‘हरेक पटक मैदानमा स्पाइक हान्दा जुन ताली बज्छ नि! त्यसैले मलाई तानिरह्यो। र नै भलिबलमा नयाँ अवसरको खोजी गरिरहेँ।’
काठमाडौं । अस्ताउँदो बसन्त ऋतुको हावाले ज्याकारान्डाका फुल झरेर भुइँमा विछ्याइएझैं भएका छन्। ति फुललाई पिरा बनाएर थचक्क बसिन् निरुता। हुन पनि तीन घण्टाको दैनिक भलिबल अभ्यासले उनलाई गलाउँदो हो। थाकाउँदो हो।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अभ्यास सकिँदा जर्सी निथ्रुक्क भिजेको हुन्छ। तर, ‘ड्रेस चेन्ज’ गर्न त्यहाँ कोठै छैन्। अनुहारमा रुमाल चलाउँदै बाहिर निश्किन्छिन उनी।
यति दुःख गरेर किन खेल्नुपर्यो ? यो प्रश्न गर्ने हो भने, जवाफमा हजारौं कारण पेश गर्न सक्छिन उनी। किनभने निरुता ठगुन्नाको लागि के होइन भलिबल ? भन्न गाह्रोे छ।
‘भलिबल त सबथोक हो। ‘लाइक एभ्रिथिङ आइ ह्याभ गट,’ उनी भन्छिन्।
निरुताको जीवन अनुभव गर्ने हो भने पक्कै थाहा हुन्छ कि, भलिबल उनको सपना हो। इख हो। परिवारविरुद्धको क्रान्ति र विद्रोह हो। पीडा हो। संघर्ष हो। अनि पसिना हो।
उनको लागि भलिबल पुनर्जीवन पनि हो। आफैंभित्रको द्वन्द्वको नतिजा हो। जीवनमा आफैँले बनाएको राजमार्ग हो। पाएको मानसम्मान हो। अहिले उनका लागि परिचय बनाउन २६० ग्रामको भलिबल पर्याप्त छ, त्यसैभित्र अटाएको छ उनको परिचय।
सुदूरपश्चिमको उत्तरी कुना नौगाड गाउँबाट सुरु भएको उनको संघर्ष त्यही ‘हाते भकुन्डो’मा रमाउनका लागि थियो। आज घरबाट उनी सयौं किलोमिटर टाढा छिन्, कारण- भलिबल। भलिबलबाट सुरु भएर भलिबलमा निरन्तर छ उनको जीवनयात्रा।
काठमाडौंबाट दुई दिन लाग्छ उनको घर पुग्न। धनगढी नजिकैको अत्तयरिया बजारबाट उकालो लागेपछि अमगरगढी, कटौजपानी, चौसेरा हुँदै १० घण्टाको बसयात्रामा पुगिन्छ गोकुलेश्वर। त्यहाँबाट पनि एक घण्टा बसयात्री बनेपछि पुगिन्छ नौगडस्थित उनको घर।
‘अहिले चाहिँ गाडिबाट झर्दा आगनमै पुगिन्छ,’ भुँईमा झरेका ज्याकारान्डाका फूल खेलाउँदै निरुता भन्छिन्, ‘२५ वर्षअघि कथा अलि फरक थियो। घर लामो समय पैदल हिँड्न पर्दथ्यो। अहिले घरसम्मै गाडी पुग्छ।’
प्रेम सिंह ठगुन्नाले कान्छी श्रीमतीका रुपमा धनमती देवीलाई विवाह गरेपछि पहिलो सन्तानको रुपमा जन्मिइन् निरुता। धनमतीबाट प्रेमका तीन सन्तान जन्मिए। निरुताको ठूलीआमाबाट दुई सन्तान अघि नै जन्मिएका थिए। निरुताका एक भाई अनि बहिनी छन्। घरमा आठ जनाको परिवार भयो।
नौगाड क्षेत्री, बाउनकै बाहुल्यता छ। डोट्याल भाषा बोलिन्छ। पढ्ने त सामुदायिक विद्यालयमा नै हो। श्री जनहित माध्यमिक विद्यालयमा पढ्दा बाबु प्रेम सिंह त्यहीँका शिक्षक थिए। बाबु शिक्षक भएपछि विद्यालयमा उनले रवाफिलो बाल्यकाल बिताइन्। खेलकुदमा भने उबेलादेखि सौखिन रहिन् उनी। तर प्राथमिक शिक्षा पढ्दाको खास धेरै सम्झना निरुतालाई छैन।
बाल्यकालका धेरै कुरा उनलाई सम्झना छैन। बच्चैबाट उनलाई के चाहिँ सम्झना भयो भने– लुकेर छिपेरै खेल्नुपर्यो। स्कुलले खेलाउने प्रतियोगितामा भने सहभागी बनिदिन्थन्। एथ्लेटिक्स उनको रुची थियो। लगाव पनि त्यसैमा। रनिङ, हाइजम्प र लङजम्पमा उनलाई जित्ने केही थिएनन्। तर शिक्षक प्रेम (बाबु) ‘पढाईमै ध्यान दिनू’ भन्थे। धनमती देवी (आमा)ले त खेल्नै नजान भन्थिन्।
‘खेलेर के हुन्छ। खेलेर को माथि गएको छ हँ? कसले राम्रो गरेको छ भन् त?’ परिवारमा उनलाई सम्झाउने वाक्य हुन्थे यी। यस्तै कुराले खेललाई ध्यान दिन पाइनन्। तर आएका अवसरमा भने पछि हटिनन्।
‘मलाई मनबाट चाहिँ खेल्छु। खेलेर केही बन्छु भन्ने लाग्थ्यो,’ ती दिन सम्झिँदै निरुता भन्छिन्, ‘गाउँलाई नै चिनाउँछु भन्ने हुन्थ्यो।’

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा दैनिक अभ्यास सकिएपछि निरुता। तस्बिरः कबिर महर्जन
भागेर, लुकेर, थाहै नदिई मैदानतर्फ हानिएपछि कसले थाहा पाउने? बाजी राख्ने पैसा चोरेरै भए पनि खेल्न छोड्दिनथिन्। ‘दाइहरुले खेलेर फुटेको बलमा कपडा र कपास हालेर बल बनाएर खेल्थ्यौँ,’ दुई हातले बलको आकार बनाउँदै उनी सुनाउँछिन्, ‘यो चाहिँ ६–७ कक्षामा पढ्दाको कुरा होला।’
उतिबेला परिवारमा कोही खेलकर्मी थिएनन्। न ‘तिमीले राम्रो खेलाडी बन्नुपर्छ’ भनेर बाटो उत्साह दिने कोही थियो। ‘पढ्ने–पढ्ने, जे भए नि पढाईलाई केन्द्रमा राख्ने, क्या! जागिर नगरे पनि ११–१२ चाहिँ कटाउनै पर्छ भन्थे,’ उनी स्कुले जीवनका भोगाई सुनाउँछिन्, ‘मलाई त स्कुलमा खेलेर, जितेर क्षेत्रीय खेल्न जान पनि अनुभति हुन्थेन।’
बच्चैदेखि उनी क्रान्तिकारी स्वभावकी थिइन्। चुलोचौकोविरुद्ध उनको विद्रोह सुरु भाइहाल्थ्यो। झगडा गरेर आफैं जान्थिन्। ‘एऽऽऽऽ, बरु पैसा नदिनू, खाना पनि नदिनू। म जान्छु,’ निरुता जिद्दी गर्थिन् रे। कहिलेकाहीँ भनेर जान्थिन्, त कहिले नभनी। फर्किएपछि गालीको वर्षा।
आँगन नटेक्दै ममीको प्रश्न हुथ्यो- ‘किन गइस्?’
