काठमाडौं ।प्रमुख राजनीतिक दलको नेतृत्व असमावेशी बनिरहेका बेला विवेकशील साझा पार्टीको पदाधिकारीकारी टिम भने समावेशीताको नमुना बनेको छ । ९ सदस्यीय पदाधिकारी टिममा पनि ४ जना महिला चयन भएका छन् । प्रतिशतका हिसावले पदाधिकारीमा ४४ प्रतिशत महिला निर्वाचित भएका छन् ।
पार्टी संगठनमा प्रमुख भूमिका रहने अध्यक्ष र महासचिव नै महिला चयन भएका छन् । विवेकशील साँझाको शनिबार काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा समीक्षा बास्कोटालाई सर्वसम्मत चयन गरेको छ । यस्तै ३ जना उपाध्यक्षमा प्रकाशचन्द्र परियार मिलन पाण्डे र बिमला अधिकारी चयन भएका छन् । ३ जना अध्यक्ष चयन हुदाँ पनि समावेशीताको सिद्धान्तलाई पुर्ण रुपमा पालना गरिएको छ । जसमा एक जना दलित समुदायबाट, एक जना महिला (खस आर्य) र एक जना खस आर्यबाट पुरुष चयन भएका छन् ।
यस्तै संगठनमा अध्यक्षपछि मूख्य भूमिका मानिने र संगठन विभागको प्रमुख जिम्मेवारी रहने महासचिवमा महिला रञ्जु दर्शना सर्वसम्मत चयन भएकी छन् । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुद्र केसी चयन भएका छन् । सचिवमा पनि ३ जना चयन गर्दा समावेशीतालाई पुर्ण रुपमा पालना गरिएको छ । ३ सचिवमध्ये एक जना महिला (खस आर्य), एक जना आदिवासी जनजाती र एक जना खस आर्य पुरुष चयन भएका छन् । कोषाध्यक्षमा भने पुरुषबाट दामोदर नेपाल चयन भएका छन् ।
९ सदस्यीय पदाधिकारी गठन गर्दा विवेकशील साँझाले समावेशीतालाई पुर्ण पालना गरे पनि मधेशी, मुस्लिम र थारु समुदायको प्रतिनिधित्व भने शून्य बनाएको छ । महाधिवेशन हलबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरिएको हो । विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ । पदाधिकारी सर्वसम्मत चयन भइसकेकाले केन्द्रीय सदस्य चयन सर्वसम्मत चयन गर्ने तयारी छ । सदस्य चयन गर्दा कत्तिको समावेशीताको सिद्धान्त पालना गर्नेछ, त्यो भने हेर्न बाँकी नै छ ।