तेह्रथुम । मदनस्मृति फुटबल प्रतियोगिताको उपाधि फोम्बो आवाजुङ कल्याणकारी समाज खाम्लालुङले जितेको छ ।
मदन मेला २०८० को अवसरमा आठराई गाउँपालिकाले आयोजना गरेको मदनस्मृति खुला पुरुष फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको फाइनल खेलमा फोम्बो समाजले साविक विजेता गिरी समाजलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि चुमेको हो ।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । पहिलो हाफको ३८औँ मिनेटमा फोम्बो समाजका प्रदिप फोम्बोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, फोम्बो समाज अन्तिम २० सेकेण्ड सम्हालिन नसक्दा गिरी समाजले बराबरी गोल गर्यो । गिरी समाजका लागि इन्जुरी समयमा जमिन लिम्बूले गोल गरेका थिए ।
बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा फोम्बो समाजले गिरी समाजलाई ५-३ गोलअन्तरले पराजित गर्दै उपाधिमा कब्जा जमायो । गिरी समाजका लागि रोशन आङ्देम्बे, सन्तोष लिम्बू र विशाल भण्डारीको प्रहारमात्र गोलमा परिणत भयो भने कृतिक लिम्बूको प्रहार फोम्बो समाजका गोलरक्षक विपिन फोम्बोले रोकेका थिए ।
फोम्बो समाजका लागि सुशिल राई, समिर तामाङ, निरोज लिङदेन, प्रदिप फोम्बो र सुनिल चोङबाङको प्रहार गोलमा परिणत भएको थियो । विजेता फोम्बो समाजले जितसँगै नगद २ लाख, रनिङ शिल्ड र आकर्षक ट्रफी पाएको छ भने उपविजेता टोली गिरी समाजले नगद १ लाख ३० हजार र ट्रफीमा चित्त बुझायो ।
विजेता तथा उपविजेता टोलीलाई आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, उपाध्यक्ष बलिराज इङनाम, वडाध्यक्ष तथा पालिका सदस्यहरुले पुरस्कार प्रदान गरेका थिए ।