काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गा विक नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकी छन् । शुक्रबार नेकपा ((माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
नेकपा एमालेबाट समानुपातिकमार्फत सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेकी विक एमाले विभाजन हुँदा नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेकी थिइन् । उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमुख सचेतकसमेत हुन् ।
संविधानको रक्षा गर्न नेकपा (एकीकृत समाजवादी))मा लागेको र अवसर त्यागेर त्यो पार्टीमा लागेका बताउदैँ अहिले त्यहाँ अवसरवादीको हालीमुहाली हुन थालेकाले नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको विकले समता प्रेससँग बताईन ।
नेकपा रहँदा भीमबहादुर रावल निकट रहेकी विक एमाले विभाजन हुँदा रावलसँगै एमालेमा रहिनन् । पार्टी विभाजन हुनु भन्दा पहिले नै प्रमुख सचेतक रहेका तारा लामा तामाङको स्थानमा दुर्गा विकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको थियो । पछि उनी नेकपा (एकीकृत समाजवादी)को पनि प्रमुख सचेतक भइन् ।
केही दिन पहिले उनलाई नेकपा (एकीकृत समाजवादी)मा रहेर एमाले र माओवादी केन्द्रलाई सहयोग गरेको भन्दै प्रदेश पार्टी कार्यालयले स्पष्टीकरण मागेको थियो । उनले स्पष्टीकरण बुझाउनु भन्दा पहिले पार्टी नै परिवर्तन गरेकी हुन् ।