काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति आउन २ हप्ता पनि बाँकी छैन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाम लोकतान्त्रिक गठबन्धनमा छन् भने नेकपा (एमाले)लगायतका केहि दलविच अर्को गठबन्धन छ । दुई वटा गठबन्धन भए पनि कतिपय योग्य र क्षमतावान उम्मेदवार गठबन्धनको साँझा उम्मेदवार बन्न सकेनन् भने कतिपय उम्मेदवारलाई गठबन्धन भित्रका दलले पनि एक आपसमा स्वच्छ प्रतिस्पर्धा गर्ने भने उम्मेदवार उठाएका छन् ।
त्यस मध्येकै एक उम्मेदवार हुन नेकपा (माओवादी केन्द्र)बाट काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १० की उम्मेदवार अञ्जना विशंखे । पार्टीको स्थायी समिति सदस्यसमेत रहेकी विशंखे २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिईन । यस पटक माओवादी लगायत कतिपय दलले समानुपातिकतर्फका उम्मेदवारलाई समानुपातिकमा नदोहोर्याउने भनेपछि उनी समानुपातिकमा पर्न सकिनन् । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १० मा नेपाली काँग्रेस र माओवादीविच साँझा उम्मेदवार नभएपछि पनि उनी बाम गठबन्धनकी साझाँ उम्मेदवार बन्न सकिनन् ।
समानुपातिक निर्वाचन प्रणालीबाट यस अघि संसदमा प्रतिनिधित्व गरिसकेकी विशंखे समानुपातिक सांसदमाथीको विभेद देखेर यस पटक प्रत्यक्षतर्फ उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएकी छन् । उनीसँग समता प्रेसका लागि गरिएको कुराकानीको सम्पादित अंश
– निर्वाचनको प्रचारप्रसार तथा घरदैलोमा व्यस्त भएको बेला अन्तरवार्ता दिदाँ पनि समय वर्वाद भएको महशुस हुन्छ होला है ?
पक्कै पनि हो । मेरो निर्वाचन क्षेत्र नै किर्तिपुर, दक्षिणकाली र चन्द्रागिरी भएकाले त्यहाँको जाम कटेर बानेश्वरसम्म आउन, अन्तरवार्ता दिन, फर्किन हिसाव गर्दा एकदेखि दुई घण्टा लागि हाल्छ । त्यसैले केहि न केहि रुपमा असर त गर्छ नै ।
– नेकपा (माओवादी केन्द्र)ले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउदाँ स्थायी समिति सदस्य जस्तो व्यक्ति तपाई किन गठबन्धनको साँझा उम्मेदवार बन्न सक्नुभएन ?
हाम्रो प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १० मा बाम लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभामा एक र प्रदेश सभमा २ वटा निर्वाचन क्षेत्रका लागि बाम लोकतान्त्रिक गठबन्धनले मिलेरै अघि बढ्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा गठबन्धन आवश्यक छैन भनेर नेपाली काँग्रेसले नै मनोनयन दर्ता गर्यो । त्यसपछि हामीले पनि हाम्रो पार्टी के मा कमजोर छ र ? हामीसँग पनि उम्मेदवार छन् नि भनेर हामीले पनि आफ्नो दलबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका हौ ।
भनेपछि नेपाली काँग्रेसका कारणले नै तपाईको निर्वाचन क्षेत्रमा गठबन्धन टुक्रिएको हो ?
हो हाम्रो निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसकै कारणले टुक्रिएको हो । टुक्राए पनि केहि छैन । हामी पनि स्वस्थ प्रतिस्पर्धामा गएका छौ । यो निर्वाचन क्षेत्र कसैको पेवा पनि होइन । जनताले एउटै व्यक्ति २० वर्षसम्म स्विकार गर्न सक्दैनन । त्यो विकल्पका रुपमा म आएको हो ।
–एउटा प्रदेश सभाको क्षेत्रमा गठबन्धनले नेकपा (एकिकृत समाजवादी)को उम्मेदवारलाई साझा उम्मेदवार बनाएको निर्णय तपाइहरुले किन मान्नुभएन ?
