कञ्चनपुर । महिला सशक्तिकरणको आवाज बुलन्द गर्दै आएकी कृष्णपुर नगरपालिका–६ सिंहपुरकी ३२ वर्षीया गीता चौधरी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेकी छिन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यमा उनी सबैभन्दा कान्छी सदस्य हुन् । निकै आरोह–अवरोह पार गर्दै चौधरी प्रदेशसभामा पुगेकी हुन् ।

गाउँको महिला समूहमा आबद्ध भएर छलफल र बहस गर्दागर्दै उनी समाजको नेतृत्व गर्ने तहमा पुगिन्, त्यही पृष्ठभूमिमा उनी अहिले कानून निर्माणको तहमा पुगेकी छिन् । महिलाहरूको समूहमा रकम बचत गर्ने कार्यसँगै छलफलमा उनी सक्रियरूपमा भाग लिन्थिन् । त्यही समूहको छलफलमा बोल्ने कार्यले नेता बनाएको उनी सुनाउँछिन् ।
“समूहमा महिला सशक्तीकरणका लागि छलफल हुँदा निकै गहनरूपमा सुन्थेँ”, उनले भनिन्, “आफ्ना विचार राख्थेँ, अधिकारका लागि अग्रपङ्क्तिमा रहेर कार्य गर्न थालेँ, त्यसपछि नेतृत्व विकास हुँदै गयो ।”

‘राजनीतिमा पुरुषको दाँजोमा महिला प्रतिनिधित्व कम भए पनि महिलाले मौका पाउन थालेका छन् । तर यतिमात्रै पर्याप्त होइन । आधा आकाश ढाँक्ने महिलाको शशक्तिकरणकालागि अझै धेरै महिलाहरू नेतृत्वमा आउनैपर्छ ।’

प्रदेशसभामा निर्वाचित भएपछि पनि समूहको बैठकमा जान भने उनले छोडेकी छैनन् । समय मिले समूहको बैठकमा भाग लिन नछुटाउने गरेको उनी बताउँछिन् । प्रदेशसभा सदस्य भइसक्दासमेत उनी अहिले पनि गाउँको महिला समूहमा आबद्ध छिन् । पहिला समूहमा रु २० महिलाले बचत गर्थे, अहिले रु एक सय बचत गर्छन् ।

“पहिला सडक मर्मत, महिला सशक्तीकरण, तालिम र रकम बचत गर्नेबारे समूहमा छलफल हुन्थ्यो”, उनले भनिन्, “हाल व्यावसायिक खेतीलाई अगाडि बढाउने, बजार व्यवस्थापन, घरबास सञ्चालनबारे बहस हुने गरेको छ, आफैँ प्रदेश सदस्य भएपछि समूहमा आबद्ध महिलाले निकै ठूलो आशा राखेर बजेट व्यवस्थापनको कुरा उठाउने गरेका छन् ।”

समूहमा आबद्ध भएर कृष्णपुर गाउँ विकास समितिदेखि अहिलेको कृष्णपुर नगरपालिका हुँदासम्म महिला अधिकारका लागि स्थानीय तहमा पुगेर कुरा उठाउँदा उठाउँदै नेता भएको उनको भनाइ छ ।

“पुरुषको दाँजोमा महिलाको साक्षरता दर निकै कम थियो, समूहकै पहलमा गाउँमा अनौपचारिक शिक्षाका कक्षा सञ्चालन गर्ने प्रबन्ध मिलाइएपछि लेखपढ गर्न नसक्ने महिलालाई साक्षर गरायौँ”, उनले भनिन्, “अहिले गाउँका महिला साधारण लेखपढन गर्न सक्षम छन्, अधिकारका लागि आफैँ नगरपालिकासम्म पुग्छन् ।”

समूहमा आबद्ध महिला अहिले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । घरबास सञ्चालन गर्ने तयारीमा जुटेका छन् । सामाजिक कार्यमा अग्रर भएर महिलाले अहिले पनि भाग लिने गरेका छन् । समूहमा आबद्ध भएसँगै उनले आफैँले पढेको महाकाली माध्यमिक विद्यालयमा रु एक हजार पाँच सय तलब पाउने गरी छ वर्ष अध्यापनको कार्यसमेत गरेकी थिइन् ।

सिंहपुर सामुदायिक वनमा दुई वर्ष कर्मचारी, गाउँको क्लबमा सचिव र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धानजोन कार्यक्रममा उपाध्यक्ष भएर काम गरेको अनुभव चौधरीसँग छ । गाउँको एसलसी परीक्षा उत्तीर्ण गर्ने छात्रामा उनी पहिलो हुन् । अहिले उनले स्नातकोत्तरसम्मको पढाइ पूरा गरेकी छिन् । “बोल्ने कार्य समूहमै सिकेको हो, बाजे प्रधानपञ्च हुनुहुन्थ्यो”, उनले भनिन् “बुवाले दुईपटक वडाध्यक्ष भएर काम गरेका थिए, घरमै राजनीतिक माहोल थियो, त्यसकै प्रभावले पनि समाजको नेतृत्व गर्न प्रेरित गर्‍यो ।”

महिला समूह र सामाजिक क्षेत्रमा क्रियाशील रहेकै बेला तत्कालीन नेकपा (माओवादी)मा आबद्ध भएर उनले वाइसीएलको जिल्ला उपाध्यक्ष भएर काम गर्ने अवसर पनि प्राप्त गरिन् । वाइसीएल छाडेर विसं २०७४ मा नेपाली कांग्रेसमा आबद्ध भइन् ।

प्रदेशसभामा समानुपातिकतर्फको उम्मेदवार भए पनि चुनावमा सफलता हासिल गर्न सकिनन् । पार्टीले विसं २०७९ को प्रदेशसभाको चुनावमा पुनः उनीलाई समानुपातिकतर्फ उम्मेदवार बनायो । उनी यसपटक भने विजयी भएकी हुन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने मौका पाएकी हुन् । महिलालाई राजनीतिमा लागेमा विगतको जस्तो हेर्ने दृष्टिकोण अहिले नभएको उनी बताउँछिन् ।

“समाज परिवर्तन हुँदै जाँदा राजनीतिमा लागेका महिलालाई हर्ने दृष्टिकोण सकारात्मक रहेको छ”, उनले भनिन्, “राजनीतिमा पुरुषको दाँजोमा महिला प्रतिनिधित्व कम भए पनि मौका भने पहिलेको तुलनामा बढी पाइन थालेको छ, आधा आकाश ढाक्ने महिलाले अधिकारसम्पन्न हुन नेतृत्वमा आउनैपर्ने हुन्छ ।”

चुनावी घोषणापत्रमा लेखिएका कुरा अक्षरसः पालना गर्न प्रतिबद्ध रहेको उनी बताउँछिन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र कृषिलाई अगाडि बढाउन प्रयासरत रहने उनले बताइन् । विशेष योजनाका रूपमा उनले शिक्षालाई अगाडि सारिन् । “शिक्षाको गुणस्तरमा सुधार नहुँदासम्म समाजलाई परिवर्तन गर्न सकिँदैन”, उनले भनिन् “निजी र सरकारी विद्यालयको भिन्नता हटाउनका लागि काम अगाडि बढाउँछु, सामुदायिक विद्यालयलाई अङ्ग्रजी माध्यममा लैजानका लागि योजनाबद्धरूपमा अगाडि बढ्छु, त्यसका लागि प्रदेशसभामा निरन्तर आवाज उठाउँछु, योजना ल्याउन बाध्य पार्छु ।”

तपाईको प्रतिक्रिया