उनीसँग उत्तर हुँदैनथ्यो। निहुरियो, अलिकति आँशु झारिदियो। बस्। बाबुआमाको मन न हो, पग्लिहाल्ने। तर उनी गरिकन नहुने नै थिइन् – सायद छोरालाई जस्तो स्वतन्त्रता नपाउनु उनलाई सह्य भएन। केटा साथीहरुसँगै भए पनि खेल्न गइहाल्थिन्। उनको विद्यालयमा एउटा भलिबल मैदान थियो। भलिबलका सौखिन थुप्रै हुन्थे।
‘मैदान चाहिँ राम्रो थियो। तर एउटा मात्र बल, आधा घण्टा ब्रेक अनि ६०–७० जना आकांक्षी। कति समय खेल्न भ्याइन्थ्यो र ?’ उनी सुनाउँछिन्। एकै पटक सर्भिस गर्न पाए पनि निरुतालाई त पुगिहाल्थ्यो। जे होस् एकपटक छुन चाहिँ पाउनुपर्यो।
उनको मनमा त्यो दृष्य ताजै छ कि कतिपटक त बल छुन नपाउँदै घण्टी बजिसक्थ्यो। खेल्ने रहर काँचै हुन्थ्यो। स्कुल सकिएपछि त खेल्न सम्भवै थिएन नि! ‘घाँस दाउरा, गाईबाख्राको थलाभकारा कसले गरिदिने?’
बुवा शिक्षक भए पनि कृषि पेसा छोडिसकेको थिएन। गाईभैसीं थिए, खेतबारी थियो। बाँझो राखिँदैन थियो, खेती गरिन्थ्यो। ‘घाँस काट्नको लागि एक दुईघण्टा हिँडेकी छु। बिहान ६ बजे घाँसमा गएर स्कुल पनि समयमै पुग्नु पर्ने हुन्थ्यो। गाह्रो थियो नि,’ स्कुले दिन सम्झिन्छिन् उनी, ‘पहाड छन्, अग्ला। हरेक काम गर्नको लागि उकालोओरालो गर्नुपर्छ।’
नौगाड गाउँपालिकाको उत्तरी क्षेत्रबाट अपि हिमाल क्षेत्र सुरु हुन्छ। दुई हजार पाँच समय उचाइमा हुर्किएकी उनको गाउँपालिकाले पश्चिममा कालापानी, लिम्पियाधुरासमेटिएको व्यासलाई छुन्छ। देशको सीमा रक्षा गरी बसेका मानिसलाई साना कुराले के छेक्थ्यो होला र? खेलप्रतिको रुचीलाई कस्तै सीमाले छेक्न सकेन।
अनि पढाइलाई पनि खेलले जित्यो। राष्ट्रिपति रनिङ शिल्डमा गएपछि त उनले बाहिरको कुरा पनि थाहा पाउँदै गइन्। भलिबलका मानिससँग संगत बढ्दै गयो। राम्रो खेल्यो भने विभागले तान्छ भनेर थाहा पाइन्। त्यतिबेला उनी सुदुरपश्चिमस्तरीय राष्ट्रपति रनिङ शिल्डको टिममा थिइन्। त्यहाँबाट झन् खेल्न मन लाग्थो।
आमाले उनलाई नर्स बन्नको लागि प्रेरणा दिन्थिन्। ‘नर्स बन्नुपर्छ मेडिकल लाईनमा राम्रो हुन्छ। त्यता काम गर्नुपर्छ,’ धनमती देवी ठगुन्नाले भन्थिन्। प्रेम सिंह ठगुन्ना भन्थे, ‘जसरी भए पनि आर्मीमा ज्वाइन हुनुपर्छ। त्योभन्दा पहिले १२ पास गर्नुपर्छ।’
उनी मनमनै भन्थिन्, ‘म त खेल्छु नै।’
000
स्कुलमा उनको अन्तिम वर्ष थियो। लगातार तीन वर्ष जितेर जिल्लाको राष्ट्रिपति रनिङ शिल्ड कब्जा गर्ने योजना थियो। सिनियरले अघिल्लो दुई वर्ष जितिसकेका थिए। उनीहरुलाई तेस्रो उपाधि जित्नु थियो। उनीहरु ओभरअल च्याम्पियन भए, जिते। त्यो पल उनलाई विशेष लाग्छ।
त्यसपछि उनी क्षेत्रिय खेल्न गइन्। त्यहाँबाट छनोट भएर पहिलो पटक काठमाडौं आएकी थिइन् निरुता २०७३ सालमा। उतिबेला उनले ४०० मिटर रनिङ, सुटपुट र लङजम्प भाग लिएकी थिइन्। त्यही वर्षको अन्तिम तिर उनले सुदूरपश्चिमबाट विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुद पनि खेलेकी थिइन्।
यता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका दौरान प्रशिक्षक नील राज अवस्थीले उनलाई केही भने। ‘म त एथ्लेटिक्सको हो। तिम्रो भलिबल पनि राम्रो रहेछ। उमेर पनि छ। एकपटक त्यो अभ्यास गर। उचाई पनि बढ्ला। पछि राम्रो हुन्छ,’ अवस्थीले निरुतालाई भने।
निरुतालाई लाग्यो- हो कि क्याहो! त्यसैको अर्को वर्ष उनी भलिबल खेल्न पोखरामा आएकी थिइन्। खेल्ने धेरै अवसर त पाइनन्। तर त्यसपछि भलिबल छुटेको छैन।
पोखरामा खेल्दाताका जगदीश भट्ट र डडेल्घुराका नरेश जोशीले उनलाई देखे। ती प्रशिक्षकले निरुतालाई भविष्यमा राम्रो गर्न सक्ने खेलाडीका रुपमा राखेका थिए। ‘नानी अब तिमी आर्मीमा आउनु पर्छ। त्यो टिममा खेलाडी कोही पनि छैन। भए पनि सबै नयाँनयाँ छन्। त्यहाँ भविष्यको लागि पनि राम्रो छ,’ जगदीशले भनेको कुरा सम्झिन्छिन् निरुता।
