काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार २७ दशमलव २८ प्रतिशत परीक्षार्थी पहिलो (सामान्य) चरणमा उर्तिण भएका छन् ।

आयोगको विवरण अनुसार परीक्षामा सहभागि भएका ७६ हजार ९ सय ६ परीक्षार्थी मध्येबाट २० हजार ९ सय ८२ जना परीक्षार्थि उत्तीर्ण भएका हुन् । सात वटै प्रदेशमध्येबाट सबैभन्दा धेरै बागमती प्रदेशमा जम्मा परीक्षामा सहभागि मध्येबाट ३१ प्रतिशत परीक्षार्थी उर्तिण भएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा १७ दशमलव २७ प्रतिशत मात्र उर्तिण भएका छन् ।

आयोगको विवरण अनुसार प्रदेश नम्बर एकमा मा १९ हजार २० परीक्षार्थी सहभागी मध्येबाट २७ दशमलव २७ प्रतिशत अर्थात पाँच हजार एक सय ८२ जना, मधेश प्रदेशमा पाँच हजार आठ सय ५३ मध्येबाट १७ दशमलव २७ प्रतिशत अर्थात एक हजार ११ जना उर्तिण भएका छन् ।

यस्तै बागमती प्रदेशमा ११ हजार पाँच सय २६ सहभागी मध्येबाट ३१ प्रतिशत अर्थात तीन हजार पाँच सय ७७ जना उत्तीर्ण भएका छन् भने गण्डकी प्रदेशमा १४ हजार दुई सय ६ जना मध्येबाट ३० दशमलव ५५ प्रतिशत अर्थात चार हजार तीन सय ४१ जना उर्तिण भएका छन् ।

लुम्बिनी प्रदेशमा ११ हजार आठ सय ४४ सहभागि मध्येबाट २८ दशमलव ३७ प्रतिशत अर्थात तीन हजार तीन सय ६१ जना, कर्णाली प्रदेशमा चार हजार ७ सय ८८ सहभागि मध्येबाट २२ दशमलव ३२ प्रतिशत अर्थात एक हजार ६९ जना र सुदुरपश्चिम प्रदेशमा नौ हजार ६ सय ६९ सहभागि मध्येबाट २५ दशमलव २८ प्रतिशत अर्थात दुई हजार चार सय ४१ जना उत्तीर्ण भएका छन् । आयोगले गत चैत १७ गते निमावी तहमा दुई हजार पाँच सय ९८ रिक्त पदका लागि सामान्य तर्फको परीक्षा सञ्चालन गरेको थियो ।

नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने

शिक्षक सेवा आयोगले नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारका लागि जेठ तीन गतेसम्म कार्यलय समयभित्र आयोगले तोकेको कागजातसहित निवेदन दिन सकिने व्यवस्था पनि गरेको जनाएको छ ।

विषयगत परीक्षा असार ११ गते

आयोगले सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएकाका परीक्षार्थीका लागि असार ११ गते विषयगत परीक्षा सञ्चालन गर्ने भएको छ । आयोगले प्रदेशगत रुपमा परीक्षा केन्द्र रहने जिल्लासमेत तोकेको छ । प्रदेश एकका लागि मोरङ, मधेश प्रदेशका लागि धनुषा, बागमती प्रदेशका लागि मकवानपुर, गण्डकी प्रदेशका लागि कास्की, लुम्बिनी प्रदेशका लागि रुपन्देही, कर्णाली प्रदेशका लागि सुर्खेत र सुदूरपश्चिमका लागि कैलालीमा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया