जनकपुर। निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन्। शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह गरेका हुन्। उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन्।
बलात्कारको आरोप लगाउँदै शिवराजविरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन्। तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो।
मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए। जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन्।
निहारिका राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो।
धनुषा जिल्ला अदालतले शिवराजलाई बलात्कारको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन्। सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । तर गत माघ १५ गते निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन्।