काठमाडौं । राज्यका हरेक निकायमा मधेशी दलित समुदायको प्रतिनिधित्व शुन्य रहेकोले सञ्चार क्षेत्रले प्राथमिकता साथ मुद्धा उठान गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लोकतान्त्रिक शासन व्यवस्था मधेशी दलित समुदायको उचित तरिकाबाट प्रतिनिधित्व हुन नसकेको जागरण मिडिया सेन्टरले काठमाडौंमा गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले बताएका हुन् ।
प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभामा मधेशी दलित समुदायको प्रतिनिधित्व न्यून रहेको छ कार्यक्रममा सहभागि अधिवक्ता रक्षाराम हरिजनले बताए । उनका अनुसार प्रतिनिधिसभा १६ जना दलित समुदायका सांसदमध्ये एक जना मात्र मधेशी दलितको सहभागिता रहेको छ भने राष्टियसभामा ७ जना मध्ये ५ जना पहाडी दलित रहेका छन् ।
त्यसैगरी प्रदेशसभामा समानुपातिकतर्फ जम्मा २ सय २० जना रहेका छन् । जसमध्ये ३३ जना दलित समुदायको प्रतिनिधित्व रहेकोमा ७ जना मात्र मधेशी दलितको सहभागिता रहेको हरिजनले बताए ।
जिल्ला, उच्च तथा सर्वोच्च अदालतमा न्यायधिश सिफारिसमा दलितको प्रतिनिधित्व शुन्य रहेको उनले जानकारी गराए । राजदुत नियुक्तिदेखि दलित आयोगमासमेत मधेशी दलितको सहभागिता शुन्य हुनुलाई सरकार सम्वेदनशिल हुन नसकेको हरिजनको दाबी छ । प्रतिनिधि, प्रदेशसभा र राष्ट्रियसभामा मधेशी दलितको सहभागीता न्यून हुनु दल र निर्वाचन आयोगको गैरजिम्मेवारीपूर्ण व्यवहार रहेको उनको भनाई थियो ।
कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले मधेशी दलित समुदायको प्रतिनिधिसभामा प्रतिनिधित्व न्यून रहेकोले बढाउनु नीतिगत व्यवस्था गर्न खाचो रहेको बताईन । उनले मधेशी दलितको समुदायको राज्यका हरेक तहतप्कामा नेतृत्व सहितको प्रतिनिधित्व आवश्यक रहेको औल्याईन ।
कार्यक्रममा नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले कुल जनसंख्याको करिब १४ प्रतिशत जनसँख्या रहे पनि नौ प्रतिशत मात्र दलितलाई आरक्षण व्यवस्था हुँदा खसआर्यलाई फाइदा भएको बताए । उनले सूचनाको पहँुच र शिक्षामा कमजोर हुँदा राज्यको हरेक तहमा सहभागिता प्राप्तिमा समस्या देखिएको बताए ।
दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नालले दलित समुदायका राजनैतिक प्रतिनिधित्वका लागि निरन्तर दबाबका कार्यक्रम आवश्यक रहेको बताए । पछिल्ला वर्षमा समावेशीकरणका सवालमा राजनैतिक दल सम्वेदनशील नभएको उनको टिप्पणी थियो ।
जागरण मिडिया सेन्टरका महासचिव भिम घिमिरले दलित तथा सीमान्तकृत समुदायका मुद्धा पछिल्ला वर्षमा ओझेलमा परिहेकोले खबरदारी आवश्यक रहेको बताए ।
कार्यक्रममा पत्रकार केशव भूल, शुशिल दर्नाल राजकरण महतो, गोमा परियार, मञ्जु टेलर, सम्झना विक, धनु विश्वकर्मा लगायतले समानुपातिक समावेशीकरणमाथि सबै क्षेत्रबाट आक्रमण भइरहेकोले सजग हुनुपर्ने बताए ।