काठमाडौं । बैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको मतदानअघि नै एक सय ६२ जना दलिज महिला सदस्य विभिन्न स्थानीय तहमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावलीमध्ये एक सय ६२ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।

गएको वैशाख ११ र १२ गते दुई दिन सात सय ५३ वटा स्थानीय तह र त्यसका ६ हजार सात सय ४३ वडामा परेको उम्मेदवारीमध्येबाट उनीहरु निर्विरोध निर्वाचित भएका आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सुर्यप्रसाद अर्याले समता प्रेसलाई जानकार िदिए । उनका अनुसार सबैभन्दा धेरै १६४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । दोस्रोमा खुला वडा सदस्यतर्फ एक सय जना निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै ७१ जना महिला सदस्य र ४८ जना वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा ३–३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

सबैभन्दा बढी एमालेबाट ६० र सबैभन्दा कम नेकपा एसबाट ६ जना निर्विरोध
निर्विरोध निर्वाचित हुने सबैभन्दा धेरै नेकपा (एमाले) बाट उम्मेदवारी दिएका जनप्रतिनिधि रहेका छन् । एमालेबाट ६० दलित महिला सदस्य, दोस्रोमा नेपाली कांग्रेसबाट ४५ जना दलित महिला सदस्य, तेस्रोमा नेकपा (माओवादी केन्द्र) बाट ४४ जना रहेका छन् । दलबाट निर्विरोध हुनेमा पछाडि रहेको नेकपा (एकीकृत समाजवादी) बाट ६ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् । जसमा दलित महिला सदस्यमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । यस्तै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट एक–एक जना दलित महिला सदस्य निर्विरोध भएका छन् ।

 

तपाईको प्रतिक्रिया