बुटवल । बिनाविभागिय मन्त्री बनाएर जिम्मेवारी नदिएको भन्दै राजिनामा दिएकी माओवादी नेता कृष्णा केसीले कानून मन्त्रालयको जिम्मेवारी पाएकी छन् । शनिबार मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाइसकेकी उनको राजीनामा स्वीकृत नगरेरै मुख्यमन्त्री लिला गिरीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

यस अघि विना विभागीय मन्त्रीकै जिम्मेवारीमा रहेका चेतनारायण आचार्यले पनि खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । शनिबार सात जना नयाँ मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री लीला गिरीले शनिबार राति मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले थप सात मन्त्री थप गरेका हुन् ।प्रदेशमा रहेका १० वटा मन्त्रालयमध्ये मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमालेले, तीन मन्त्रालय माओवादीले र एक–एक मन्त्रालय जनमत र राप्रपाले पाएका छन् । नवनियुक्त मन्त्रीहरूको आइतबार दिउँसो १ बजे शपथग्रहण हुनेछ । गत २७ पुसमा प्रदेश सभाका १० मध्ये सात दलका ५६ र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । गिरीले माघ ५ गते विश्वासको मत लिएका थिए ।

यसअघि मुख्यमन्त्री गिरीसहित एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्ण केसी मन्त्री थिए । तर, उनीहरूको पनि मन्त्रालय बाँडफाँट भएको थिएन ।

तपाईको प्रतिक्रिया