काठमाडौं, जेठ १२ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता लिन नागरिक समाजले एक अपिल जारी गरेको छ । सरकारको पटक पटकको मुल्य वृद्धिले विपन्न तथा निम्न वर्गका उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै गएको भन्दै नागरिक समाजले मुल्य वृद्धि फिर्ता लिन आग्रह गरेको हो ।

नेपाल आयल निगमले २०७८/०६/२४ देखि २०७९/०२/०८ सम्म (करिव ८ महिनाको अवधिमा) नौ पटकसम्म मूल्य वृद्धि गरेको छ । निगमले पछिल्लोपटक पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैया र एल.पी. ग्याँसमा प्रति सिलिण्डरमा २०० रुपैंयाका दरले मूल्य बृद्धि गरेको छ । पेट्रोल प्रतिलिटर १८० रुपैया, डिजेल र मट्टितेल प्रतिलिटर १६३ रुपैया र एल.पी. ग्याँस प्रति सिलिण्डर १,८०० रुपैंया कायम गरिएको छ ।

नागरिक समाजको अपिलमा भनिएको छ, “आयल निगमको मूल्य समायोजनले उपभोक्ताले प्रयोग गर्ने एल.पी.ग्यासको मूल्य र उद्योगमा खपत गर्ने मूल्यको दररेट एउटै भएको देखिन्छ । यसले आमउपभोक्ता महंगीको मारमा परेका छन्” ।

सरकारले अन्र्तराष्ट्रिय बजारमा मूल्य बृद्धि हुनेवित्तिकै मुल्यको न्यायिक आधारहरुको पूर्नसमीक्षा र समायोजन समिक्षा नगरी उपभोत्ताबाट कर असुल्ने गरी गरिएको मुल्य वृद्धिले उपभोत्तालाई थप मारमा परेको नागरिक समाजको विष्लेषण रहेको छ ।

नेपाल आयल निगमभित्रको आन्तरिक व्यवस्थापन चुस्त गर्न, नेपाल सरकारलाई दिँदै आएको करको दर घटाउन, निगमभित्र कर्मचारी तथा पदाधिकारीहरुलाई उपलव्ध गराइएको अतिरिक्त सेवा सुविधाको पुनः समीक्षा गर्न, डिलर र ढुवानीकर्ताको नाफा वा कमिसन कम गर्न र उपयुक्त विकल्पको खोजि गरी चर्कोरुपमा गरिएको मूल्य बृद्धि तत्काल फिर्ता लिई न्यायोचित तथा सहुलियत दरमा पेट्रोलियम पदार्थको सहज उपलव्धताको व्यवस्था गरी उपभोक्तालाई राहत दिने व्यवस्था मिलाउन नागरिक समाजले अपिल गरेका छन् ।

साथै नागरिक समाजले बढ्दो महंगीको मारबाट प्रत्यक्ष असर पर्ने विपन्न वर्ग लक्षित विशेष सहुलियत तथा राहतका कार्यक्रमहरु तत्काल लागूू गर्न र यसको दीर्घकालिन समाधानको लागि बैकल्पिक तथा नविकरणीय उर्जालाई प्रवद्र्धन गर्नेतर्फ विशेष योजना ल्याउन समेत सरकारसँग जोडदार माग गरेको छ ।

तपाईको प्रतिक्रिया