उनलाई त ‘के खोज्छस् कानो आँखा भनेझैँ’ भयो। बाबुले भनेअनुसार आर्मी पनि भइने, भलिबल पनि खेल्न पाइने। खासमा उनी घरबाट हिँड्दा एउटा प्रतियोगिता खेल्न मात्र निस्किएकी थिएन्। साथमा केही थिएन, न कपडा, न पैसा, न पर्सनल सामान। पोखरामा एक मात्र खेल खेलेकी उनी काठमाडौंमै बस्नुपर्यो।
आर्मीमा सुरुका दिनमा उनलाई सजिलो पटक्कै भएन। ‘आइसकेपछि जान पर्दैन। अब यतै खेल्नुपर्छ भने सबैले,’ ती दिनमा साथीहरुले भनेको कुरा निरुता सम्झिन्छिन्। त्यतिबेला उनी १७ वर्षकी किशोरी थिइन्। परिवारको याद आउँथ्यो।
‘आर्मीमा त ओड्ने ओछ्याउने आफ्नै चाहिने रहेछ। न किन्ने पैसा ल्याएको थियो, न सामान। न परिपक्व उमेर। एक महिना त गाह्रो भयो नि! साथीहरुले सहयोग गरेपछि बल्ल अभ्यासमा ध्यान दिन पाएँ,’ उनी सुरुवाती अभ्यासका दिन सम्झिन्छिन्।
‘अब रोएर केही हुँदैन। बाबा आमाले, गाउँलेले पनि भनिसके गाउँ छोडेर गएको भनेर थाहा पाइसके। अब राम्रो बन्नुपर्छ,’ आर्मीमा करारमा रहँदा उनका टिममेटले सम्झाउँथे।
त्यतिबेला उनलाई लाग्यो – ‘त्यत्तिकै घर फर्किएँ भने त गाउँघरमा कुरा काट्लान्। उनीहरुको मुख बन्द गर्न पनि केही त गरेर देखाउनै पर्छ। त्यो गाउँमा उसै पनि केही गर्छु भनेर हिँडेको, त्यसै फर्किने कुरा पनि त भएन।’ यावत् कुरा मनमा आउँथे। ती सबै बिर्सेर खेलिरहिन्।
‘तैले केही गर्न सक्दिनस्। नजा। बरु पढ्,’ बाबुआमाले उनलाई पटक पटक भनेका थिए, ‘अर्काको ठाउँमा राम्रो हुँदैन। परिवारसँग बसेर पढेको महत्त्व नै बेग्लै हुन्छ। घर छोडेर नजा।’ प्लस टू उनको घरबाट गाडीमा एक घण्टाको दूरीमा थियो। तर उनले त्यता ध्यानै दिइनन्। एसएलसीपछि घर पनि छोडिदिइन्, पढाई पनि। यससँगै उनको जीवनमा धेरै कुरा छोडियो।
पछि आर्मीमा रहँदा उनले प्लस टू ज्वाइन त गरिन् तर भलिबलसँगै ठाउँठाउँ उड्दा त्यो पनि भताभुंग भयो। भन्छिन्, ‘त्यस्तै, उस्तै भयो, समय निकाल्नै सकिएन।’

एपीएफ र आर्मीमा खेल्दा निरुता। तस्बिरः निरुताको फेसबुक
आर्मीबाट उनले पहिलो पटक एनभीए लिग च्याम्पियनसिप खेलिन्। एभीसीको एउटा खेल नेपालमै भएको थियो। त्यो खेलिन्। चितवनमा विदेशी खेलाडीसमेत ल्याएर एउटा प्रतियोगिता भएको थियो। उनले आर्मीमा रहँदा ती प्रतियोगिता खेलिन्। यी प्रतियोगिता खेलिरहँदा उनी घरेलु भलिबलमा निकै रुचाइएकी खेलाडी बनिहालिन्।
‘एउटा निकै सम्भावना भएकी खेलाडी,’ उनको नयाँ परिचय बन्यो। सबै कुरा राम्रो चलिरहेको थियो। उनले एकैपटक आर्मी छोडिदिइन्। देशैभर भलिबलप्रेमीबीच यो खबर सनसनी रुपले फैलियो।
आखिर सबै ठिकै थियो निरुताले एक्कासी किन छोडिन् त आर्मी? यो प्रश्न एकले अर्कालाई गर्न थाले। आर्मी साथी, आफन्त, पत्रकार, खेल पादाधिकारी, भलिबल संघबाट तारन्तार फोन आउन थाल्यो। उनी हैरान बनिन्।
आर्मीमा रहँदा भोग्नुपरेको प्रताडना, पीडा र व्यथा एकातिर, प्रश्नको प्रहार अर्कोतिर। ‘त्यो धेरै नराम्रो अनुभव भयो। जुन म भन्न चाहदिनँ थिएँ। त्यहाँ घात भएकै हो। के भयो, कस्तो भयो मलाई मात्र थाहा छ। त्यतिबेला एक वर्षसम्म के भोगेँ त्यो कसैले बुझ्दैन सायद,’ यति भनेर निरुताले रुखबाट झर्दै गरेका ज्याकारान्डाका फूललाई धेरैबेर हेरिहिन्।
लामो सास फेरेर उनले अगाडि भनिन्, ‘आर्मीमा के भयो चाहिँ मैले कसैलाई भनेको छैन र भन्दिनँ पनि। तर जे भयो, भयो। मैले त्यो बिर्सिएर ‘मुभ अन’ हुनुपर्छ भन्ने लागेको छ।’ तर घाउ त घाउ हो नि पोल्छ, दुख्छ, पीडा दिन्छ। यो त्यस्तै चोट थियो, मनको। सपना भत्किएको बेला थियो। कुरो त्यही चार वर्षअघिको त हो। ‘आर्मी संस्था ठूलो छ, स्थापित क्लब छोडिसकेँ। कुनै ठाउँमा राजीनामा नदिइकन छोड्न त मिल्दैन। मैले छोडेँ,’ उनी घटना सुनाउँछिन्।
१२ दिन गयल भएपछि आर्मीले भगौडामा राखेको थियो उनलाई। त्यसरी घर गएपछि उनलाई ‘भलिबलमा फर्किन्न’ भन्ने लागेको थियो। ‘मेरो खेल्ने इच्छा पनि छैन। सायद भलिबल नै छाड्न पो सक्छु कि!’ उनले केही पत्रकारलाई जवाफ दिएकी थिइन्। अरुलाई पनि यस्तै बताइन्।