हामीलाई कसैले स्विकार गर्दैन भने हामीले पनि अरुलाई किन स्विकार गर्ने । नेकपा (एकिकृत समाजवादी)ले हामीसँग गठबन्धन गर्नका लागि प्रतिनिधि सभामा मलाई समर्थन गर्नुपर्यो । अनि पो हामीले समाजवादीलाई समर्थन गर्ने हो र गठबन्धनको निर्णय मान्ने हो नि । समाजवादीले काँग्रेसलाई मतदान गर्ने भने हामीले उनीहरुलाई किन स्विकार गर्ने ?
–तपाईसँग आफु यो निर्वाचन क्षेत्रबाट निर्वाचित हुन्छु भन्ने आधार के छन् ?
मैले जित्ने धेरै आधार छन् । एउटा भनेको यस निर्वाचन क्षेत्रका मतदाताले नयाँ अनुहार खोजका छन् । एउटै व्यक्ति धेरै पटक निर्वाचित भए पनि जनताका समस्या र मुद्धा कहिले पनि गम्भिर भएर निर्वाचित व्यक्तिले उठाउन सकेन र काम गर्न सकेन । संसद विकास कोषको रकम पनि टुक्राएर कसलाई दिइयो त्यसको जानकारी पनि जनताले पाउन सकेननन् । अर्को म यसै क्षेत्रमा जन्मिएर हुर्केको व्यक्ति पनि हो । राजनीतिक आन्दोलनसँगै धेरै सामाजिक आन्दोलनमा मेरो सहभागिता छ । मैले यहाँको भुगोलाई सानै उमेरदेखि चिनेको छु र जनताको मनोवृतिलाई पनि बुझेको छु । संसदीय निर्वाचन भनेको शक्ति, सत्ता र विचारको प्रतिस्पर्धा हो । आफुले के गर्न सकिन्छ त्यो क्षेत्रका जनताका लागि भनेर प्रतिवद्धता जनाएको छु । मेरो निर्वाचन क्षेत्रमा पर्ने चन्द्रागिरी एउटा ऐतिहासिक ठाउँ पनि हो । बनजंगल, जडिबुटीले पनि भरिपुर्ण ठाउँ हो । अर्को भनेको किर्तिपुर सधैभरी बिद्रोहको प्रमुख भूमिकामा रहदैँ आएको ठाउँ हो । यो क्षेत्र पानीको मुहानको क्षेत्र भए पनि यहाँका जनताले पानी खान पाएका छैनन् । तर निश्चित व्यक्तिले पानीमा व्यापार गरिरहेका छन् । राजन केसीले पानी खुवाउछु भनेको १० वर्ष भयो अहिलेसम्म खुवाउन सकेनन् । फर्फिङदेखि बल्खुको बाटो सबैले देख्नुभएकै छ । कस्तो दयनीय अवस्थामा छ । यो सबै मैले बुझेको छु र यहि क्षेत्रका लागि केहि गरिसकेको र अब प्रत्यक्षमा निर्वाचित भएर गर्न पनि चाहान्छु । अर्को भनेको समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई हेर्ने दृष्टिकोण गर्ने व्यवहार एकदमै फरक छ । शक्ति सन्तुलनका हिसावले पार्टीले पनि समानुपातिक निर्वाचित सांसदलाई राम्रो व्यवहार नगर्ने भएकाले यसपटक प्रत्यक्षमा निर्वाचिन लड्न खोजेको हो ।
–भनेको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएपछि काम गर्न सकिएन भन्ने हो ?
