काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवैधानिक आयोगका पदाधिकारीले भेट गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंदरबारमा भएको भेटमा आयोगमा आइपरेका समस्या र चुनौतिका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोग सामाजिक विभेदको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताएको दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले समता प्रेससँग बताए । उनले आयोगको गठन धेरै ठूलो संघर्ष र बहसपश्चात भएको उल्लेख गर्दै आवश्यक साधन स्रोत र पूर्वाधारसहित व्यवस्थित गर्नुपर्ने बताएको विश्वकर्माले जानकारी दिए ।
आयोगका पदाधिकारीले मानव अधिकार सम्बन्धी आठवटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीको लागि सेवा, शर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रम बमोजिम भएको नदेखिएकोले निर्दिष्ट मर्यादाक्रम बमोजिम हुने व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको महिला आयोगका अध्यक्ष कमला पराजुलीले समता प्रेसलाई जानकारी दिइन ।
त्यसैगरी, संवैधानिक आयोगको मर्यादा र स्थायित्वको विचार गरी कर्मचारी पदस्थापन तथा सरुवा गरी पठाउँदा र आयोगबाट कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगकोसमेत सहमति लिनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखेको उनले बताईन ।