‘अब म खेल्दिनँ। आफ्नो तरिकाले आफ्नो जीवन बाँच्छु भन्ने लाग्यो। आर्मीविरुद्ध म केस लड्छु भन्ने विचार पनि आयो। मैले भने नि, आर्मी छोड्दा म गलत थिइनँ। थिँदै थिइनँ,’ मानसपटलमा आइरहने घटनालाई उनी बयान गर्छिन्। उतिबेला उनको एउटै मात्र टेक्ने लट्ठी थियो- परिवार। खुट्टा राख्ने एउटै मात्र ठाउँ घर त थियो। उनलाई परिवारले मात्र सहयोग गरिरहेको थियो।
एउटी २०/२१ वर्षकी केटीका मनमा १० हजार कुरा कुरा खेले उतिबेला। यो सायदै कसैले अनुभव गर्न सक्ला। ‘के कुरा हो कुरा भन्। हामी काठमाडौं आउँछौं। जे गर्नपरे पनि गरौँला,’ आपतमा परेकी छोरीलाई धनमती देवीले सान्त्वना दिँदै भनेकी थिइन्। निरुतालाई त के गर्ने नै थाहा थिएन।
उतिबेला मुद्दामा जाने विचार आए पनि अहिले त उनलाई लाग्दैन कि ‘आफू सही थिएँ वा थिइनँ भनेर प्रमाणित गर्नुपर्छ।’
उतिबेला पनि आफ्नो पीडा आफैंभित्र सीमित राखिन्। अनि ‘मुभ अन’ भइन्। ‘अहिले म खुसी छु। अनि खुसीको स्रोत भलिबल,’ टाउको यता उता हल्लाएर आँखा ठूला बनाउँदै, हाँस्दै केहीबेर रोकिएर उनी भन्छिन्, ‘विगतका सबै कुरामा चुकिनँ भन्ने लाग्छ। जे कुरा पनि गर्न सक्छु, गर्छु भनेर हिँडेको मान्छे, कुनै कुरामा चुकेको छैन भन्ने लाग्छ। हिँडेपछि ठेस त लाग्छ नि होइन?’
‘अब फेरि खेलमा फर्किनु पर्छ। एकपटक खेल्न भनेर गाउँ नै छोडेको मानिसले हार खानु हुँदैन,’ उनले आफैंले आफैंलाई सम्झाउँथिन्। विस्तारै साथीभाईको सहयोग पनि पाइन्। ‘अब के गर्दा राम्रो हुन्छ’ भन्ने सल्लाह पाइन्। घाउमा खाटा बस्दै गएपछि ‘बरु जे गर्नुपरे पनि खेल छोड्दिनँ’ भन्ने भावना आयो।
‘मेरो ठाउँमा कोही छोरी मान्छे भए उसले खेल्नै सक्दैन थियो होला भन्ने लाग्छ,’ निरुता सुनाउँछिन्, ‘जता गयो त्यतै ठक्कर खाएँ मैले।’ घर परिवार, आर्मीकै केही साथीबाट सहयोग र प्रेरणा पाएपछि उनले फेरि भलिबल खेल्ने मनाशय बनाइन्। गहिरो दुविधामा त थिइन् तर समाधान पनि त आवश्यक थियो।
उतिबेला फेरि कस्तो पनि भयो भने निरुता दक्षिण एसियाली खेलकुद, काभा महिला च्याम्पियनसिपको लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परिन्। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेको त्यो नै पहिलो पटक थियो। एउटा सपना त पुरा भएको थियो नि! भलिबल संघबाट सूचना आयो। सायद प्रशिक्षणमा नपरेको भए उनको जीवनले अर्कै बाटो समाइसकेको हुने थियो होला। तर त्यो सूचनाले फेरि काठमाडौं फर्किने वातावरण बन्यो।
किनभने त्यतिबेला देशभर सागको हल्ला थियो। एभिसी सेन्ट्रल जोन पनि नजिकै आउँदै थियो। त्यसले उनलाई धेरै कुरा बिर्सेर खेलमा लाग्न मद्दत गर्यो। उनी अथक मेहनत गर्दै अन्तिम १२ मा पर्ने दृढ संकल्प गरेर राजधानी आइन्।
‘त्यतिबेला मोबाइल र सामाजिक सञ्जालबाटै डर लाग्ने अवस्था बनेको थियो। त्यसका बाबजुद म अन्तिम १२ मा छनोट भएँ,’ पीडाको ढुंगाबीच उम्रिएको पिपलजस्तो सजीव आशा थियो उनका लागि त्यो क्षण। जसले तिलमिलाएको वर्तमानलाई उज्यालो भविष्यतर्फ इंगित गरिरहेको थियो। बन्द प्रशिक्षणले केही धेरै आशा दियो।
साग खेल्न पाउनु त उनको लागि भलिबलमा फर्किने अन्तिम बाटो बन्यो। मनोबल डाउन गरेकी भए उनी अहिलेको अवस्थामा हुने थिइनन्। साग खेल्ने भएपछि उनलाई एपीएफ र पुलिसबाट अफर आयो। त्यसले उनलाई अघि बढ्न थप भर भयो।
‘विवशताले आर्मी छोडेँ, भविष्य हेरेँ अनि एपीएफमा जाने सोच बनाएँ,’ उतिबेला उनको योजना बनेको थियो। एपीएफले उनलाई एक स्तर बढाएर जागिर दियो। उमेरका हिसाबले त एपीएफमा जाने अन्तिम अवसर थियो। ‘धन्नैले सबैमा पास भएँ। पछि एपीएफ क्लबमा आएँ,’ उनी भन्छिन्।
सागको बन्द प्रशिक्षण चलिरहेको थियो। भलिबल संघले खेलाडीलाई थाइल्यान्डमा प्रशिक्षण गराउने भयो। भलिबल संघले २४ खेलाडीलाई थाइल्यान्ड लगेको थियो। त्यो उनको पहिलो अन्तर्राष्ट्रिय भ्रमण रह्यो। ‘आधिकारिक प्रतियोगिता नभए पनि अभ्यासका लागि पहिलो पटक विदेश गएँ। त्यहाँ खेलेँ,’ उनी यात्राबारे सुनाउँछिन्। त्यो यात्रापछि उनलाई कसरी खेल्ने भन्ने थप अनुभव हुँदै गयो।