पक्कै पनि । सांसद विकास कोषको ३० करोड बजेट त हामीले छुनसमेत पाएनौ नि । त्यसै कारण आफ्नो निर्वाचन क्षेत्रका जनताका आम समस्या सम्बोधन गर्न सकिएन । रणनीतिक बजेट ल्याउछु भन्दा पनि सरकारमा बसेका हाम्रै पार्टीका मन्त्रीले पनि प्रत्यक्ष सांसदलाई सोध्नुपर्छ भन्ने गरेको पाइयो । कर्मचारी प्रशासनले पनि त्यस्तै व्यवहार गरेको पाइयो । यतिसम्मकी प्रत्यक्ष निर्वाचितले योजना पेश गरिसक्नुभएको छ भन्ने सम्मको जवाफ सुन्नुपर्यो । तर पनि मैले केहि गर्न सकेन भन्न खोजेको होइन । समानुपातिक निर्वाचन प्रणालीबाटै निर्वाचित भए पनि मैले धेरै काम गरेको छु । स्वास्य क्षेत्रमा कुष्ठरोग पीडितका लागि दक्षिणकालीमा १८० जनलाई बीमा गर्नका लागि पहल गरे । अर्कोतिर रणनीतिक बजेटमा चन्द्रागिरीको कर्णाली भनेर चिनिने मसिनेमा बाटो बनाउनका लागि भौतिक मन्त्रालयबाट पहल गरे । अरु ठाउँको विकासका लािग पनि पहल गरेको छु । चन्द्रागिरीको लागि पनि धेरै काम र पहल गरेको छु । तर, जति पहल गर्न सकिन्थ्यो, त्यति गर्न नसकिने देखेपछि म प्रत्यक्ष निर्वाचन प्रणालीबाट संसदमा जान खोजेको हो । भित्रैदेखि काम गरौ भन्ने भुत बोकेर आएकाले धेरै काम गर्न सकिन्छ भनेर उम्मेदवार बनेको हो ।
–प्रतिनिधि सभामा जाने भनेको विकास निर्माण गर्न हो कि कानून निर्माण गर्न हो नि ?
हो यो कुरा छ । हामीले साना विकास गर्न जाने होइन । अघि मैले भनेको कुरा भनेको संयोजन गर्ने मात्रै हो । सानातिना काम त स्थानीय तहले गर्ने हो । हामीले कानुन बनाउदाँ त्यो क्षेत्रको रणनीतिक योजना कसरी पेश गर्ने भन्ने हो । त्यो क्षेत्रको रणनीतिक योजना त्यो क्षेत्रको प्रतिनिधिले मात्र थाहा पाउछ र गर्न सक्छ । विकासका मुद्धा जनताको विषय भएकाले जनप्रतिनिधिले नै उठाउने हो, नत्र भने त्यो क्षेत्रबाट किन चुनिन पर्यो र । आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका कार्य गर्न के–कहाँ कानुनी बाधा छन्, कहाँ कानुनले मिचेको छ भनेर प्रत्यक्ष निर्वाचितले बुझ्ने र उठाउने तथा समाधानका लागि पहल गर्ने हो । जस्तै चन्द्रागिरी हिल बनाउदाँ त्यहाँका स्थानीय जनाताले मुआव्जा पाउने कि नपाउने, केवलकारमा सहुलियत पाउने कि नपाउने, त्यहाँका मजदुरको दिलाउने कि नदिलाउने भन्ने विषयमा जनप्रतिनिधिले नै उठाउने विषय हुन् ।
–तपाइको यस अघिको कार्यकालमा कानुन निर्माणमा कत्तिको योगदान गर्नुभयो ?
