अजात काधिरा,
सानो छँदा आमाले मलाई घर बाहिर साथीसँग खेल्न जाने कुरामा रोक्नुहुन्थ्यो । साथीको घर जान, मन्दिरभित्र जान त झन् कहिल्यै दिनुभएनँ । कहिलेकाँही आमालाई छलेर मन्दिर पस्न खोज्दा कोही न कोहीले रोकिदिन्थे ।
मैले बुझ्ने भएपछि सोधेकी थिएँ, कि किन मलाई सधैँ रोक्नुहुन्छ भनेर ? त्यसको कारण जातको विभाजन रहेछ । सानो जाति र ठूलो जातिको विभाजनले आफ्नै साथीसँग खेल्न नहुने, उसको घरमा जान नहुने, मन्दिर जान नहुने, यस्ता बन्देजहरुले मनमा खिन्नता आउँथ्यो ।
जब यी कुराहरु थप बुझ्दै गएँ, म घरबाट निस्कनै छाडेँ । साथीको संख्या घट्यो । आफ्नो स्वतन्त्रता कसैले हडपेर राखेको महसुस हुन्थ्यो । स्वतन्त्र भएर समाजमा पौडिन खोजेँ, तर जाने कहाँ ? जहाँ जान्छु, त्यही विभेद भोग्नुपथ्र्यो ।
मैले साथीको घरमा पिँढीमा बसेर खाएको अनुभव पनि बटुलेँ । मन्दिर बाहिरैबाट दर्शन गरेँ । मेरो घरमा फुलेको फुल अरुले भागवानलाई चढाउँदा पवित्र हुने, तर त्यही फुल मैले टिपेर चढाए त्यो फुल पनि अपवित्र हुने ? कस्तो व्यवस्था होला ? मनमा यस्तै कुरा खेल्थे ।
गाउँमा छोइछिटोको अवस्था यस्तो थियो कि कसैलाई छोयो भने सुनपानीले चोखिन्थे । उमेर बढ्दै गयो, कुराहरु बुझ्ने तरिका बदलियो । तर, समाजको सोच उही थियो । कथित सानो र ठूलो जात भनेर ठूलाहरुले साना जातका मानिसहरूमाथि गर्ने अन्यायलाई जब देख्न र बुझ्न थालेँ, म त्रसित हुन थालेँ । मन आतंकित हुन थाल्यो ।
दलित भएकै कारण बलात्कृत हुनुपर्ने, ज्यान गुमाउनुपर्ने, तिरस्कार र अपमान सहनुपर्ने । यी र यस्ता घटना आफैँले नजिकबाट देख्न थालेँ । म यस्तो समाजमा छु, जहाँ मैले मेरो जातको कारणले विभेद नभोगेको ठाउ नै छैन । नयाँ साथीहरु भेट्दै जाने क्रममा आफ्नो थरभन्दा आफुलाई हिनता बोध हुन्थ्यो ।
मैले बुझ्ने भएर आफुजस्तै उम्मेरका साथीहरुबाट पनि विभेद खेपेकी छु । नजिककै साथीहरुले पनि मलाई तिम्रो जात ढाँट है भनेर सुझाउनुभएको छ, कुनैवेला । विभेदका यति रुप छन् कि म अहिले पनि पल पल त्रसित भएर हिडिरहेकी हुन्छु । साँचो बोल्दा आफैँमाथि विभेद हुने भयले कतिपय बेला झुट पनि बोल्नुपर्ने रहेछ ।
चिया पिउने ठाउँदेखि डेरासम्म, विद्यालयदेखि रोजगारी गर्ने कम्पनीसम्म विभेदकारी सोच हाबी छ । अहिले त संविधान र कानुनले जातीय भेदभाव र छुवाछुतलाई निषेध गरेको छ । तर, व्यवहारमा यस्तो अवस्था छ कि कसरी कुन अवस्थाबारे बताऔँ भन्ने अवस्था छ ।
अहिले विभेदका तरिकाहरू फेरिएका छन् । जमाना सोसल मिडियाको छ नयाँ साथी बन्न खासै गाह्रो छैन । फेसबुकमा जोडिनु भएको नयाँ साथीहरुसँग संवाद गर्दै जाँदा पहिला प्रश्न हुन्छ के थर हो तपाइको ? मैले आफ्नो थर बताइरहँदा धेरै जनाको प्रतिक्रिया प्राप्त गरेको छु, कि तपाई त दलित जस्तो देखिनु हुन्न नी ? तपाई साँच्चै परियार हो र ? यही कुरा अचम्म छ ।
आधुनिक समाजमा रहेर पनि मान्छेलाई बाहिरी स्वरुपको आधारमा मुल्यांकन गरिन्छ ? के दलितहरूलाई राम्रो हुने छुट छैन ?
