काठमाडौं । लेखकहरूले नेपाली सञ्चारमाध्यमले दलित सवालमा लेखिएका सामाग्रीलाई प्राथमिकतामा नराख्ने गरेको गुनासो गरेका छन् । काठमाडौंमा रहेर लेख्ने लेखकहरूले दलित सवालमा नियमित लेख्ने अभ्यास भएपनि त्यस्ता सामाग्रीलाई सञ्चारमाध्यमले नियमितरुपमा ठाउँ नदिने गरेको अनुभव सुनाएका हुन् ।

जागरण मिडिया सेन्टरको आयोजनामा शुक्रबार काठमाडौंमा भएको नेपाली सञ्चारमाध्यममा दलित सवाल विषयक लेखकसँगको सम्वाद कार्यक्रममा सहभागी लेखकहरूले राष्ट्रिय सञ्चारमाध्यम दलित सवालका विषयबस्तुले कम प्राथमिकता पाइरहेको दाबी गरे ।

कार्यक्रममा लेखक राजेन्द्र महर्जनले दलित सवालमा आफ्नो लेखन अनुभव र सञ्चारमाध्यमको अवस्थाबारे धारणा राखेका थिए । उनले त्यसबारे भएका अध्ययन र तथ्यहरू समेत प्रस्तुत गर्दै दलित आन्दोलनलाई अघि बढाउन दलित सवालमा हस्तक्षेपकारी लेखनको रणनीति अपनाइनुपर्ने बताए ।

अध्ययनअनुसार सञ्चारमाध्यममा नेपाली समाजमा रहेको जात व्यवस्थाको प्रत्यक्ष प्रभाव छ । वि.सं. २०७९ जेठ महिनामा पाँच वटा राष्ट्रिय दैनिक पत्रिकामा विचार पृष्ठमा छापिएका कुल ३९५ वटा लेखमध्ये ३०७ वटा लेख (७७. ७२ प्रतिशत) का लेखक ब्राह्मण क्षेत्री समुदायका थिए भने ११ जना (२. ७८ प्रतिशत) मात्रै दलित समुदायका थिए । जात व्यवस्था र दलितका सवालमा लेखकसामु चुनौतीका पहाड रहेको लेखकहरूको अनुभव छ ।

‘सञ्चारमाध्यमले अन्य विषयमा लेखकहरूलाई स्तम्भकारकोरुपमा लिएका छन् । तर, समाजको यति ठूलो समस्याको रुपमा रहेको जात प्रथाको समस्या समाधान गर्ने गरी सञ्चारमाध्यमकको कुनै ठोस् प्रयास देखिदैन,’ लेखकहरूले भनेका छन्, ‘जात व्यवस्थाको सवालमा समाज जस्तो छ, मिडियो उही अवस्थामा पो हुन कि ? भन्ने प्रश्नमा गम्भीर हुनुपर्ने अवस्था छ ।’

संविधानसभा सदस्य एवम् लेखक पर्शुराम रम्तेलले दलित सवालमा समसामयिक लेखहरु प्रकाशन गर्न आवश्यक रहेको बताए । उनले लेखनका माध्यमबाट हस्तक्षेप र दबावसहित प्रगतिशिल लेखहरु आउन आवश्यक रहेको बताए ।

त्यस्तै, दलित अधिकारकर्मी एवम् लेखक गणेश विश्वकर्माले दलित सवालका लेखकहरूलाई वौद्धिक स्तरबाट प्रोत्साहनको अभाव रहेको बताए । उनले गरिबी, अभावसँग जुधेका नागरिक सवालमा लेखहरुलाई स्थान पाउनुपर्ने बताए ।

प्राध्यापक तथा लेखक तारालाल श्रेष्ठले जनजाति, दलित सवालमा विषयबस्तु उठान गर्न पहिलेभन्दा गाह्रो हुने अवस्था सिर्जना भइरहेको बताए । ‘यो अन्तर्राष्ट्रियस्तरमै सम्भावना भएको विषय हो । हाम्रो समाजकोलागि त झन् ठूलो समस्या हुँदै हो,’ उनले भने, ‘यस्तो सवालमा विश्वविद्यालयहरूले थप उदार भएर काम गर्नुपर्ने हो । तर अवस्था ठीक विपरीत छ । प्रोत्साहन गर्नुको सट्टा विश्वविद्यालयले यस्ता विषयलाई निरुत्साहित गर्ने गरेको पाइन्छ ।’

लेखक धनाकुमारी सुनारले सञ्चारमाध्यममा दलित समुदायको भौतिक उपस्थितिको नै खाँचो रहेको बताइन् । मानवअधिकारकर्मी तथा लेखक शुशिल विश्वकर्माले विषयवस्तुलाई पनि फराकिलो हिसाबले जातिय विभेद र छुवाछुत मात्रै नभई यहीँ समुदायभित्र अन्य थुप्रै एजेण्ड छन् भन्ने हिसाबले अघि बढ्नुपर्ने बताए ।

लेखक तथा अनुसन्धानकर्ता जेवी विश्वकर्माले साँच्चिकै हामीले मिहेनत गरेर दलितको विषयमा गुण्स्तरीय लेखहरु लेख्ने हो भने सम्भावना बढेको बताए ।

संविधानसभा सदस्य एवम् जागरण मिडिया सेण्टरकी अध्यक्ष कमला विश्वकर्माले नेपाली सञ्चारमाध्यममा दलितको मुद्दा घटना केन्द्रीतमात्रै हुँदा समस्याको समाधानमा ठोस् उपलब्धि हासिल हुन नसकेको बताइन् ।

कार्यक्रममा लेखकहरू शिवहरि ज्ञवाली, गोकर्ण भट्ट, घम्वर नेपाली दिनेश पन्थ, अर्जुन विश्वकर्मा, सन्तोष परियार, केशव भुल लगायतले विगतभन्दा सुधारोत्मुख अवस्था रहेको अनुभव सुनाए ।

तपाईको प्रतिक्रिया