म समानुपातिक सांसद भए पनि सबैभन्दा धेरै कानुन निर्माणमा मेरो संलग्नता रह्यो । धेरै कानुनमा धेरै भन्दा धेरै संशोधन हाल्ने सांसदमा म पनि पर्छु, तपाईले संसद सचिवालयमा गएर बुझ्न पनि सक्नुहुन्छ । छुवाछुतको अपराधलाई अपराध मान्ने कि नमान्ने ? सामान्य धरौटीमा छोड्न पाउने कि नपाउने ? यि कानुन निर्माण प्रक्रियामा मेरो योगदान छ । नभए त जातिय विभेद गर्ने गैरदलित एक दिन पनि हिरासत वा जेल नगएर फर्किने अवस्था आउने थियो नि । महिला हिंसासँग सम्बन्धित, निशुल्क कानुनी सेवा सम्बन्धी, बलात्कारसँग सम्बन्धित कानुन, सुरक्षित मातृत्व सम्बन्धी कानुन बनाउदाँ पनि मैले निर्माण प्रक्रियामा योगदान गरेको छु । मेरा सुझाव पनि धेरै समेटिएका छन् । म कोभिडको अनुगमन समितिमा बसेर पनि काम गरे । कोरोना कालमा मेरो निर्वाचन क्षेत्रमा हजारौ पैदलयात्री पैदल हिडिरहेका बेला ३ हजार व्यक्तिलाई बस्ने व्यवस्थासमेत गरेको छु । म कुनै एक दिन पनि आफ्नो कर्तव्य पुरा गर्नबाट बिमुख भएको छैन । अर्को म संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहदाँ मेरै निर्वाचन क्षेत्रमा रहेको सुरेश वाग्ले क्यान्सर अस्पतालको मेरै नेतृत्वमा अनुगमन समिति गठन भएपछि ५ दिनमा प्रतिवेदन तयार गरेर ९ महिना समयावधि बनाएर यसलाई पुरा गर्नुपर्छ र अघि बढाउनुपर्छ भनेर अघि प्रतिवेदन बुझाएको थिए । जनयुद्धको सहिद भएकाले सुरेश वाग्लेको नाममा रहेको अस्पताल निर्माण गरेर उद्घाटनसमेत गर्न सफल भएको अवस्था छ ।
चन्द्रागिरीमा यति समस्या थियो कि र छ पनि, पुस्तौदेखि जग्गा जमिन भोगचलन गर्दै आएका यहाँका अधिकांश जनताले कागजपत्र तथा लालपुर्जा नपाएर समस्यामा थिए । सैयौ मान्छेलाई लालपुर्जा वितरणको काम पनि हाम्रो पहलमा भएको छ । भनेपछि यसमा जनताको काम गर्ने कुरामा र हामी अघि बढ्ने कुरामा लागिरहेका छौ । यस अघि धेरै किन गरिनस पनि भन्ने होला । लामो समय हामी सरकारमा रहेनौ पनि । धेरै ठाउँमा राजनीतिक तथा सामाजिक रुपमा बाहिर बसेर पार्टीले खटाएको ठाउँमा खटियो । समाजबाद उन्मुख संविधान आइसकेपछि विकास निर्माणमा जोडिनुपर्छ र होमिनुपर्छ भनेर आफ्नो जन्मथलोमा आएर आफ्नो जिम्मेवारी पुरा गर्न तिर लागेको हो । मैले भनेको छु मलाई मत दिनुस म तपाईलाई ५ वर्ष मेरो जिवन सर्मपित गर्छु । पराजित भए पनि म फरक ढंगले काम गर्छु जिते भने त गर्ने भए नै भनेर प्रतिवद्धता जनाइरहेको छु । मेरो क्षेत्रका मतदाता १० वर्षदेखि एउटै व्यक्ति त्यो पनि काम नगर्ने भनेर वाक्क भएका छन् । एउटै व्यक्ति प्रचण्डसँग हारेको, फेरी जितेको हो । हुन त प्रचण्डसँग जितेको भनेर मात्रै आउछ, प्रचण्डसँग् हारेको पनि हो नि तर, आउदैँन । यस पटक पनि त्यहि पुरानै व्यक्तिलाई निर्वाचित गराउने हो भने २० वर्ष एउटै व्यक्तिले निरन्तरता पाउँछ । एउटै व्यक्ति २० वर्षसम्म कायम रहिरहनु भनेको राम्रो होइन । त्यो नेपाली काँग्रेसले पनि चाहेको छैन र मनैदेखि स्विकारेको अवस्था पनि छैन् । त्यसैले यस निर्वाचनमा विकल्पको एक मात्रै अनुहार म नै हो ।
–मत माग्न जादाँ मतदाताले कस्तो प्रतिक्रिया दिन्छन् ?
