काठमाडौं । शान्तिका लागि साझा अभियान (कोक्याप) ले मधेश प्रदेशका महिला मानव अधिकार रक्षकहरुलाई आयोजना गरेको २ दिने आवासीय डिजिटल सुरक्षा तालिम सम्पन्न भएको छ । महिला अधिकार दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित उत्त तालिम कार्यक्रम मधेश प्रदेशका आठवटै जिल्लाहरुका क्रियाशील महिला मानव अधिकार रक्षकहरुलाई लक्षित गरिएको हो ।
तालिम कार्यक्रमको समापन गर्दै कोक्यापका अध्यक्ष्य रोशना खड्काले नेपालमा सूचना प्रविधीको पहुँच र विस्तारमा डिजिटल माध्यमहरुको प्रयोग बढ्दै गएको तर आम सर्वसाधारणहरु यसको जोखिममा परेको बताइन् । उनले डिजिटल प्रविधीको पहुँचको दुरुपयोग गर्दै आम नागरिकहरुलाई ठग्ने, अपराधिक क्रियाकलाप गर्ने र धम्की दिने प्रवृति पनि बढ्दै गएको बताइन् ।
महिला मानव अधिकार रक्षकहरु डिजिटल मध्यमहरुको जोखिम र निशानामा पर्ने गरेका छन्, उनले भनिन्, “कोक्यापले महिला मानव अधिकार रक्षकहरु सँग निरन्तर संवाद, र क्षमता अभिबृद्धि तथा सुरक्षाका काममा सहयोग गर्ने छ ।”
तालिम समापन कार्यक्रममा कोक्यापका महासचिव तथा वरिष्ठ अधिवक्ता पुष्पराज पौडेलले मधेस प्रदेशमा महिला मानव अधिकार रक्षकहरुलाई बढी जोखिम रहेको उल्लेख गरे । उनले यस प्रकारको जोखिमको सामना गर्न नागरिक अधिकार, मानव अधिकार नेपालमा विधुतिय कारोवार सम्वन्धि कानूनी व्यवस्थाको बारेमा जानकार हुनुपर्ने बताए।
दुई दिनसम्म सञ्चालित तालिममा स्रोत व्यक्ति कोक्यापका डिजिटल सरक्षा स्रोत व्यत्ति राजकुमार बुढाले डिजिटल सुरक्षा, इन्टरनेटको सुरक्षित प्रयोग, सुरक्षा उपायहरूका बारेमा सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी मालवेयर र फिसिङ, पासवगार्ड र पासवड व्यवस्थापन, गुगल तथा सामाजिक संजालको सुरक्षित प्रयोग, ल्यापटप र पेन ड्राइभमा कागजात र फाइलहरू सुरक्षित राख्ने र सुरक्षित डिजिटल संचारका बारेमा पनि उनले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा परियोजना संयोजक अन्जु कडेलले महिला मानव अधिकार रक्षकहरुको मधेश प्रदेशका आठवटै जिल्लाहरुमा सिकाई संजाल स्थापना गरिएको बताए ।
उनले उक्त संजालमार्फत महिला माथि हुने हिंसा, सेवा सुबिधामा सीमान्तकृत समुदायको पहुँच, नागरिकता, यौन दुर्व्यवहार, वालविबाह, सीमान्तकृत समुदायसम्बन्धि नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन जस्ता विषयहरुको पैरवी गरिएको पनि उल्लेख गरे ।
कार्यक्रम अधिकृत अम्बिका पौडेलले फेसबुकबाट कसरी सुरक्षित रहने भन्ने विषयमा प्रस्तुती दिएका थिए । कार्यक्रममा सहभागीले डिजिटल मध्यमहरुको प्रयोग आफूले गरिरहेको तर यसको जोखिमबारे आफु अनविज्ञ रहेको बताउनुभयो । तालिमका सिकाईहरुले आफुलाई सचेत बनाएको र अरुलाई पनि सिकाउने प्रतिवद्धता जनाए ।