काठमाडौं । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा एक सय ७० वडामा दलित महिला सदस्यका लागि उम्मेदवारी नै नपरेपछि अबकाे पाँच वर्ष ति वडा दलित महिला सदस्य विहिन भएका छन् ।

मुलुकभरका सात सय ५३ स्थानीय तहका ६ हजार सात सय ४३ वडामा एक–एक जना दलित महिला सदस्य अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था भए पनि उम्मेदवारी नै नपरेका कारण यस पटक पनि एक सय ७० वटा वडा दलित महिला सदस्य विहिन भएका हुन् ।

निर्वाचन आयोगका अनुसार २०७४ सालको निर्वाचनमा पनि एक सय ७६ दलित महिला वडा सदस्यमा उम्मेदवारी नपरेका कारण ति वडामा दलित महिला सदस्यको पद रिक्त रहेको थियो । यस पटक भने पहिलेको भन्दा ६ वटा कम वडामा दलित महिला सदस्यको उम्मेदवारी नपरेको निर्वाचन आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सूर्यप्रसाद अर्यालले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

निर्वाचन आयोगका अनुसार कतिपय वडामा भने दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । ति वडामा एक जना मात्रै दलित महिला सदस्यको उम्मेदवारी परेका कारण उनीहरु निर्वाचित भएका आयोगले जनाएको हो । दलित महिला सदस्य लगायत अन्य पदमा गरेर अहिलेसम्म तीन सय ५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया