काठमाडौं । स्थानीय तहमा निर्वाचित दलित महिला वडा सदस्यले सरकारी कार्यक्रममा आफुहरु अपमानित हुन बाध्य भएको बताएका छन् । दलित महिला संघद्धारा आयोजित नव निर्वाचित दलित महिला सदस्यलाई शुभकामना, बधाई तथा छलफल कार्यक्रममा सहभागी महिलाहरुले आफुहरुलाई वडाध्यक्ष, महिला सदस्य पछि बोलाउनुपर्ने हो, त्यस्तो हुँदैन अन्तिममा आशन ग्रहण गराउँदा मन खिन्न हुने गुनासो गरेका हुन ।

काठमाडौं महानगरपालिका ३ शर्मिला परियारले सरकारी कार्यक्रममा समेत दलित महिलाहरु अपमानित हुन परेको बताईन् । उनले सरकारी कार्यक्रममा समेत आफनो मान मर्यादा नभएकोमा दुख लागेको बताईन् । ललितपुर महानगरपालिका ३ की संगीता अछामीले आफुलाई नियोजित रुपमा अन्तिममा बोलाइन्थ्यो । मान मर्यादा नभएको भनी एक वर्षसम्म कुरा उठाउन परेको गुनासो सुनाईन् । पछि वडाध्यक्ष, महिला सदस्यपछि मात्रा आशन ग्रहण गराउदै आएको अनुभव सुनाईन् ।

दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा सोवले वडाध्यक्ष, महिला सदस्य पछि दलित महिला रहेको बताउनुभयो । दलित महिला सदस्या को हो ? स्थानीय तहको वडा सदस्यमा किन आएको हो भन्ने कुरा जनप्रतिनिधिलाई थाहा हुन आवश्यक रहेको बताईन् ।

दलित महिलाहरुलाई कानुनी रुपमा भूमिका व्यवस्था छैन । आफनो अधिकार खोसेर लिनुपर्छ । लेखक तथा अनुसन्धानकर्ता जेवी विश्वकर्माले दलित महिला वडा सदस्यका लागि अहिले अवसर र चुनौती दुवै रहेको बताए । अवसर र चुनौतीका साथसाथै काम गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।

दलित महिला संघकी अध्यक्ष कला स्वर्णले दलित महिला सदस्यमा मात्र अवसर त कानुनी रुपमा प्रदान गरेको बताईन् । उनले अब दलहरुले वडाध्यक्ष तथा स्थानीय तहको प्रमुख पदमा समेत दलित अवसर प्रदान गर्नुपर्ने बताईन् । उनले दलित महिलाहरुलाई माथिल्ला पदमा समेत अवसरको खोजी गर्नुपर्ने सुझाव दिईन् ।

बैशाखमा सम्पन्न निर्वाचनबाट ६५९४ जना दलित महिला सदस्यमा निर्वाचित हुनुभएको छ । काठमाडौं महानगरपालिका २४ र २५ वडामा दलित महिला सदस्य पदमा कुनै पनि पार्टीले मनोनयन दर्ता नगराएका हुन । सो पद ती वडामा रिक्त रहेका छन् ।

तपाईको प्रतिक्रिया