अधिकारलाई वर्जित गर्ने ठुलो षडयन्त्र हुदैछ भन्नलाई सकस छैन ।
जब अवसरको कुरा हुन्छ, त्यतिखेर युवाको योगदानलाई कदर गर्ने संस्कार नेपाली राजनीतिमा पाइँदैन । नेतृत्व तहमा परिवारवाद, जातवाद र आफन्तवाद बाहेक अरू देखिँदैन । अवसर दिने कुरामा आफ्ना आफन्त नातेदार र घर परिवारलाई नेतृत्व दिने प्रवृत्तिको विकास हुँदै आएको पाइन्छ । नेतृत्व दिने कुरामा युवालाई पत्याइँदैन । बरु पिठ्युँमा धाम हानेर थम थमाउन बानी परिसकेका छन् ।
नेपाली राजनीतिमा पुस्ता हस्तान्तरलाई अस्वीकार गरिन्छ । जहाँ लामो समयदेखि राजनीतिको बागडोर समाल्दै आएका अग्रज नेतामा निकै अटेरीपन देखिन्छ । जसले युवाप्रति फराकिलो धारणा विकास गर्न सकस मान्छन् । युवाको हातमा नेतृत्व गएपछि के पो हुन्छ भन्ने मनस्थितिबाट आकलन गर्ने गरेको पाइन्छ ।
नेपाली राजनीतिमा नेतृत्व गर्न अलि उमेर कटेकै हुनुपर्छ भन्ने मान्यता र प्रचलनले स्थान पाउँदै आएको छ । यस्तो नेपाली राजनीतिक अवस्थालाई हेर्दा नेपाली समाज बनाउन, राष्ट्रलाई विज्ञान र प्रविधिसँग जोड्न अब युवाले समाजलाई निकास दिन आफूलाई नेतृत्व तहमा उभ्याउन खोज्नु न्यायोचित नै ठान्नुपर्छ । यो समयमा समाज र राष्टलाई विश्व परिवेशमा दौडाउन युवा तातिनुपर्छ । नेतृत्व समाल्न सक्ने युवा अब पर्खिनु हुँदैन ।
शिक्षामा, स्वास्थ्य, रोजगार र विकासमा अत्याधुनिकरणको प्रयोगमा समाजलाई उभ्याउन र पुँजीवाद, दलाल र घुसखोरी दबदबा अन्त्य गर्न आजका युवाले सोच्नुपर्ने अवस्था आइलागेको छ । समाजमा एउटै समस्या मात्र छैन । पछिल्लो राजनीतिक संस्कार पूर्णरुपले पुँजीवादको अभ्यासमा छ । त्यसले जनताको कल्याण गर्नुको साटो उत्पीडनमा पार्ने अवस्था सिर्जना गरिरहेको अनुमान गर्न सकिन्छ । न जनताको अवस्था परिवर्तनको संघारमा छ, न राजनीति प्रवृत्ति प्रगतिशील हुन सकिरहेको छ ।
हुन पनि हो । समाजमा जताततै व्याप्त समस्याका खाडल छन् । दैनिक चर्को आर्थिक अभाव छ । उसो त यस्ता समाजको समस्या देखेर अहिलेका पुस्ता हडबडाएर किन नआत्तिनु ? युवासँग धेरै राजनीति ज्ञान नभए पनि आफू बसेको समाज र विश्व परिवेशलाई राम्ररी बुझेर छन् । जसले गर्दा विश्वमा आफूलाई पछि परेको महसुस गरेका छन् । त्यसैले देशलाई निकास दिन र समाजलाई विकास गर्न समाजको नेतृत्वदायी भूमिकामा आउने आँट गरेका छन् । फलस्वरूप पछिल्लो पुस्ता नेतृत्वमा आउन आत्तिएका मात्र छैनन् ।
समाजलाई निकास दिने विचारले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अब कसरी भन्न सकिन्छ जायज होइन भनेर ? युवाहरू आत्तिनु हुँदैन भनेर ? जब कि समाजको बेथिति, राजनीतिक अन्यौलता, जनताको अवस्था र युवाको व्यथा राम्ररी बुझेका युवा आज नेतृत्व समालेर समाधानको उपाय खोज्न आतुर छन् ।
उसरी नेपालको राजनीतिक परिवेशले जनता र युवाको अवस्थामाथि चीरहरण गरिसकेका छन् । त्यसैको विकल्पमा युवा जाग्न बाध्य छन् । नेपाली समाजलाई गतिशील नेतृत्वको खाँचो नभएको को पनि होइन । युवा नेतृत्व समाजले पाउनु समयको माग पनि हो ।
(नेपाली नेपाल ल क्याम्पस प्रदर्शनी मार्ग, काठ्माण्डौंमा अध्ययनरत छिन् ।)