काठमाडौं । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका चार लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकोमा साउदी अरबीया सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस अवसरमा मन्त्री पौड्यालले साउदी अरबीयाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा श्रम सम्झौता गरेर दक्ष जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो ।
भेटमा राजदूत हैमेदले साउदी अरबीयाको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उल्लेख गर्नुहुँदै आफ्नो देशमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिकहरू लैजाने प्रतिबद्धता जनाउनुभयो ।