काठमाडौं । स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरबाट ग्रसित प्राध्यापक डाक्टर उर्मिला अर्यालले उपचारकालागि सहयोगको याचना गरेकी छिन् । सात वर्षदेखि उदाहरणीय आत्मबल र आफ्नै मिहिनेतको खर्चमा उपचाररत प्याकुरेलले अबको उपचार धान्न नसक्ने अवस्था भएको भन्दै सहयोगकालागि अपिल गरेकी हुन् ।
उनी क्यान्सर लागेकै अवस्थामा अध्ययन अनुसन्धानलाई अगाडि बढाएर ३५ वर्षको उमेरमा विद्यावारिधि (पिएचडी) सकी ४१ वर्षको उमेरमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी उमेरकी प्राध्यापक बनेकी थिइन् । ४२ वर्षीया प्याकुरेलले हालसम्मको उपचार खर्च अनुसन्धानबाटै जुटाएको बताउँछिन् ।
सिन्धुपाल्चोकको कालिका गाउँकी सामान्य किसान परिवारकी प्राध्यापक प्याकुरेलले नेपाल र जर्मनीमा गरी हालसम्म उपचारमा मात्रै साढे चार करोड रुपियाँभन्दा बढी खर्च गरिसकेकी छिन् । तर पनि पूर्णरुपले क्यान्सर ठिक नभएको र अबको अन्तिम विकल्प इम्युनोथेरापी गर्नुपर्ने चिकित्सकको सुझाव छ । उनले ६४ चरणको किमोथेरापी, रेडियो थेरापीलगायतका उपचार गरिसकेकी छिन् ।
उक्त उपचार कम्तिमा पनि एक वर्षसम्म गर्नुपर्ने र एक चरणको उपचारका लागि २१ दिनमा करिब चार लाख रुपियाँ लाग्ने र अहिले अनुसन्धानका लागि फेलोसिपसमेत आफूले नपाएकाले भरसक अरुको सहयोग नलिने चाहना हुँदाहुँदै पनि बाध्य भएर सहयोगको याचना गर्नुपरेको उनको भनाइ छ । प्याकुरेलले महिलामा मात्र लाग्ने र निको हुने स्तन र पाठेघर तथा डिम्बाशयको क्यान्सरको पनि सुलभ उपचार नभएको गुनासो गरिन् ।
उनले धेरै नेपाली युवा देश छाडेर पलायन भएको अवस्थामा देशभित्रै रहेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन स्वदेशमा नै काम गर्ने निर्णयमा आफू पुगेको बताइन् । उनको अनुसन्धान व्यावहारिक गणितको प्रयोगबाट नेपालमा बढ्दो ट्राफिक समस्या समाधानमा केन्द्रित छ ।
उनी मधुश्री नामबाट साहित्य रचना गर्छिन् । उनको विद्यावारिधिका निर्देशक त्रिवि गणित केन्द्रीय विभागका अध्यक्ष प्रा. डा. टङ्कनाथ धमलाले प्रा. डा. प्याकुरेल एक उत्कृष्ट अनुसन्धाता रहेको र उनका कृति र अन्तर्राष्ट्रिय सञ्जाल निकै सफल रहेको बताए । विद्यार्थीलाई सिकाउन र सधैँ अनुसन्धान गरी नयाँ कुरा पत्ता लगाउन उत्सुक र सक्षम रहने प्रा. प्याकुरेल अहिले पनि छ जना विद्यावारिधि र अरु स्नातकोत्तर तहका अनुसन्धानकर्ताहरुको शोध निर्देशक हुन् ।
प्रा. डा धमलाले लागनशीलतामा अथक र नयाँ नयाँ अवधारणकी धनी प्रा. प्याकुरेल लामो समयदेखि उपचारमा रहँदा पनि निडर, साहसी, आत्मविश्वासी युवा वैज्ञानिक रहेको भन्दै सहयोगका लागि अनुरोध पनि गरे ।
त्यस्तै, तीन वर्षदेखि प्रा प्याकुरेलको उपचारमा संलग्न प्रा. डा. राजेन्द्र बरालले प्रा प्याकुरेललाई आत्मविश्वास र उपचारले बचाएको उल्लेख गरे । उनले उपचार भने उनको अन्तिम विकल्प रहेको र त्यो निकै महँगो भएकाले उनलाई सहयोग गर्नेले पुण्य प्राप्त गर्ने बताए ।