तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुमको भवन निर्माण सुरू भएको छ । जिल्लाबाट निर्वाचित सांसद एवम् शहरी विकासमन्त्री सीता गुरुङले शुक्रबार एक कार्यक्रमकाबीच सदरमुकाम म्याङलुङ्गमा बन्ने भवनको शिलान्यास गरेकी हुन् ।

भवन शहरी विकास मन्त्रालयअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले बनाउन लागेको हो ।

जिल्ला अस्पतालको सुविधासम्पन्न भवन नहुँदा अस्पतालको सेवा विस्तार तथा गुणस्तर वृद्धिकालागि समस्या हुँदै आएको छ । जिल्लाबासीको माग र आवश्यकताबमोजिम जिल्ला अस्पतालका लागि ५० शैयाको भवन निर्माण सुरू भएको मन्त्री गुरुङले बताइन् ।

मन्त्री गुरुङले निर्माणका काममा ढिला सुस्ती हुने गरेको भन्दै समयमै निर्माण सम्पन्न हुने गरी काम गर्न निर्देशन दिइन् । उनले आगामी तीन वर्षभित्र पूरा हुने गरी भवन निर्माण प्रारम्भ भएको बताइन् ।

२०८२ साल फागुनभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु भएको भवन निर्माण आयोजना धनकुटाका प्रमुख इन्जिनियर रञ्जन दासले जानकारी दिए ।

उनकाअनुसार भवनको लागत करिब ३० करोड छ । भवन निर्माणको जिम्मा भने हिमालयन तेन्जिङ जेभीले पाएको छ ।

तपाईको प्रतिक्रिया