काठमाडौं । नेपाल प्रहरीको प्रमुख अर्थात‍् प्रहरी महानिरीक्षक बनेर नेतृत्व गर्ने अवसर अहिलेसम्म महिलाले पाएका छैनन् । क्षमता र योग्यता नभएकै कारण महिलाले त्यो अवसर पाएनन् ? वा महिलालाई हेर्ने पुरुषवादी सोचले उनीहरुलाई त्यस्तो भूमिकामा पुग्नबाट रोकिरह्यो ? यसको जवाफ गहन खोज र अनुसन्धानबाटै मिल्ला । तर प्रहरी स‌ंगठनको लामो इतिहासमै पहिलो पटक प्रहरी महानिरीक्षक बन्ने दौडमा महिला पनि समावेश भएकी छिन् ।

वर्तमान सरकारलाई महिलालाई प्रहरी स‌गठनको नेतृत्वमा पुर्‍याउने अवसर छ ।

सरकारले सोमबार नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गरेको छ । उनीहरु पाँचमध्ये एक जना अबको एक/डेढ साताभित्रै नेपाल प्रहरीको महानिरीक्षक बन्ने निश्चित छ । सोमबारको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।

जबकि हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतमा अवकाश हुँदैछन् । ३० वर्षे सेवा अवधिका कारण उनीसहित उनको ब्याचका सबै प्रहरी अधिकारीहरु सेवा निवृत्त हुनेछन् ।

यसपछि प्रहरी महानिरीक्षक बन्ने अहिले एआइजीमा बढुवा भएका पाँच जनामध्ये बाटै हो । एआइजी बढुवामा पाँचौँ नम्बरमा रहेकी एआइजी बज्राचार्य अब महानिरीक्षककी दाबेदार बनेकी हुन् ।

प्रहरीमा महानिरीक्षक बन्ने दौडसम्म पुग्ने उनी नै पहिलो महिला हुन् ।

यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ डा. आशा सिंह तथा प्रशासनतर्फ पूजा सिंह एआईजीमा बढुवा भएका थिए । उनीहरु दुवै प्रहरी प्रमुख बन्ने गरी समूहगत बढुवामा परेनन् ।

प्रहरी नियमावलीमा सरकारले चाहेको एआईजी र डीआईजीबाट प्रहरी प्रमुख चयन गर्न पाउने व्यवस्था छ। वज्राचार्य आईजीपी बनेको अवस्थामा नेपाल प्रहरीमा पहिलो महिला महानिरीक्षक बन्नेछिन् ।

प्रहरीमा अहिलेसम्म २९ जना आइजीपी फेरिएका छन् । अहिलेसम्मका सबै प्रहरी महानिरीक्षक पुरुष नै थिए ।

अब सरकारले नेपाल प्रहरीको १०८औँ ब्याचबाट ३०औँ प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ। प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाएर उमेर हद तथा पदअनुसारको कार्यकाल कायम गर्नेबारे गृह मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालय र कानुन मन्त्रालयले स्वीकृति दिइसकेकाले यो प्रावधान हट्न सक्ने सम्भावना पनि रहेको प्रहरीको उच्च स्रोतले दाबी गरेको छ।

निजामती सेवा तथा नेपाली सेनामा समेत ३० वर्षे सेवा हटेको भन्दै प्रहरीमा समेत यसलाई हटाउने विभिन्न प्रयास भइरहेका छन्।

गृह मन्त्रालयले तयार पारेको प्रस्तावमा सेवा अवधिलाई हटाएर प्रहरी महानिरीक्षकको पदावधि तीन वर्ष तथा उमेर हद ५७ वर्ष कायम गरिएको छ। त्यसैगरी एआईजी र एसएसपीको अवकाशको अवधि ५६ वर्ष, एसपीको ५५ वर्ष, प्रहरी नायब उपरीक्षकको ५४ वर्ष, सिपाहीको ५१ वर्ष पु-याइएको छ। उमेर हदसम्बन्धी प्रावधान हटेमा वर्तमान आईजीपी धीरजप्रताप सिंहकै कार्यकाल थपिनेछ।

यही प्रावधान कायम रहे सोमबार बढुवा हुनुभएका पाँच जनामध्येबाट एक जना छ दिनपछि अर्थात् यही चैत ११ गते आईजीपी नियुक्त हुनेछन्। प्रहरी नियमावली, २०७१ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व वहन गर्ने क्षमता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा सरकारले उपयुक्त ठानेको जोसुकै एआईजीबाट समेत आईजीपी नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया