काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७८ श्री विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
संविधानसभा सदस्य (२०६४–६९) समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी श्री विनोद पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो ।
२०७९ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार पुरस्कारको राशी र सम्मानपत्रसहित पहाडीलाई पुरस्कृत गरिने छ ।
तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ पर्नुभएका श्री विनोद पहाडी डा. भिमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भईसक्नुभएको छ ।
पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका सुपुत्र विनोद पहाडीको जन्म २०२८ साल वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ ।
विभिन्न सञ्चारमाध्यममा आवद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष (२०६१), नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य (२०५६) एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल ( २०५३–५८) सभापति रहिसक्नुभएको छ ।
दलित समुदायको अधिकार र उत्थानका लागि विभिन्न संघसंस्थाहरुमा क्रियाशील पहाडीले सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान /अध्ययन कार्यमा समेत योगदान गर्नुभएको छ ।
उहाँ लेखक तथा विश्लेषक हुनुका साथै विभिन्न मानव अधिकार संस्थाहरुमा पनि क्रियाशील हुनुहुन्छ ।
अभियानकै क्रममा पहाडीले ब्रिटेन, फ्रान्स, जापान, स्विजरल्याण्ड, साउथ अफ्रिका, मेक्सिको, बेल्जियम, रुवाण्डा, बुरुण्डी, युगाण्डा, केन्यासहित १९ देशको भ्रमण गर्नुभएको छ ।