सिरहा । सिरहामा गाउँपालिका अध्यक्षले जातीय छुवाछुतलाई संस्थागत गर्ने गरी घरैमा भोज आयोजना गरेर भेदभाव गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

यहाँको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले २२ फागुनमा आफ्नी आमाको १३ औँ दिनको तिथिमा आयोजित भोजमा जात विभाजननै गरेर भोजको व्यवस्थापन गराएका थिए । नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका यादव एमाले सिरहाका सचिव समेत हुन् ।

त्यसो त गाउँपालिका अध्यक्ष यादवले सार्वजनिकरुपमा माफी नै मागिसकेका छन् । तर उनले आफैँले गरेको गल्ती ढाकछोप गर्ने गरी माफीको नाटक गरेपछि दलित समुदाय झन् आक्रोसित बनेको छ । सिरहासहित मधेश प्रदेश र देशभरिबाट गाउँपालिका अध्यक्ष यादवलाई कारबाहीको माग भइरहेको छ ।

पर्सामा क्रियाशील ‘पीस फर दलित फाउण्डेशन’ का अध्यक्ष मनोज रामले गाउँपालिका अध्यक्ष यादवलाई कानूनबमोजिम कारबाहीकालागि माग गरिएको बताए । भोजमा पुर्वमन्त्री, वहालवाला प्रदेश मन्त्री, संघीय तथा प्रदेश सांसद, जिल्लाका प्रशासनिक निकायका प्रमुखहरु सहभागी थिए । भोजमा गाउँपालिका अध्यक्षले गरेको व्यवस्थापनमा सबै रमिते रहे ।

अध्यक्ष रामले जिल्लाका प्रशासनिक प्रमुखहरु समेत सहभागी भएर गरिएको भोजले जातीय छुवाछुतलाई थप स‌ंस्थागत गर्न मद्दत पुगेको दाबी गरे ।

‘सबै अन्जान बन्न खोजेका छन् । तर गाउँपालिका अध्यक्षजस्तो व्यक्तिबाट जातीय आधारमा भेदभाव हुने गरी भोज आयोजना गरेर यसलाई थप संस्थागत गर्न प्रयास भएको छ, त्यसमा जिल्लाका सार्वजनिक निकायका प्रमुखहरु नै साक्षी बनेका छन्,’ उनले भने ।

अधिकारकर्मीहरुले संविधानको भावना र व्यवस्थाबमोजिम गाउँपालिका अध्यक्षसहित दोषीहरुलाई कारबाहीकालागि माग गरेका छन् ।

यसअघि अधिकारवादी संघसंस्थाले सिरहामा प्रदर्शन गरेका थिए भने दर्जनौँ संघसंगठनहरुले विज्ञप्ति निकालेर भत्र्सना गरेका थिए ।

तपाईको प्रतिक्रिया