मेरो निर्वाचन क्षेत्रमा ३ वटा नगरपालिकाका वडा रहेका छन् । जसमा चन्द्रागिरीको २ वटा वडा हुन् भने किर्तीपुर तथा दक्षिणकालीका सबै वडा गरेर २९ वटै वडामा म पुगिसकेको छु । अहिले त्यहाँका नागरिकले विकल्प खोजका छन् र त्यसको विकल्प अञ्जना विशंखे नै हो ।
–मतदाताको माग चाहि के छ तपाइसँग बिशेषगरी ?
उनीहरुले निर्वाचित भइसकेपछि फोहोर व्यवस्थापन कसरी गर्नुहुन्छ ? जनतालाई पानी कसरी खुवाउनुहुन्छ ? पर्यावरण कसरी जोगाउनुहुन्छ ? सडक तथा यातायात कसरी व्यवस्थापन गनुहुन्छ भनेर प्रश्न गरिरहनुभएको छ । कतिपयले त काठमाडौं उपत्यकामा भएर पनि हामी सारै विकटका जस्ता नागरिक भयौ भनेर पनि भन्नुहुन्छ । यो क्षेत्रमा धेरै धार्मिक सम्पदा पनि छन् । दक्षिणकाली मन्दीरलाई कसरी व्यवस्थापन गर्ने र धार्मीक पर्यटक कसरी भित्राउने भन्ने पनि मतदाताको माग छ । त्यहाँ राणाकालिन आवासीय विद्यालय पनि छ । यि सबै विषयमा मतदाताले चासो देखाएका छन र मेरो पनि त्यसमा ध्यान गएको छ ।
–पार्टीको घोषणापत्र त भइहाल्यो, तपाईको क्षेत्रसँग सम्बन्धित के छन् तपाइका प्रतिवद्धता ?
पार्टीको घोषणापत्र भनेको समृद्धिका लागि क्रमभंगता हो । मेरै निर्वाचन क्षेत्रमा पर्ने किर्तिपुर भाषा संस्कृतिको थलो पनि हो । त्यसैले यहाँ भाषा संग्रालयको आवश्यकता पनि खड्किएको छ । यहाँ अस्पताल छ तर, फोहोर व्यवस्थापन गर्न सकिएको छैन । सबैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालय मेरो क्षेत्रमा नै छ । त्यहाँका नागरिकले कौडीको भाउमा जग्गा दान गरेका छन् । तर, त्यहाँ कुनै पनि काम गर्दा त्यहाँका स्थानीयसँग समन्वय नै नगरेर गर्ने गरिएको छ । यतातिर पनि मेरो ध्यान गएको छ ।
–विकास निर्माण र एजेण्डाका कुरा गरे पनि अन्तिम फैसला भनेको जनताको भोट नै हो । कस्तो हिसाव किताव राख्नुभएको छ आफु निर्वाचित हुनका लागि ?
