काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका महिलाले सबैका लागि सुरक्षित काठमाडौं बनाउने प्रतिवद्धता जनाएका छन् । शान्ती, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र महिला गैरासरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित समारोहमा सहभागि महिला उम्मेदवारले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले आफूले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएर सबैको लागि सुरक्षित काठमाडौं बनाउने बताईन । वर्षौंसम्म सक्रिय राजनीति गरे पनि कहिले पदको अपेक्षा नगरेको उनको भनाइ थियो ।

त्यस्तै महानगरको हकमा युवालाई खेलकुदमा प्रोत्साहन गर्ने, पर्यटकीय, व्यापारिक केन्द्र बनाउने, स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशीक रोजगारमा जाने क्रमलाई न्युनीकरण गर्ने लगायतका कामहरु प्राथमिकतामा राखेर काम गर्ने कांग्रेस नेतृ सिंहको भनाई छ ।

विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाकी प्रमुखको उम्मेदवार समिक्षा बाँस्कोटाले २५ वर्षमा महानगरले ठुला पार्टीका नेताबाट कुनै परिवर्तन नपाएको गुनासो गर्दै सार्वजनिक यातायातमा हुने हिंसाको न्युनीकरण, ढलको समस्या समाधान, सार्वजनिक शौचालय, ढुङ्गेधारा र सम्पदाको संरक्षण गर्नु आफ्नो पार्टीको उद्देश्य रहेको बताइन ।

नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उप्रमुखकी उम्मेदवार सुनिता डंगोलले अग्रजको आर्शीवाद लिएर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताईन । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखकै उम्मेदवार विनिता मगैयाँले समानताको लागि महिलाले राजनीतिमा धेरै भन्दा धेरै सहभागिता जनाउनु आवश्यक रहेको बताईन ।

त्यस्तै कार्यक्रममा विवेकशील साझा पार्टीकै तर्फबाट काठमाडौं महानगरपालिकाकै उपप्रमुखकी उम्मेदवार कृति तुलाधार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको उपप्रमुखको उम्मेदवार स्वर्णिमा शाक्य लगायतले पनि आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट काठमाडौंकै टोखा नगरपालिकामा प्रमुखकी उम्मेदवार रजनी थापाले महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तानेर माथि उठाउनुपर्ने बताईन । कार्यक्रममा थापाले भनिन, ‘महिलाको बाधक महिला नै हुन्छन् भनेर हामीमाथि आरोप छ । सासू, बुहारी, नन्द, अमाजु एकले अर्कोलाई साथ दिएर हिँड्ने हो भने हामीलाई कसैले रोक्न सक्दैन । यो अभ्यास घरबाटै सुरु गर्नुपर्छ ।’ महिला भएकै कारणले मत दिने नभइ भिजन र एजेण्डा हेरेर मत दिन उनले आग्रह गरिन् । आफूले जित हाँशिल गरे महिला शशक्तिकरण र हिंसा विरुद्ध लड्ने योजना बनाउने उनको भनाई थियो ।

संकल्पकी बरिष्ठ उपाध्यक्ष शोभा बस्नेतले सहजीकरण गरेको कार्यक्रममा महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष डा शशी अधिकारीले महिला उमेदवारलाई जिताएर महिला जनप्रतिनिधीको संख्यामा उल्लेख्य वृद्धि गर्ने उद्देश्यले संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराएकी थिईन ।

तपाईको प्रतिक्रिया