काठमाडौं । नेपालमा ०५४ सालपछि हरेक वर्ष लैंगिक हिंसाविरुद्व अभियान चलाइन्छ, सरकारी र गैरसरकारी निकायले गोष्ठी गर्छन्, तथ्यांक केलाउँछन् र बहस चलाउँछन् । यो अढाई दशकमा सरकारले हिंसा नियन्त्रणकालागि नयाँ नीति, कार्यक्रम र कानुनहरू पनि तर्जुमा गरेको छ । त्यसमा भएको खर्चको कुनै लेखाजोखा छैन । तर, लिङ्गकै आधारमा महिलाहरूमाथि हुने हत्या, घरेलु हिंसा, विभेद, अपराध र बहिष्करण भने रोकिएको छैन, बरू झन्–झन् बढ्दो छ ।
त्यसो त महिला आन्दोलनले अहिले पाएको उपलब्धी कमजोर भने होइन । ०६२/०६३ को जनआन्दोलन र महिलाहरूको संघर्षकै कारण महिला राष्ट्रपति र सभामुखसमेत भए । नागरिकको नजिकमा रहेका स्थानीय सरकारमा मात्रै १४ हजार महिला जनताको प्रतिनिधि बनेका छन् । तर, दिनहुँ महिलामाथि घटिरहेका हिंसा र हत्याका घटनाले नेपाली समाज अझै पनि महिलाका लागि असुरक्षित रहेको र आत्मसम्मानपूर्वक बाँच्न पाउने अवस्था नरहेको देखाउँछन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो ५५ महिनामा देशभर एक हजार एक सय ६ महिलाको हत्या भएको छ। त्यसमध्ये एक सय ३४ बालिका छन् । यस अवधिमा सबैभन्दा धेरै मधेस प्रदेशमा दुई सय ४५, कोसीमा दुई सय २९, लुम्बिनीमा दुई सय नौ, बागमतीमा एक सय नौ, गण्डकीमा ९०, सुदूरपश्चिम ८७, उपत्यकामा ६९ र कर्णालीमा ६८ महिलाको हत्या भएको छ । मारिनुका कारण पहिल्याउँदै जाँदा अधिकांश घटना यौन र सोही विषयवरिपरि गएर टुंगिन्छ ।
प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात (साउनदेखि माघसम्म) महिनामा १० हजार नौ सय ८६ महिलाविरुद्धका अपराधका घटना भएका छन् । यसअनुसार दैनिक ५२ भन्दा धेरै घटना हुने गरेको देखिन्छ । आव ०७८/७९ मा २१ हजार चार सय ५१, आव ०७७/७८ मा १८ हजार नौ सय ५१, आव ०७६/७७ मा १५ हजार सात सय ५६ र ०७५/७६ मा १९ हजार तीन सय चार घटना भएको प्रहरीको तथ्यांक छ ।
प्रहरीका सहायक प्रवक्ता एसएसपी दीपेन्द्र जोशीले महिला मारिनुका अनेक कारणमध्ये प्रमुख कारण यौन रहेको बताए। ‘तथ्यांक हेर्दा पछिल्ला दिन धेरै महिला मारिएका छन्। यसका पछि अनेक कारण छन् । जसमध्ये एउटा यौन हो। महिला बलात्कृत हुन्छिन्। अयिभुक्तले घटनालाई छोप्न खोज्छ। यही कारण पनि हत्या भएका छन्। प्रहरीले गरेका अनुसन्धानबाट यी घटना पुष्टि भएको देखिन्छ,’उनले भने।
महिला मारिनुमा पुरुषवादी सामाजिक चेत र शक्तिलाई कारण ठान्छिन् समाजशास्त्री नीति अर्याल खनाल । बलात्कार पनि पुरुषवादी सामाजिक चेतकै उपज भएको हुँदा महिला हत्यामा यो कारणका रूपमा आउने उनको तर्क छ। ‘महिलाको हत्या कुन कारण भएको हो, त्यसको स्पेसिफिक अध्ययन त भएको छैन। यद्यपि, समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा कहीँ न कतै पुरुषवादी सामाजिक चेत र शक्ति योसँग जोडिएर आउँछ। बलात्कारका पछाडि कारण यही छ। त्यसो हुँदा महिला हत्याको पछि यौन पनि कारणका रूपमा जोडिएर आउन सक्छ,’ उनले भनिन्।
प्रहरीका अनुसार बढ्दो बेरोजगार, सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोग, मादक तथा नसालु पदार्थ सेवन, पारिवारिक कलह, सम्पत्ति, दाइजो, वैदेशिक रोजगारीलगायत कारण पनि महिला हत्यासँग जोडिने विषय हुन्।
‘महिला मारिनुका पछाडि यौनसँगै अन्य कारण पनि देखिन्छन्। जस्तो समाजमा बेरोजगारी बढ्दो छ। सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोग बढेका छन्। मादक पदार्थ सेवन उत्तिकै छन्। दाइजो तथा सम्पत्ति प्राप्तिका कारण पारिवारिक कलह बढेका छन्। जसले मानिसमा तनाव पैदा गराइदिएको छ। महिला मारिनुमा यी पनि कारण रहेको देखिन्छ,’एसएसपी जिसीले भने ।
पछिल्लो ६७ महिनामा देशभर महिलाविरुद्धका एक लाख एक हजार ६ सय ९२ अपराधका घटना भएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै ७८ हजार पाँच सय ८८ घटना घरेलु हिंसाका छन्, जुन महिलाविरुद्ध हुने कुल अपराधको ७७.२८ प्रतिशत हो। यस अवधिमा बलात्कारका १२ हजार ६० घटना भएका छन्। त्यस्तै, बहुविवाहका चार हजार तीन सय ८२ घटना भएका छन्।
महिलाविरुद्ध हुने कुल अपराधमा बलात्कारका घटना ११.८५ प्रतिशत र बहुविवाहका घटना ४.३० प्रतिशत हो। बाँकी ७.१३ प्रतिशत बोक्सी, जातीय छुवाछुत, गर्भपतन, अपहरण, मानव बेचविखन, अप्राकृतिक मैथुनलगायत अपराधका घटना भएका छन्।
महिलाविरुद्धका अपराध सबैभन्दा धेरै मधेस प्रदेशमा भएका छन्। प्रहरीको तथ्यांकअनुसार पछिल्लो ६७ महिनामा मधेसमा २५ हजार दुई सय ३४ अपराधका घटना भएका छन्। यो महिलाविरुद्ध हुने कुल अपराधको २४.८१ प्रतिशत हो।
यस अवधिमा काठमाडौं उपत्यकामा १७ हजार सात सय ९६, लुम्बिनीमा १६ हजार दुई सय ५९, बागमतीमा १० हजार तीन सय ९४, कोसीमा १० हजार ८८, गण्डकीमा आठ हजार पाँच सय ८५, सुदूरपश्चिममा सात हजार एक सय २९ र कर्णालीमा ६ हजार दुई सय सात महिलाविरुद्धका अपराधका घटना भएका छन्। बुधबारको नयाँ पत्रिकाबाट ।