घाँटी खसखस गर्ने समस्या जोकोहीले भोगेकै हुन्छन् । बढ्दो प्रदूषण र मौसमी फेरबदलका कारण घाँटीमा खसखस गर्ने समस्याले धेरैलाई सताएको पाइन्छ । वायु प्रदूषणका कारण धुलो हाम्रो शरीरभित्र प्रवेश गर्छ र त्यसलाई शरीरले ग्रहण गर्न नसक्दा एलर्जी हुन्छ । जसकारण घाँटी खसखस गर्न थाल्छ ।

एलर्जी हुँदा घाँटी खसखस गर्दै, चिलाए जस्तो हुने हुँदै लगातार खोकी समेत आउन सक्छ । जसले घाँटी, नाक र श्वासनलीको कोषलाई असर गर्छ । प्रदूषणले सीओपीडी, दम तथा मुटु भएकोमा स्वास्थ्य समस्या पनि ल्याउन सक्छ ।

यो समस्या आफैंमा रोग होइन

घाँटी खसखस गर्नु कुनै रोग भने होइन । तर धेरै रोगको सुरुवाती लक्षण भने हुन सक्छ । प्रदूषणले गराउने एलर्जी बाहेक घाँटी खसखस गर्ने विभिन्न कारण हुन्छन् । यो सामान्य स्वास्थ्य समस्यादेखि जटिल रोगको संकेत पनि हुन सक्छ ।

जाँडरक्सी, चुरोट, चिसो खानेकुरा र धेरै मात्रामा चिल्लो पिरो खाँदा पनि घाँटीमा खसखस हुन सक्छ । घाँटीको किलकिलेको पछाडिको भागमा सुन्निने र त्यसको वरिपरि टन्सिलाइटिस हुँदा पनि खसखस हुन्छ । क्रोनिक साइनोसाइटिस जसमा नाकमा पिनास हुने व्यक्तिमा नाकबाट तरल पदार्थ बग्दै घाँटीतर्फ आउने हुँदा पनि त्यसले घाँटीमा खसखस हुन सक्छ ।

पाचनप्रणालीमा समस्या हुँदा मुखमा अमिलो पानी आइरहने बिरामी, ग्यास्ट्रिकको समस्या हुनेलाई पनि घाँटी खसखस हुन्छ । कहिलेकाहीं कुनै शारीरिक समस्या नभएका तर मानसिक तनाव हुँदा पनि यस्तो समस्या हुन्छ ।

उच्च रक्तचापको औषधि लामो समयसम्म खाने व्यक्तिमा पनि घाँटी खसखस गर्न सक्छ । पिनास, खानानलीमा ट्युमर हुँदा, घाँटीमा क्यान्सर हुँदा घाँटी खसखस गर्छ ।

परीक्षण

घाँटी खसखस गर्ने एउटा मात्र कारण नहुने भएकाले लक्षण अनुसार परीक्षण गरेर मात्र रोगको एकिन गर्न सकिन्छ । खसखस हुनुको कारण थाहा पाउन इण्डोस्कोपी गरेर हेरिन्छ । कसैमा एलर्जी हुँदै पिनास हुन सक्छ, त्यसको पनि जाँच गरिन्छ । कतिपय अवस्थामा फङ्गस इन्फेक्सनको कारण पनि घाँटी खसखस गर्ने हुँदा त्यो पत्ता लगाउन सिटीस्क्यान गरेर हेर्ने गरिन्छ । परीक्षण गर्दा कुनै पनि कारण पत्ता नलागेको खण्डमा मनोपरार्शदातासँग परामर्श लिनुपर्छ ।

उपचार

कहिलेकाहीं घाँटी खसखस गरेको एक–दुई दिनमा आफैं ठीक हुन्छ, तर लामो समयसम्म घाँटी खसखस गरेर दुखिरहेको छ भने चिकित्सकलाई देखाएर उपचार गर्नुपर्छ ।

ग्यास्ट्रिकको कारणले घाँटी खसखस गरेको भए ग्यास्ट्रिककै उपचार आवश्यक हुन्छ । एलर्जीको कारणले हो भने त्यसैको उपचार गर्नुपर्ने हुन्छ । यसमा ध्यान दिनुपर्ने कुरा के हो भने क्षणिक रुपमा खाइने औषधिले शरीरमा रोग निम्त्याउने, रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले जथाभावी रुपमा औषधि किनेर खानु हुँदैन ।

सुरुवाती अवस्थामै यसको उपचार नगरेको खण्डमा दम, ब्रोङकाइटिस, निमोनिया, फोक्सोमा समस्या देखिन सक्छ ।

बच्ने उपाय

घाँटी खसखस गर्ने समस्याबाट बच्न वरपरको वातावरण र खानेकुरामा विशेष ख्याल राख्नुपर्छ । प्रदूषित ठाउँमा धेरै नबस्ने, बस्नुपर्ने अवस्थामा मास्कको प्रयोग गर्नुपर्छ । घाँटी खसखस गर्दा मनतातो पानीले कुल्ला गर्दा अलि कम हुन सक्छ ।

भाइरल संक्रमण भएका व्यक्तिको वरपर नजाने, धुम्रपान र मदिरा नगर्ने, चिल्लो, पिरो धेरै नखाने, फ्रिजमा राखिएको फलफूल वा जुस कम खाने गर्दा पनि यो समस्या कम हुँदै जान्छ ।

एलर्जी भइराख्ने बिरामी र अमिलो पानी घाँटीमा पुग्दा अमिलो डकार आउनेजस्ता कारणले पनि घाँटी खसखस हुन सक्छ । यसको लागि ग्यास्ट्रिकसम्बन्धी विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया