विराटनगर । कोशी प्रदेशको भोतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशमा भइरहेको विकास निर्माणको प्रगति एवम् त्यसमा देखिएका समस्या विषयमा मंगलबार सरोकारवालासँग छलफल गरेको छ । मन्त्रालयले आफ्नो मातहतमा रहेको भौतिक पूर्वाधार तथा सहरी विकास भवन कार्यालयका प्रमुखहरुसँग मंगलबार विराटनगरस्थित मन्त्रालयमा छलफल गर्दै कामको प्रगति, समस्या र समाधानका उपायहरुबारे समीक्षा गरेको हो ।

मन्त्रालयले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको भौतिक एवं आर्थिक प्रगतिको समीक्षा गर्दै अब बाँकी रहेको समयमा कसरी प्रभावकारी खर्च गर्ने भन्नेबारे कार्ययोजनासमेत यत गरेको छ । कार्यक्रममा उपस्थित प्रदेशमा रहेका सात वटा भौतिक पूर्वाधार कार्यालय तथा सहरी विकास भवन कार्यालयका प्रमुखहरुले भौतिक पूर्वाधर विकासमन्त्री दुर्गाप्रसाद चापागाईं समक्ष कामको प्रगति र समस्याबारे जनाकारी गराएका थिए ।

प्रगति र समस्याहरुबारे सुनेपछि मन्त्री चापागाईंले वर्षायाम सुरु भएकाले निर्धारित आयोजनाहरु समयमा नै सम्पन्न गर्नेतर्फ जोड दिन निर्देशन दिए । उनले कार्यालय प्रमुखहरुबाट प्राप्त सुझावहरुको कार्यान्वयनमा आफू गम्भीर रहेको भन्दै अहिले देखिएका समस्याहरुको समाधानका लागि सरकार गम्भीर रहेको बताए ।

मन्त्रालयका सचिव मोहनराज चापागाईले मन्त्रालयले विकास निर्माणका योजनाहरुलाई महत्व दिएकाले योजनाहरु समयमा पुरा हुनुपर्नेमा जोड दिए भने महाशाखा प्रमुख रेवतीरमण पराजुलीले मन्त्रालयले गरिरहेको कामको बारेमा कार्यक्रममा जानकारी गराएका थिए ।

कार्यक्रममा भौतिक पूर्वाधार कार्यालय मोरङका प्रमुख सुशिल श्रेष्ठले जिल्लामा अहिले सम्म ४२ किलोमिटर सडक विस्तार गर्दै कालोपत्रे गर्ने कार्य सम्पन्न भएको जानकारी गराए । त्यस्तै कार्यालयले ३४ किलोमिटर सडक ग्रावेल ५ वटा पक्कि पुल तथा ९ वटा झुलुंगे पुलको निर्माण कार्य सम्पन्न भएको बताए ।

भौतिक पूर्वाधार कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले भौतिक तथा वित्तिय प्रगती सन्तोषजनक रहेको भन्दै कतिपय योजनाहरु सम्पन्न हुदा पनि भुक्तानी गर्न वजेटको समस्या हुने गरेको बताए । कतिपय योजनाहरु सम्पन्न भएपनि निर्माण कम्पनिलाई वजेटको अभावमा भुक्तानी दिन नसकेको उनको गुनासो थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार कार्यालय उदयपुरका प्रमुख गंगासागर यादव, भौतिक पूर्वाधार कार्यालय भोजपुरका प्रमुख राजेश्वर महत्तो लगायतले बजेटको अभाव कर्मचारी तथा कर्मचारीको समय अगावै सरुवा, निर्माण कम्पनिहरुले समयमा काम सम्पन्न नगर्दा समस्या हुने गरेको गुनासो गरे ।

तपाईको प्रतिक्रिया