काठमाडौँ । मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित एक्लो सांसद हुन्, सीता गुरुङ।
कांगेरेसबाट ५ जना चुनाव लडेकामा सुजाता कोइराला, डीना उपाध्याय, चित्रलेखा यादव र पुष्पा भूसाल पराजित भए। तेह्रथुमकी गुरुङले जितेर रेकर्ड राखिन्। उनै गुरुङ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहरी विकासमन्त्री बनेकी छन्। गुरुङले पहाडी जिल्ला तेह्रथुमबाट दोस्रो प्रयासमा प्रत्यक्ष चुनाव जितेकी हुन्।
अघिल्लो निर्वाचनमा एमालेका भवानी खापुङसँग पराजित भएकी गुरुङसँग यसपटक एमालेकै विजय सुब्बाले हार बेहोरेका थिए।
को हुन् गुरुङ?
गुरुङ तेह्रथुमको आठराई गाउँपालिका– ४ इवामा २०३४ सालमा भएको थियो। सामान्य परिवारमा जन्मिएकी गुरुङ विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय भइन्।
२०४६ सालमा राजनीति शुरू गरेकी उनी २०४८ सालमा नेविसंघको जिल्ला सचिव भइन्। २०५४ सालमा तरुण दलको जिल्ला कोषाध्यक्ष बनिन्। २०५७ सालमा नेपाल महिला संघको जिल्ला सभापति, २०५८ सालमा केन्द्रीय सदस्य र २०६० सालमा केन्द्रीय सचिव बनिन्।
त्यसपछि २०६२ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा २०६७ सालको महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भइन्। त्यसयता गुरुङ निरन्तर केन्द्रीय सदस्य छिन्। पार्टीमा सभापति देउवासँग निकट गुरुङले पार्टीको आदिवासी जनजाति विभागको प्रमुख भएरसमेत काम गरिसकेकी छन्।
यस्तै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। २०६४ र २०७० मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य थिइन्। पहिलो संविधानसभामा हुँदा राज्यको शासकीय स्वरूप निर्धारण समिति सदस्य, अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिको सदस्य भएर काम गरिन्।
यस्तै दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिको सदस्य र राज्य व्यवस्था समितिको सदस्य भएर उनले काम गरिन्। उनी ०७४ मा देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी थिइन्। गुरुङले जिल्लामा विकासप्रेमी नेताको छवी बनाएकी छन्।
अब उनको परीक्षा सहरी विकासमन्त्रीका रूपमा हुने छ।