अचेल म यी कुराहरुलाई बेवास्ता गर्ने भएकी छु । म यो मान्छेले मान्छेलाई नमान्ने व्यवस्थाको विरोधमा छु । देखिने नाम फेरिदिएकी छु सामाजिक सञ्जालमा । एउटी महिला र दलित भएकै कारण मैले भोगेका विभेदका श्रृंखलाहरुको उचाई नाप्ने हो भने लगभग सगरमाथाको उचाई छुने बेला भइसक्यो ।
समुदायमा हुने कुनै पनि सामाजिक कार्यहरुमा गरिने निर्णयहरुबारे एउटा महिला र दलित भएकै कारण आवाजको सुनुवाई नगरिनु विशेष सुचनाको पहुँचबाट पछाडि पारिनु । म मा भएको ज्ञान र सीपको उचित मुल्याङकन गर्नुभन्दा बरु मलाई हरेक अवसर बाट पछाडि पारिनु म दलित हुनुको कारण नै हो ।
समाजले दलितमाथि गरिने बर्गीय विभेद, सामाजिक बिभेद, क्षेत्रीय बिभेद, सांस्कृतिक बिभेद, तहगत बिभेद, शैक्षिक बिभेद जस्ता कारणले धेरै दलितहरु आफुमाथि भएको विभेद विरुद्धको आवाजबारे बोल्न नसकिरहेको अवस्था छ । समाजलाई मेरो सीप चल्छ, श्रम चल्छ तर, जात चल्दैन ।
सरकारले २०६३ साल जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र भनेर घोषणा गरको थियो । तर, जति पनि नियम कानुनहरु लेखियो, त्यो कागजमा मात्र सिमित भयो ।
फरक चाहि यो भयो कि हिजो बोलीले नै तँ सानो जात हो भनेर हेपेर विभेद गर्नेहरु आज नबोली व्यवहारले बिभेद गर्दछन् ।
अहिले समाज परिवर्तनतर्फ अगाडि बढ्दैछ, यहि समाजमा जन्मिएको म, हुर्किएको म, समाजको लागि केही गर्ने लक्ष्य राखेर हिँडेको मलाई आफ्नो स्वतन्त्र विचार राख्न मन छ, अरु जस्तै समान हो भनेर हिड्न मन छ, हिनताबोधको सोच हटाउन मन छ ।
त्यसैले कुनै पनि विभेद, छुवाछुत अन्त्य गर्नको लागि पहिलो पाइला चाल्ने काम म अनि तपाईहरुबाट नै सुरुवात गर्नुपर्छ । त्यसैले लैङ्गिक समानताको परिभाषा दिइरहँदा बिभिन्न जात जाति, भाषाभाषी, धर्महरु पनि सबै एकै हौँ भनेर सिकाउनु आवश्यक छ ।
समाज नै परिवर्तन भएको छैन, मैले मात्र परिवर्तन चाहेर हुन्नँ भन्ने खालको सोच त्यागौँ किनकि समाज भनेको नै तपाई अनि म हो ।
र परिवर्तन ‘म’ बाट सुरु हुन आवश्यक छ ।