‘भलिबल खेलेरै विदेश जान पाइएला भन्ने सोचेको थिएन। त्यति लामो यात्रा, त्यति समृद्ध देशमा त्यसरी अभ्यास गर्न पाउनु सुखद् थियो,’ निरुता भन्छिन्, ‘म आउनुभन्दा अघि कति जना भलिबल खेलेर बन्द प्रशिक्षण नपरेका खेलाडी हुन्थे। तर मैले अवसर पाएँ। त्यसले मलाई मनोबल बढायो।’

दक्षिण एसियाली खलकुद (साग)का दौरान खेलाडी निरुता ठगुन्ना। तस्बिरः उनको फेसबुक
यही बीचमा उनको अर्को कथा छ। बन्द प्रशिक्षणमा परे पनि उनी लामो समय बेकामे भएर काठमाडौंमा बस्नुपर्यो। ‘राष्ट्रिय टिमको अभ्यास लगनखेलको आर्मीको कभर्डहलमा राखिएको थियो। तर उनलाई आर्मीले अभ्यास गर्नै दिएन। मेरो कारण टिममेटले पनि अभ्यास गर्नै पाएनन्,’ उनी सुनाउँछिन्।
आर्मीले चाहिँ भागेर गएको मानिसलाई अभ्यास गर्न नदिने भनेर टिमलाई नै अभ्यास गर्न दिएन। निरुतालाई समाउनु पर्छ, किन राष्ट्रिय टिममा राखेको भन्ने विरोध थियो आर्मीको। त्यो दिन त्यत्तिकै सबै घर फर्किए। भोलिपल्टबाट निरुता आइनन्। अरुले अभ्यास गरे। उनी त्यत्तिकै बसिन्।
‘खासमा मैले छोड्ने भनेर पठाएको समाचार पुग्नु पर्ने ठाउँमा पुगेनछ। अनि आर्मीले अभ्यास गर्न दिएन,’ यो प्रसंगमा उनी भन्छिन्, ‘खैर यो सबै कुरा त भैले भनिसकेँ। मेरो कारण सबैले अभ्यास गर्न नपाउनु दुखद् थियो। अनि म आउँदिनँ भनेँ।’ पछि प्रशिक्षण रंगशालामा सारेपछि मात्र उनले लगातार अभ्यास गरिन्। ‘त्यतिबेला सबै जिम्मेवारी भलिबल संघलाई छोडेर स्वतन्त्र भएर खेलेँ,’ निरुता भन्छिन्।
000
बंगलादेशमा एभीसी सेन्ट्रल जोन खेल्ने टिममा परिन् निरुता। यो प्रतियोगिता २०७६ को कार्तिकमा भएको हो। त्यहाँ माल्दिभ्सविरुद्ध उनले अन्तर्राष्ट्रिय डेब्यु गरिन्। मुस्कानका साथ डेब्यूको अनुभव सुनाउँछिन्, ‘डेब्यू चाहिँ विषेश हुँदो रहेछ। नेपाली टिमको जर्सीमा पहिलो पटक खेल्न पाइँदै थियो। त्यत्रो वर्षको मेहनत साकार भएको पल थियो। त्यतिबेला जस्तै हाने पनि निकै पावरफुल हिर्काएको फिल हुन्थ्यो।’
डेब्यू गरेपछि उनलाई एउटा मात्र कुरा मनमा गडेको थियो- अवसर पाएँ अब खेलेर देखाउनुपर्छ। ‘हामी त यत्रो वर्ष खेलेर राष्ट्रिय टिममा परिएन। तँ के पर्लिस् र?’ उनलाई कर्के आँखाले हेरेर केहीले भन्थे, ‘यो कुरा मलाई नराम्रो तरिकाले मनमा परेको थियो। किनभने त्यहाँ हेय भावना देखिन्थ्यो। त्यतिबेलादेखि नै मैले आफूभित्र राष्ट्रिय टिमको खेलाडी उमारिसकेको थिएँ।’
उनी थप्छिन्, ‘खासमा म त्यतिबेलै राष्ट्रिय टिमको खेलाडी भइसकेको थिएँ। माल्दिभ्सविरुद्धको डेब्यू त भित्री मन भौतिक रुपमा रुपमा प्रकट भएको मात्र हो,’ किनभने आर्मीमा करारमा अनुबन्ध भएको समय नै उनले आफूलाई भलिबलमा समर्पण गरिसकेकी थिइन्। बाँकी कुरा त तपसिलका हुन्। अँ, हिँड्दै जाँदाका पुगेका सुन्दर गन्तव्य सरह त हुन्।
बहिनी फ्लोरेन्स ठगुन्ना उतिबेला गाउँको बेस्ट खेलाडी थिइन्। दीपा ठगुन्ना, ममता धामी, अनिता धामी, सकुन्तला ठगुन्ना निरुताभन्दा राम्रो खेल्थे उतिबेला। तर उनीहरुले अवसर पाएनन्।
त्यो गन्तव्यमध्येकै एक हो काभा महिला भलिबल च्याम्पियनसिपको ऐतिहासिक उपाधि। उनले उपाधि जित्दा नेपालले ४१ वर्षमा पहिलो स्वर्ण मात्र जितेको थिएन। निरुताको क्रान्ति र विद्रोहले जितेको थियो। उनको पसिनाले मूल्य पाएको थियो। ‘खेलेर के हुन्छ?’ लगायत अनेक प्रश्न गर्नेका लागि जवाफ थियो। त्यति मात्र नभएर उनले समाजअघि प्रस्तुत गरेको बलियो उदाहरण थियो। पछिल्लो केही वर्षमा नेपाली टिमको आक्रमणमा बलियो खम्बास्वरुप बनेकी छन् निरुता।
आजभोलि उनी बाल्यकालका दिन सम्झिन्छिन्। बाआमाले उतिबेला भनेको कुरा घरमा सुनाउँछिन्। तर प्रेम सिंह र धनमति त्यो सम्झिन चहाँदैनन्। ‘हामीले तेरै भविष्यको लागि भनेको थियौँ,’ धनमतीदेवी छोरीलाई हेर्दै भन्छिन् रे।
