काठमाडौं । सरकारले निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गर्दै आएको छ।
यस वर्षको सम्मानका लागि संघीय मन्त्रालय तथा मातहतका कार्यालयहरूबाट वैशाख १३ गतेभित्र उपलब्ध हुने गरी सिफारिस मागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
निजामती नियमावली-२०५० ले गरेको व्यवस्थाअनुसार सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार गरी ४१ जनालाई यो पुरस्कार दिइन्छ। निजामती सेवामा यो पुरस्कारको निकै अर्थ हुने गर्छ।
‘यति ठूलो निजामती सेवामा उत्कृष्ट काम भयो भनेर पुरस्कार पाउनु गौरवको कुरा हुन्छ। हाम्रो प्रतिष्ठा र वृत्ति विकाससँग पनि जोडिएको हुन्छ,’ प्रधानमन्त्री कार्यालयका एक उपसचिवले भने।
सर्वप्रथम २०१३ सालमा निजामती सेवा ऐन जारी भएको दिन (भदौ २२) को सम्झनामा २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको छ। यसै दिन कर्मचारीहरूको प्रोत्साहनका लागि पुरस्कार दिइने व्यवस्था छ।
सर्वोत्कृष्ट हुने कर्मचारीका लागि २ लाख रूपैयाँ पुरस्कारको व्यवस्था छ। सर्वोत्कृष्ट कर्मचारी सम्पूर्ण निजामती कर्मचारीबाट एक जना हुने छ।
उत्कृष्ट कर्मचारीलाई एक लाख रूपैयाँ पुरस्कार दिइन्छ। यस्तो पुरस्कार १० जनासम्मलाई दिने व्यवस्था छ।
तीस जना कर्मचारीलाई निजामती सेवा पुरस्कार दिने व्यवस्था छ। यस्तो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहने संघीय मन्त्रालयले जानकारी गराएको छ।\
कस्तो कर्मचारी पर्छ सर्वोत्कृष्ट
निजामती सेवा नियमावलीले सर्वोत्कृष्ट कर्मचारी बन्न न्यूनतम आधारहरू तय गरेको छ।
जसअनुसार:
- निजामती सेवाका स्थायी पदमा पन्ध्र वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको।
- पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको।
- पछिल्लो पन्ध्र वर्षमा कुनै पनि विभागीय सजाय नपाएको।
- पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरूजु कायम नदेखिएको।
- सम्पत्ति विवरण नियमित रूपमा पेस गरेको।
- असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको।
- पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको।
- पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको।
- व्यवस्थापन परीक्षण भएकामा पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरूजु नदेखिएको।
- प्रचलित कानुन बमोजिम बरबुझारथ गरेको।
त्यस्तै उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि न्यूनतम १० मापदण्ड छन्।
जसअनुसार:
- निजामती सेवाको स्थायी पदमा दस वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको।
- पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको।
- पछिल्लो दस वर्षमा कुनै पनि विभागीय सजाय नपाएको।
- पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरूजु कायम नदेखिएको।
- सम्पत्ति विवरण नियमित रूपमा पेस गरेको।
- असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको।
- पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको।
- पछिल्लो तीन वर्षभित्र गयल कट्टीमा नपरेको।
- व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरूजु नदेखिएको।
- प्रचलित कानुन बमोजिम बरबुझारथ गरेको।
५० हजार राशिको निजामती सेवा पुरस्कारका लागि ११ मापदण्ड तय गरिएको छ।
- निजामती सेवाको स्थायी पदमा पाँच वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको।
- पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको।
- पछिल्लो पाँच वर्षमा कुनै पनि विभागीय सजाय नपाएको।
- पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरूजु कायम नदेखिएको।
- सम्पत्ति विवरण नियमित रूपमा पेस गरेको।
- असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको।
- पुरस्कार पाउने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको।
- पछिल्लो दुई वर्षमा गयल कट्टीमा नपरेको।
- व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरूजु नदेखिएको।
- प्रचलित कानुन बमोजिम बरबुझारथ गरेको।
- सिफारिस गरेको समयमा कनै अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्न वा काजमा गएको।
हरेक मन्त्रालय तथा मातहतका कार्यहरूबाट आएको सिफारिसका आधारमा कर्मचारीहरू छनोट गरिने संघीय मन्त्रालयले जनाएको छ।
मुख्य सचिवको अध्यक्षतामा रहेको समितिले उल्लेखित मापदण्डका आधारमा सिफारिस भएका नाममध्ये उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गरिएको छ।