काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट नेपाल दलित मुक्ति संगठनको छैटौँ राष्ट्रिय सम्मेलन आगामी जेठमा हुने भएको छ ।
संगठनले आगामी जेठ २१ र २२ गते काठमाडौंमा छैटौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । संगठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसर पारेर २०८० साल जेठ २१ र २२ गते छैटौँ राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।
‘दलित आन्दोलनको पुनगर्ठन र रूपान्तरणका लागि राष्ट्रव्यापी अभियान, दक्षिणपंथी अवसरवाद र सबै खाले विभेदका विरुद्ध छैटौँ राष्ट्रिय सम्मेलन’भन्ने मुल नाराका साथ सम्मेलन आयोजना गरिएको प्रचार विभाग प्रमुख गोपाल बराइलीले जानकारी दिए ।
उनकाअनुसार सम्मेलनमा देशभरबाट झण्डै एक हजार भन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ । बैठकले आगामी जेष्ठ २१ गतेसम्म तीन महिने ‘संगठन निर्माण तथा परिचालन अभियान’संचालन गर्ने भएको छ भने फागुन ३० गतेसम्म जिल्ला र प्रदेश कमिटीका बैठक बस्ने, चैत ७ गतेसम्म स्थानीय कमिटीहरुको सम्मेलन गर्ने र चैत मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैशाख मसान्तसम्म संगठनको आगामी समाजवादी यात्रा विषयक परामर्श कार्यक्रम सञ्चालन गर्ने, बैशाख १५ गतेसम्म प्रदेश सम्मेलन गर्ने र जेठ २१ र २२ गते छैठौ राष्ट्रिय सम्मेलन निर्णय गरेको बराइलीले जानकारी दिए ।
सम्मेलनकालागि संगठनले विश्वकर्माको संयोजकत्वमा ३३ सदस्यीय मूल व्यवस्थापन तथा परिचालन समिति गरेको छ ।
अथिति सत्कार उपसमितिको संयोजकमा रामऔतार पासवान, राजनीतिक प्रतिवेदन उपसमितिको गणेश विश्वकर्मा, विधान मस्यौदा उपसमितिको संयोजकमा कृष्ण नेपाली, साँगठनिक प्रतिवेदन उपसमितिको संयोजकमा घनश्याम रिजाल र आर्थिक प्रतिवेदन उपसमितिको संयोजक गोविन्द नेपालीलाई तोकिएको छ ।
त्यसैगरी प्रकाशन तथा प्रचारप्रसार उपसमिति संयोजक गोपाल बराइली, मञ्च व्यवस्थापन तथा साँस्कृतिक उपसमितिको संयोजकमा रणबहादुर रम्तेल, प्रतिनिधि छनोट तथा व्यवस्थापन समितिको संयोजक घनश्याम रिजाल, खाद्य तथा आवास व्यवस्थापन उपसमिको संयोजक नन्द घतानी, आर्थिक उपसमितिको संयोजक गोविन्द नेपाली, स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजक प्रदीप सोवलाई तोकिएको छ ।