एजेन्सी । टर्की र उत्तरी सिरियामा भूकम्पमा परेर १५ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार गत सोमबार गएको भूकम्पमा परेर टर्की र सिरियामा गरी अहिलेसम्म १५ हजार मानिसको मृत्यु भएको हो । मानिसहरु अझै भग्नावशेषमा पुरिएका हुनसक्ने र मृतकको संख्या बढ्न सक्ने पनि संचार माध्यमहरुले बताएका छन् ।

टर्की सरकारले राहत,उद्धार र आपतकालीन सेवाहरुमा ढिलाई गरेको भन्दै सरकारको आलोचना भएको छ । टर्कीका विपक्षी राजनीतिक दलले प्राकृतिक बिपदका बेला सरकार कमजोर रुपमा उपस्थित भएको आरोप लगाएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भने एक्कासी आइपर्ने प्रकोपको मापनको लागि तयारी गर्न असम्भव भएको भन्दै आफ्नो सरकारको बचाउ गरेका छन् । एर्दोगानले सरकारले केही समस्याहरू सामना गरेको तर स्थिति अब “नियन्त्रणमा“ रहेको बताएका छन् ।

टर्कीको प्रमुख विपक्षी दलका नेता केमाल किलिचदारोग्लुले भने राष्ट्रपति एर्दोगानको भनाईको आलोचना गरेका छन् । एर्दोगानले विपद्पछि एकता आवश्यक भएको बताउँदै ‘यस्तो अवस्थामा राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउने काम बन्द गर्न विपक्षीलाई आग्रह गरेका छन् । भग्नावशेषमुनि फसेका कैयौं मानिसहरुको उद्धारको कार्य भइरहेको छ । भूकम्पमा परेर बाँचेका हजारौंले चिसो अवस्थामा तेस्रो रात बिताएका छन् ।

उता सिरियाको इडलिब प्रान्तमा मात्रै १ हजार ५सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । सिरियाली राष्ट्रपति बसर अल–असदका सल्लाहकारले बिभिन्न कारण सिरियालाई आवश्यक सहायता प्राप्त हुन नसकेको बताएका छन् । सिरिया लामो समयदेखि आन्तरिक द्वन्द्वका रहेको छ । जसका कारण उसलाई विभिन्न देशबाट सहयोग हुन सकेको छैन ।

“हामीसँग पर्याप्त बुलडोजर छैन, हामीसँग पर्याप्त क्रेन छैन, हामीसँग युरोपेली र अमेरिकी प्रतिबन्धका कारण पर्याप्त तेल छैन,“ सिरियाली राष्ट्रपतिका सल्लाहकार बुथैना शब्बानले अन्तर्राष्ट्रिय संचार माध्यमसँग भनेका छन् ।

तपाईको प्रतिक्रिया