सिरहा । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नै घरमा आयोजना गरेको भोजमा जातीय छुवाछुत गरेको भन्दै सिरहाका अधिकारकर्मी आन्दोलित बनेका छन् ।
संयुक्त दलित मोर्चाले शनिबार दिउँसो गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गरी कारबाहीको माग गर्दै विरोध प्रदर्शन र कोणसभाको आयोजना गरेका छन् । दलित अधिकारकर्मी सञ्जय महराले शनिबार दिउँसो १२ बजे सिरहाको गोलबजारमा विरोध कार्यक्रमको आयोजना गरिएको बताए ।
मोर्चाले सिरहास्थित दलित समुदाय, मानवअधिकारकर्मी, पत्रकार तथा सबै न्यायप्रेमी जनसमुदायलाई सहभागिताकालागि आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष यादवले आफ्नी आमाको १३ औँ दिनको पुण्यतिथिको अवसरमा आयोजित भोजमा जातकाआधारमा फरक फरक भोजको प्रबन्धमात्रै होइन, ब्यानर लगाएर भेदभाव गरेका थिए ।
सो भोजमा सिरहाका सांसद्, प्रमुख जिल्ला अधिकारी र प्रहरीसहित सार्वजनिक क्षेत्रका व्यक्तिहरू समेत सहभागी थिए ।
गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गर्दै विभिन्न संघसंस्थाहरु र राष्ट्रिय दलित आयोगले कारवाहीको माग गरेका छन् ।
सम्बन्धित समाचार
गाउँपालिका अध्यक्षले आफ्नै घरमा आयोजित भोजमा गरे जातीय छुवाछुत, मन्त्री सांसद सिडिओ र प्रहरी साक्षी
गाउँपालिका अध्यक्षलाई पक्राउ गरी कारबाही गर्न दलित आयोगको ध्यानाकर्षण