काठमाडौं । फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै जरिवाना छुटको घोषणा गरेको हो ।
आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट गरिने कार्यालयले जनाएको छ । कार्यालयले आफ्नो नामको सवारीसाधनको समयमै नवीकरण गरी कर भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ । साथै ट्राफिक कारबाहीमा परी सवारीसाधन नियन्त्रणमा रहेकाहरुलाई पनि अविलम्व कर भुक्तानी गरी जरिवाना छुटको लाभ लिन कार्यालयले आग्रह गरेको छ ।
सूचनामा सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिएको छ ।
अन्यथा कर भुक्तानी नगरेकाको लगत सङ्कलन गरी कडाईका साथ जरिवाना समेत उठाइने कार्यालयले जनाएको छ ।