काठमाडौं । राष्ट्रिय दलित आयोगले आफ्नै घरमा भोज आयोजना गरेर जातीय भेदभाव गर्ने सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष अग्रनारायण यादवलाई पक्राउ गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष जस्तो सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिले मानव अधिकारको अन्तर्राष्ट्रिय मुल्यमान्यता, नेपालको संविधान र प्रचलित ऐन कानूनको उल्लंघन हुने गरी युगौँदेखि शोषण उत्पीडनमा पारिएका समुदायलाई घोषित रुपमा छुट्याउने गरी व्यानर समेत राखेरै भोज खुवाएको भन्दै भत्र्सना गरेका छन् ।

अध्यक्ष यादवले आफ्नी आमाको १३ औँ दिनको तिथिका अवसरमा भोज खुवाउँदा जातीय भेदभाव गरेका थिए । भोजमा जातअनुसार बस्ने र खाने ठाउँको प्रबन्धमात्रै थिएन, ब्यानरै टाँगिएको थियो ।

‘गाउँपालिका अध्यक्ष जस्तो सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिले मानव अधिकारको अन्तर्राष्ट्रिय मुल्यमान्यता, नेपालको संविधान र प्रचलित ऐन कानूनको उल्लंघन हुने गरी मधेशका युगौँदेखि शोषण उत्पीडनमा पारिएका समुदायलाई घोषित रुपमा छुट्याउने गरी व्यानर समेत राखेर दलित समुदायलाई छुट्टै भोज खुवाउने कार्यको निन्दा एवम् भत्सर्ना गर्दछौँ । यस्तो कार्य निरुत्साहनकालागि सबै मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति एवम् संस्थाहरूलाई सहयोगकालागि अपिल गर्दछौँ,’ आयोगले भनेको छ ।

आयोगले कानूनबमोजिम अध्यक्ष यादवलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

‘कानूनले उल्लंघन जो सुकैले गरेको होस् त्यो दण्डनीय हुन्छ । अतः भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गर्न र अपमानित दलित समुदायको मानव अधिकारको संरक्षण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ,’ आयोगका अध्यक्ष विश्वकर्माले भनेका छन् ।

आयोगको विज्ञप्ति :-

तपाईको प्रतिक्रिया