आजभोलि निरुताले खेलको दिन प्रेम सिंहले ‘मेरो छोरीको खेल आउँदैछ हेर है भन्दै’ स्कुलमा शानसँग सुनाउँछन् रे। ‘मैले उहाँलाई आज गर्व गर्न लायक बनाएँ। त्यसले खुसी मिलेको छ,’ सिरसिरे हावाले अगाडि ल्याएको कपाललाई मिलाउँदै निरुता भन्छिन्, ‘मलाई देशभरका धेरै मानिसले चिन्छन्। अनि बुवा कतै जाँदा आफ्नो परिचयमा मेरो परिचय जाडेर चिनाउनुहुन्छ रे। त्यो कुराले मलाई खुसी बनाउँछ।’ आजभोलि धनमतीदेवीले अरुलाई भन्छिन् रे, ‘मेरो छोरीले यत्रो नाम, इज्जत कमाएकी छ। उसलाई त सबैले चिन्छन्।’
000
निरुता अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छिन्। उनी नेपालमै आयोजना हुने तेस्रो संस्करणको काभा महिला च्याम्पियनसिपको अन्तिम टोलीमा छनोट भएकी छन्। उनीहरुलाई प्रशिक्षण गराउन बेल्जियमबाट प्रशिक्षक जान डी ब्रान्ट नेपाल आएका छन्।
ब्रान्टको प्रशिक्षणमा अभ्यास एकदमै रमाइलो भइरहेको निरुता सुनाउँछिन्। ‘अभ्यास गरेजस्तै लाग्दैन। गले पनि गलेको महसुस हुँदैन। ब्रान्टले निकै सुन्दर र फरक तरिकाले भलिबल सिकाउनु हुन्छ। जानेकै कुरालाई नयाँ तरिकाले सिक्न पाउँदा गाह्रो कुरा पनि सजिलो लाग्दो रहेछ। कोचले पहिले बुझाउनु हुन्छ त्यसपछि प्रयोग गराउनु हुन्छ,’ निरुता अहिलेको भलिबल सिकाइबारे खुलस्त हुन्छिन्।
ब्रान्ट आएपछि निरुताको ब्याककोर्टबाट प्रहार गर्ने आत्मविश्वास बढेको छ। ‘पहिले डर लाग्थ्यो तर अहिले लाग्दैन। सर्भिस र स्पाइकमा पनि सुधार भएको छ। खेलाडी हेरेर सिकाउनु हुन्छ। कसैलाई रेस्टमा राख्नु हुँदैन,’ उनी भन्छिन्।
अब सागको फाइनलमा हार व्यहोरेको भारतसँग समूह चरणमै भिड्नुपर्ने चुनौती छ नेपाललाई। यो समूह अलि कठिन देखिन्छ। अहिले निरुताको टिमलाई भारतलाई हराएर बदला लिने अवसर पनि छ। ‘सजिलो समूहबाट फाइनल जानु भन्दा भारतलाई हराएर फाइनल जानु विषेश हो। त्यसले हामी बलियो छौँ भन्ने प्रमाणित पनि गर्छ। त्यसका लागि एक एक अंक महत्वपूर्ण हुन्छ,’ निरुता आउँदो प्रतियोगिताबारे भन्छिन्।
अहिले प्रतियोगिताको पूर्वसन्ध्यामा कमजोरी सुधार गर्ने र इन्ज्युरीबाट बच्ने कुरामा केन्द्रित छिन् उनी। फुर्सदमा विपक्षी टिमको खेल हेर्ने गरेकी छन्। अनि दैनिकजसो घरमा फोन गर्छिन्, जसले उनलाई खेलमा थप प्रोत्साहन मिल्छ। भन्छिन्, ‘घरमा सबैले राम्रो खेल्नु भन्नुहुन्छ।’
अहिले राष्ट्रिय टिमका सबै खेलाडी राति साढे ९ मा फोन अफ गरेर सुत्छन्। स्वस्थ रहनको लागि त्यो आवश्यक छ। धेरै खेलाडी त परिवर्तन भएका छन्। अहिले भलिबलमा प्रतिस्पर्धा भइरहेको छ। कम्पिटिसन बढेको छ। एकपटक टिममा परेर सँधै परिन्छ भन्ने चाहिँ अब रहेन। अहिले टिमभित्र जो जो छन् उनीहरुले कसम खाएका छन् कि ‘हामी दर्शकले मन पराउने खेल पस्किनेछौं। साथै, साग फाइनलको बदला लिनेछौँ।’
नेपाली महिला टिमले सँधै दर्शकको मन जित्दै आइरहेका छन्। त्यसलाई नटुटाउने विश्वास छ उनको। ‘विश्वास भएपछि जसरी पनि सकिन्छ जस्तो लाग्छ,’ उनी भन्छिन्।
तर प्रतिभाको चोटले टिमलाई दुखेको छ। निश्चय नै प्रतिभा राम्रो खेलाडी हुन् तर उनी नहुँदा नेपाली टिमले खेल्नै सक्दैन भन्ने टिप्पणी आउँदा चाहिँ राष्ट्रिय टिमका बाँकी खेलाडीलाई गरिएको विश्वासमा ठेस पुगेको छ। ‘यो अवस्थामा त खेलाडीले सकारात्मक सुझावको अपेक्षा गरिरहेका छन्। तर उहाँहरु नराम्रो नराम्रो कमेन्ट गर्नुहुन्छ। अब प्रतिभा मालीविना खेल नै सकियो। नराम्रो हुन्छ। हेर्नै आउँदैनौँ भन्नुहुन्छ। तर त्यस्तो नभन्दिए हुन्थ्यो। किनभने उनी नसक्ने भएर नखेलेको हो,’ निरुता समर्थकलाई आग्रह गर्छिन्।
फेरि एकपटक उपाधि जित्ने आशामा नेपाली टिम छ। जस्तो प्रतियोगिता होस् निरुता जीवनभर जितिरहन चाहन्छिन्। तर, यसरी जित्दाजित्दै पनि एक दिन त भलिबलबाट बिदा लिने दिन आउँछ। त्यसपछिको जीवन के होला?
