बुटवल, जेठ ११ । लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले महिला र सिमान्तकृत समुदायको लागि छुटाइएको बजेट कार्यान्वयनमा समस्या देखिएको  बताउनुभयो ।  उहाँले पूर्वाधार विकाससँगै महिला तथा सिमान्कृत समुदायको उत्थानका लागि समेत बजेट छुट्याउन आवश्यक रहेको बताउनुभयो ।

जागरण मिडिया सेन्टरले बुधबार बुटवलमा आयोजना गरेको बजेट निर्माण प्रक्रियामा सांसदहरुको भूमिका बिषयक छलफल कार्यक्रममा बोल्दै उपभामुख थारुले अब महिला तथा दलित र सिमान्कृत समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरुले बिशेष चासो राख्ने बेला आएको बताउनुभयो ।

उहाँले बजेट छुटाइएपनि त्यसको कार्यान्वयनको पाटोमा पनि सांसदहरुले ध्यान दिनुपर्ने बताउनुभयो । छलफल कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभाका सचेतक निर्मला क्षेत्रीले प्रदेश सरकारले ल्याउने आगामि आर्थिक बर्षको बजेट कार्यकालको अन्तिम बजेट भएको भन्दै यसलाई लैंगिक र सिमान्तकृत समुदायको पक्षमा निर्माण गर्न सक्दो भूमिका निर्वाह गर्ने बताउनुभयो।

बजेटमा राजनीतिक घटनाक्रमले योजनाहरु प्रभावित भएको छ । जुन शिर्षकमा बजेट छुटाइएको छ त्यो शिर्षकमा बजेट पनि कार्यान्वयन नभएको देखिएको छ । महिला सांसदहरु पार्टीभन्दा माथी उठ्न सकेको छैन ।

संविधानसभा सदस्य विनोद पहाडीले सिमान्तकृत समुदायको सवालमा कस्तो बजेट ल्याउने भन्नेबारेमा संवेदनशिल हुन आग्रह गर्नुभयो। उनले विगतमा छुटाइएको बजेट समेत कार्यान्वयन नभएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सांसदहरु कमलादेवी विश्वकर्मा, दीपा विश्वकर्मा, पुष्पा थरुनी, माला गोतामे, जाल्पा भुसाल, धनकली चौधरी लगायतले बोल्दै बजेट निर्माणमा महिला, दलित तथा सिमान्तकृतको पक्षमा पर्याप्त बजेट आउन नसकेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका बरिष्ठ अधिकृत शैलैन्द्र कुमार पाण्डेले बजेटका सन्दर्भमा प्रस्तुती राख्नुभएको थियो । कार्यक्रम जागरण मिडियाका विनोद परियारको अध्यक्षता तथा अम्बिका परियारको सञ्चालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया