पोखरा । गण्डकी प्रदेश सरकारले पाँचौं स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । नेपाल सरकारका सहसचिव एवम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मनमाया पंगेनीले १ लाख रुपैयाँ राशिसहितको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् ।
फागुन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवामा काम गर्ने कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको थियो । निजामती सेवा अध्यादेश, २०७९ को दफा ११३ बमोजिम पुरस्कृत गर्ने सक्ने व्यवस्था छ ।
उत्कृष्ट निजामतीतर्फ तीन जनालाई सरकारले ७५ हजार रुपैयाँका दरले सम्मान गरेको छ । डिभिजन वन कार्यालय लमजुङमा कार्यरत अधिकृत दशौं पूर्णेश्वर सुवेदी, यातायात व्यवस्था कार्यालय सवारी कास्कीका दशौं तहका अधिकृत डिल्लीराम रिज्याल र स्वास्थ्य कार्यालय मनाङमा कार्यरत वरिष्ठ जनस्वस्थ्य अधिकृत बाबुराम आचार्यले उक्त पुरस्कार पाएका छन् ।
सरकारले ५० हजार नगदसहितको पुरस्कार ६ जनालाई प्रदान गरेको छ । प्रदेश संग्राहलय पोखरामा कार्यरत अधिकृत आठौं करुणा राई , पूर्वाधार विकास कार्यालय मुस्ताङमा कार्यरत इन्जिनियर विवेक सिग्देल, कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालय पोखरामा कार्यरत अधिकृत सातौं अनिल सुवेदी, आर्थिक मामिला मन्त्रालय पोखरामा कार्यरत अधिकृत छैटौं रामेश्वर ढुंगाना, प्रदेश लोक सेवा आयोग पोखरामा कार्यरत सहायक पाँचौं विष्णु पोखेल र गण्डकी प्रदेश सभा सचिवालयका सहायक पाँचौं तहका कर्मचारी सूर्यबहादुर बानियाँ उक्त पुरस्कारबाट पुरस्कृत भएका छन् ।