उनको अझै तीन वर्ष खेल्ने योजना छ। ‘त्यसपछि सकिएला, नसकिएला। शरीरले साथ दियो भने खेलिएला। नखेलेर टिमलाई सहयोग पनि गरिएला। त्यो बेलामा के होला भनेर योजना बनाएकै पो छैन!’ उनी हाँस्छिन्।
000
निरुताको जीवनमा धेरै आयाम छन्। जीवनलीलामा रमाउने आफ्नै कला छ। अनि जे छ ‘विन्दास’ छ।
उनलाई भलिबलमा ‘डिफेन्स’ गर्न एकदमै मनपर्छ। विपक्षीबाट आएको शक्तिसाली बल थापेर बचाउन मनपर्छ। बल उठाएर घुमिरहेको बल हेर्न खुबै मनपर्छ। किनभने त्यसरी हातमा लगेको बललाई जता जाने पनि स्वतन्त्रता हुन्छ। उनलाई त्यो स्वतन्त्रता पनि मन पर्छ। सायद उनी बलजस्तै स्वतन्त्रता खोजिरहेकी छन्।

निरुता ठगुन्ना। तस्बिर: निरुताको फेसबुक
पावरफुल स्पाइक हानेर बल किल गर्न पनि उनलाई गज्जब लाग्छ। ‘नेट टू नेट अंकमा त्यसरी अंक ल्याउन सकियो भने आफैंप्रति गौरव अनुभव हुन्छ। मैले त्यो पल बंगलादेशको सेन्ट्रल जोन भलिबलमा अनुभव गरेकी छु,’ निरुता भन्छिन्।
त्यो एउटा पल उनलाई अझैसम्म याद छ। ‘बंगलादेशविरुद्ध सिंगल ब्लक पाएको थिएँ। एकदमै पावरफुट सट हानेको थिएँ। त्यो सट आज पनि मेरो मानसपटलमा घुमिरहन्छ,’ उनी सम्झिन्छिन्।
उनी आर्मीबाट जब बाहिरिन् आफूमा दैनन्दिन परिवर्तन देखेकी छन्। अभ्यासमा सानो सानो कुरामा पनि ध्यान दिन थालिन्। फलतः उनको प्रदर्शन निखारिँदै गयो। त्यतिबेला उनले संकल्प गरेकी थिइन्, ‘मनले र मुखले भनेर मात्र होइन, गरेर पनि देखाउनु पर्छ।’ यस्तै संकल्पले हो निरुता कम समयमै राष्ट्रिय टिममा पुगिन्। र, आजका दिनसम्म पनि उनी आफ्नो क्षमतामा विश्वास गछिन्।
उनी त शून्य स्तरबाट आएकी खेलाडी हुन् नि! कमसेकम उनी त त्यस्तै विश्वास गर्छिन्। उनले स्पकाइक कस्तो, सर्भिस कस्तो भन्ने स्कुलबाटै सिकेर आएकी होइनन्। आर्मीमा पाइला टेकेर मात्र सबै सिकिन्। आर्मीमा आएको तीन वर्ष नपुग्दै राष्ट्रिय टिमबाट खेलिन्।
आर्मीमा प्रशिक्षक लोकबहादुर बुढाले उनलाई भलिबलमा बामे सर्न सिकाए। ‘गाउँ छोडेर आएपछि केही बन्नुपर्छ,’ लोकबहादुर निरुतालाई प्रेरणा दिन्थे।
स्पाइक गर्दा खुट्टाले स्टेप कसरी लिने, ब्लक गर्दा हात कसरी थाप्ने, स्टेप र ल्यान्डिङ कस्तो हुने सिकाउँथे बुढा। सर्भिस र डिफेन्स गर्दा पोजिसन कस्तो बनाउने लगायतका कुरा उनले लोकबहादुरबाटै सिकिन्। भलिबल टेक्निकमा शून्य निरुताले त्यहाँ सिकेको बयान गरिसाध्य छैन।
‘तर आर्मीमा त्यो ‘केस’ हुनेबेलामा उहाँ काठमाडौँमा हुनुहुन्थेन। हुनुहुन्थ्यो भने कथा नै बेग्लै हुन्थ्यो होला,’ आज निरुतालाई यस्तो लाग्छ।
त्यतिबेला निरुतालाई राष्ट्रिय टिममा पुग्ने खुब सौख थियो। घरेलु प्रतियोगिता खेल्दा सरस्वति चौधरी विशेष मन पर्थ्यो। प्रतिभाको शान्त भएर खेल्ने शैली राम्रो लाग्थ्यो। ‘उहाँहरु मेरो आइडल हुनुहुन्छ। पहिले त उहाँहरुबारे थाहा थिएन, आर्मीमा अनुबन्ध भएर खेल हेर्न थालेपछि उहाँहरुको फ्यान नै भएँ,’ निरुता सुनाउँछिन्, ‘उहाँहरुले यस्तो गर्न सक्नुहुन्छ भने म किन सक्दिन भन्ने मनमा हुन्थ्यो। उचाई कम भए पनि जम्प बढाएर खेल्न सक्छु भन्ने लाग्थ्यो।’
पहिले उनी जस्तो फ्यान थिइन् अहिले उनले पनि त्यस्तो हजारौँ फ्यान कमाइसकेकी छन्। त्यस्ता फ्यान गाउँघरमै नजिकबाट महसुस गर्न पाएकी छन्। ‘तपाईंको खेल मनपर्छ भनेर कतिले म्यासेज गर्छन्। धेरैले रिप्लाई पाउँदैनन् होला। कतिले वर्षौंदेखि राम्रो भनिरहेका छन्,’ फ्यानबारे उनी भन्छिन्।
स्कुल पढ्का ती साथीहरु नै हुन् निरुताका नजिकको फ्यान। ती सबै साथीले बिहे गरिसके। त्यस्ता कतिपय साथी उनीभन्दा धेरै राम्रो भलिबल खेल्थे। बहिनी फ्लोरेन्स ठगुन्ना उतिबेला गाउँको बेस्ट खेलाडी थिइन्। दीपा ठगुन्ना, ममता धामी, अनिता धामी, सकुन्तला ठगुन्ना निरुताभन्दा राम्रो खेल्थे उतिबेला। तर उनीहरुले अवसर पाएनन्।
ठाउँ पाएका भए आज ती खेलाडी राष्ट्रिय टिममा चम्किरहेका हुन्थे होला। सायद उनीहरुले विद्रोह गर्न सकेनन्। ‘अब त बिहे भइसक्यो। त्यसैले पनि मैले उनीहरुको प्रतिनिधित्व गर्नुपर्छ,’ आज निरुतालाई यस्तो लाग्छ।
ती साथीहरुले उनलाई फोन गरेर भन्छन्, ‘तँलाई टेलिभिजनमा हेर्न पाइयो। तैलै जीवन बनाइस्। हामीले पढेर पनि केही गर्न सकिएन। देशभरका मानिसले तँलाई टिभीमा हेर्छन्। गेम हुँदा गाउँभर तेरै कुरा हुन्छ। खुसी लाग्छ। साथी भन्न पाउँदा गर्व लाग्छ।’
यस्ता कुरा सुनेर निरुताको शीर गर्वले माथि उठ्छ। छाती ढक्क फुल्छ। उनी त दार्चुलाबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने पहिलो महिला भलिबल खेलाडी बनिसकेकी रहिछन्। त्यसैले त उनी गाउँकै उदाहरण बनेकी छन्।