स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ–हुन्छ भनेर अन्तिममा हुन सकेन हाम्रो क्षेत्रमा । कतिपय ठाउँमा त्यसैकारणले पनि हाम्रो पार्टीका उम्मेदवार पराजित हुनुपर्यो । अर्को कुरा के हो भने स्थानीय तहको निर्वाचन र अहिलेको संसदीय निर्वाचन एकदमै फरक छ । स्थानीय तहको निर्वाचनमा विकासका एजेण्डा हुन्छन्, तर प्रतिनिधिसभामा यो व्यक्ति कत्तिको सक्षम छ र उसले मुलुकको कानुन निर्माणमा कत्तिको योगदान गर्न सक्छ ? उसको पार्टीमा कत्तिको पहुच छ भन्ने हिसाव किताव हुन्छ । एउटा पार्टीभित्र एकता कायम हुनुपर्ने रहेछ पार्टीमा भोट बढ्नका लागि । अहिले हाम्रो क्षेत्रमा पार्टी भित्रको एकता हेर्न लायक र उदाहरणीय छ । अर्को म यसै क्षेत्रको व्यक्ति भएकाले पनि होला । नेपाली काँग्रेस र नेकपा (एमाले)ले चन्द्रागिरीको एउटै डाडाको र एउटै परिवार वा एउटै घरको व्यक्ति निर्वाचनमा उम्मेदवार उठाउदैँ आउनुभएको छ र यसपटक पनि त्यस्तै हो । म चन्द्रागिरी नगरपालिकाकै उम्मेदवार भएकाले यहाँ १० हजार मतदाता रहेका छन् । किर्तिपुर नगरपालिकामा ३० हजार र दक्षिणकालीमा १८ हजार मतदाता रहेका छन् । यि मतदाताको हिसाव हेर्दा र नेतृत्वको हिसावले हेर्दा पनि चन्द्रागिरीको प्रतिनिधित्व भएको र नयाँ व्यक्ति आएको हुनाले पार्टी भन्दा पनि चन्द्रागिरीको नेतृत्व पाइयो, महिला पाइयो र उत्पिडित समुदायको व्यक्ति पनि आएको भनेर मेरो पक्षमा लहर पैदा भएको छ । तपाइले पनि हेर्न सक्नुहुन्छ र बुझ्नसक्नुहुन्छ । अर्को कत्तिको योग्य छ भनेर पनि हेर्ने रहेछ । मलाई एउटा अध्ययनशिल, सामाजिक आन्दोलनमा योगदान गरेको र स्खलित छैन भनेर पनि हेरिरहेका छन् । मेरो चुनावी अभियान भनेको विचार राख्ने र जनतालाई सचेत बनाउने र विकृतिबाट हटाउने अभियान पनि हो भनेर बुझेको छु । कसैले पैसाको कुरा गर्यो भने मैले अहिले धेरै पैसा दियो भने पछि अस्वस्थ तरिकाले कमाउनुपर्छ त्यसैले म त्यस्तो गर्न सक्दैन भन्ने गरेकी छ्ु । यदि स्वस्थ मान्छे चाहानुहुन्छ भने आर्थिक कुरा नगरेर भोट दिनुभयो भने म तपाइको पक्षमा न्यायिक कार्य गर्नेछ भन्ने गरेकी छु ।
–अबको ५ वर्षमा तपाईल के काम गर्नुहुन्छ संसदमा पुगेपछि ?
एउटा कतिपय नीति नियमले गर्दा जनतालाई काम गर्न सारै अफ्टयारो परिरहेको छ । सिमान्तृकृत समुदायको पक्षमा रहेका कानुन पनि त्यति राम्रा र प्रभावकारी छैनन् । अर्को के कुरामा म जोड दिन्छु भने पछिल्लो समय स्वतन्त्र उम्मेदवारीको लहर चलिरहेको छ । नेपालको संविधानमा मुलुकको साशकीय स्वरुपमा के छ भनेर सबैले हेर्नुभएकै होला । त्यहाँ ठुलो दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । यदि साच्चिकै राष्ट्र निर्माण गर्ने हो भने जनताले मनोनयन गर्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा नगएर सुखै छैन । यो व्यवस्था गर्नका लागि म र मेरो पार्टी पहल गर्ने भएकाले पनि म जान जरुरी छ ।
–अन्तिममा केहि भन्नु छ तपाइलाई ?
मुखले भनेर होइन, काम गरेर देखाउँनका लागि म काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १० मा उम्मेदवार छु । मलाई निर्वाचित गराउनका लागि हार्दिक अनुरोध गर्दछु ।