काठमाडौं । शहरी विकासमन्त्री सीता गुरूङले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले आवश्यक सहजीकरण गरिरहेको बताएकी छिन् । मंगलबार बञ्चरेडाँडा ल्याण्डफिल साइटको स्थलगत निरीक्षणपछि मन्त्री गुरूङले फोहोर व्यवस्थापन र त्यसका कारण देखिएका समस्याहरू समाधानका लागि सरकार प्रयासरत रहेको बताइन् ।
शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सो आयोजनाका प्रमुख र इन्जिनियरहरूसहित बञ्चरेडाँडा क्षेत्रको स्थलगत निरीक्षण र अवलोकन गरेकी मन्त्री गुरूङले आयोजना निर्माणको अवस्था र फोहोर व्यवस्थापनमा देखिएका समस्याहरूबारे जानकारी लिएकी थिइन् । त्यसक्रममा त्यहाँका स्थानीयबासीहरूसँग समेत फोहोर विसर्जनका कारण देखिएका समस्याहरूबारे मन्त्री गुरूङले कुराकानी गरेकी थिइन् ।
निरीक्षणपछि मन्त्री गुरूङले फोहोर व्यवस्थापनलाई सहज बनाउन तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरू बनाएर काम अघि बढाउन आयोजना प्रमुखलगायत सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी छिन् ।
‘फोहोर व्यवस्थापन स्थानीय सरकारको दायित्व भित्रको कुरा हो । तर काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकारले पनि चासो र सहजीकरण राख्दै आएको छ,’ उनले भनिन्, ‘यहाँ ल्याण्डफिल साइट र फोहोर व्यवस्थापनकै कारण देखिएका समस्याहरूको समाधानकालागि योजनाहरू बनाएर काम अघि बढाऔँ । यसमा प्रधानमन्त्रीज्यूसमेतको विशेष चासो छ ।’
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्दै आएको छ । तर ल्याण्डफिल साइट क्षेत्रमा फोहोरको उपयुक्त व्यवस्थापन नहुँदा वरपरका बासिन्दामा देखिएका समस्याहरूका कारण पटक पटक फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको छ । आगामी दिनमा त्यस्ता समस्याहरू आउन नदिन मन्त्री गुरूङले सजग गराएकी छिन् ।
यहाँको ल्याण्डफिल साइट भने शहरी विकास मन्त्रालयले निर्माण गरेको हो । यसअघि फोहोर व्यवस्थापनकै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा विषयगत मन्त्रीहरू, सो क्षेत्रका सांसदहरू र सरोकारवालासहितको बैठक बसेको थियो । सो बैठकले फोहोर व्यवस्थापनमा देखिएका समस्याहरूको दिर्घकालिन समाधानको पहल गर्ने निर्णय गरेको थियो ।