काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक प्रणालीबाट हुनुपर्ने माग गर्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
त्रिवि दलित विद्यार्थी युनियन, नेपाल समाजवादी विद्यार्थी युनियन र तराई मधेश सम्पर्क मञ्चसम्बद्ध विद्यार्थीहरूले समयमै निर्वाचन हुने बातावरण सुनिश्चित गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणाली व्यवस्था गर्न माग गर्दै शुक्रबार त्रिवि केन्द्रीय क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
नेपाल समाजवादी विद्यार्थी युनियनका इकाइ अध्यक्ष बल बहादुर रम्तेल, तराई मधेश सम्पर्क मञ्चका अध्यक्ष सुनिलकुमार साह र त्रिवि दलित विद्यार्थी युनियनका अध्यक्ष दिपा नेपालीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै उनीहरूले सम्पूर्ण जातजाति, क्षेत्र, भाषा, धर्म, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।
‘नेपालमा विभिन्न कालखण्डमा राजनीतिक उपलब्धीहरु संस्थागत गर्दै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्म आइपुगेको छ । यहाँसम्म आइपुग्न कैयौँ व्यक्तिहरुले बलिदानी दिनुभएको छ । सो उपलब्धीहरुलाई संस्थागत गर्न सबै जातजाती, भाषा, धर्म, समुदायका मानिसहरुले योगदान दिएको अवगत नै छ,’ उनीहरूले भनेका छन्, ‘सम्पूर्ण जाति, क्षेत्र, भाषा, लिङ्गको मानिसहरुलाई राज्यको सम्पूर्ण निकायहरुमा पु¥याउने हामी सबैको अभिभारा हो । सो जिम्मेवारी पुरा गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गराउन माग गर्दै तालाबन्दी गरिएको छ ।’
उनीहरूले विश्वविद्यालयले अनुमति दिएको प्राइभेट कार्यक्रमहरुमा अध्ययनरत विद्यार्थीहरूलाई समेत मतदानको अधिकार दिन माग गरेका छन् ।