उनका सबै साथीले विहे गरिसक्दा उनको विवाहबारे पनि परिवारमा कुरा आउँदो हो। तर घरबाट उनलाई बिहेको दबाब कहिल्यै छैन। ‘विवाह नगर्ने योजना त छैन तर बुबाआमाले बेला भयो भन्नुभएको छैन। उहाँहरुले पनि सोच्नु हुन्छ होला, मैले सोचेको छु भनेर,’ उनी विवाहबारे भन्छिन्, ‘तर प्रेमी पनि छैन नि मेरो त। बोइफ्रेन्ड के! म प्रेम गर्ने टाइपकै छैन जस्तो लाग्छ।’
विवाहपछि पनि खेलकुदलाई निरन्तरता दिने योजनामा छिन्, निरुता। विवाहपछि पनि आरामले खेलमा लाग्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छिन् उनी। ‘अहिले समाज ‘मोर्डन’ भइसक्यो। पहिले के थियो थाहा छैन। तर अहिले चाहिँ परिवारले सहयोग नै गर्छ भन्ने लाग्छ। सयमा १० प्रतिशत होलान् नगर्ने,’ उनले गणितमा भनिदिइन्।

थाइल्यान्डको अभ्यासबाट फर्किएपछि निरुता ठगुन्ना। तस्बिरः सरोज श्रेष्ठ
जहिल्यै पनि राम्रो बाटोमा जान खोज्ने, राम्रो गर्न खोज्न मानिसलाई अवसरबाट बञ्चित नगर्न उनको सुझाव हुन्छ। ‘कसैको लक्ष्यको बाटो रोकेर अर्को बाटोमा जबरजस्ती हिडाउँदा सफलता हात लाग्दैन,’ निरुता आफ्नो अनुभवबाट सुझाव भेट्टाउँछिन् र भन्छिन्, ‘बच्चाले रोजेको बाटोमा जान दिनुहोला। बाटो नरोकिदिनु होस्। बरु सहयोग गरिदिनुहोस्।’
उनले त खेल्न द्वन्द्व मात्र गर्नुपरेन, विद्रोह नै गर्नुपर्यो तर अरुले त्यस्तो गर्नु नपरोस्। यद्यपि ती दिन निरुतालाई सुन्दर लाग्छन् जब स्कुलमा खेलकुद आयोजना हुन्थ्यो। स्कुलमा केटीको टिममा पर्न गाह्रो थिएन। किनभने उनी सबै खेलमा फिट थिइन्। शरीर नै खेलाडीको जस्तो, बलियो। ‘मेरो कर्ममै खेलकुद लेखेको थियो सायद। एथ्लेटिक्समा हुँदाहुँदै भलिबल खेल्न टिम नपुगेपछि मैले भलिबल खेलेको हो,’ उनी सुनाउँछिन्।
स्कुलमा ‘बहिनी खेल्दिनुपर्छ, साथी खेल्देऊ, दिदी खेलिदिनू है’ जस्ता बिन्ती गरेपछि मात्र केटीहरु खेल्थे। टिम नै पुग्दैन थियो। उनको त सौखै भइहाल्यो, टिममा परिहाल्थिन्। राष्ट्रपति रनिङ शिल्डमा त समूह र व्यक्तिगत दुवै खेल्न पाइन्थ्यो अनि उनी दुवैमा भाग लिन्थिन्। ‘अहिले सम्झिँदा मैले त्यतिबेला केही सिकाउने मानिस पाएको भए पहिले नै आइसक्थेँ होला,’ उनी विगतलाई सम्झिएर चुकचुकाउँछिन्। अनि लाग्छ धेरै ढिलो पनि भएको छैन सायद।
अहिले उनलाई एउटा कुरा पटकपटक मनमा आउँछ- जीवनमा दुःख र सुख धेरै आउँछन्। त्यो बेलामा पाइला चाल्न सकिन्छ कि सकिँदैन भन्ने कुरा नै मुख्य रहेछ।
उनीसँग खेल्दाको रमणीय उदाहरण त अझै धेरै छन्। ललित बिके, केशव धामी, पुनिध चुनरालगायतका उनका दाईहरु खोलाकिनारमा साँझमा भलिबल खेल्थे। केटाहरुले खेल्नको लागि नौगाड खोला किनारमा बालुवाको मैदान बनाएका हुन्थे। धेरै टाढा होइन, त्यो ठाउँ त्यही दश/पन्ध्र मिनेट टाढा। कोही बेला घाँस काट्ने निहुँमा नाम्लो बोकेर केटीहरु त्यही किनारामा टिम बाँधेर जाथे। फाटेको बललाई सिलाएर, कपडाले मोरेर खेल्नलायक बनाउँथे। अनि खेल्थे।
‘पैसा राख्यो भने आफूले रोजेको खेलाडी राखेर खेलाउन पाइन्थ्यो। म पैसा चोरेर लान्थेँ। अनि तीनतीन जना खेल्थ्यौँ। धेरै समय त मैले जितेको छु,’ उनी भागेर खेल्दाको अनुभव सुनाउँछिन्। पछि प्रेम सिंहले पैसा चोरेको थाहा पाउँथे। निरुता स्विकार्थिन्। जितेको दिन फिर्ता पनि दिन्थिन्।
उसो त उनका आफ्नै आम्दानीका स्रोत थिए। उनी नौगाड खोलाका ढुंगा पन्छाएर जाल थाप्थिन्। माछा मारेर बेच्थिन्। ढुंगा, बालुबाका भारी बोकेर पैसा कमाउँथिन्। बाटो तथा भवनको जग खार्न जान्थिन्। घर बनाउँदा सिमेन्ट बालुवाको मसला बनाउने सहयोग मात्र गरेको त हिसाबै छैन।
‘गाउँमा भएजति सबै काम गरियो नि,’ शरीरलाई फुर्तिलो देखाउँदै निरुता अगाडि भन्छिन्, ‘बालुवा बोकेर ५० केजी अटाउने भाँडो भर्यो भने ५० रुप्पे पाइन्थ्यो। माछा चाहीँ हाम्रो पसलमै बेच्ने गर्दथ्यौँ। दिनकै १०० देखि २०० हुन्थ्यो।’ प्रेम सिंहले छोरीको त्यस्तो कमाई खातामै लेखेर राख्थे।
उनी, फ्लोरेन्स, हरिस ठगुन्ना, दीपा, ममता, अनिता, शकुन्तलासँग मिलेर यस्ता काम गर्थिन्। ‘गर्नैपर्छ भनेर त होइन। तर म जान्थेँ। त्यस्ता अनेक काम गरेकोले होला मलाई कुनै काममा भेद लाग्दैन। सबै काम एकै हुन्। मलाई त छोराले जस्तै काम गर्छ भन्थे। बाबाआमालाई छोरी होइन, छोरा लिएर आइस भन्थे,’ उनी आफ्नोबारे भन्छिन्। उनी त्यो भनेको सुन्दा गमक्क पर्थिन्।
एसएलसी दिएपछि त उनी स्वतन्त्र भइन्। गाउँमा ललित, पुनिधहरु भलिबल खेल्थे। उनी पनि खेल्न जान्थिन्। केटाहरुबीच एउटी केटी मात्र हुन्थिन् तर पनि खेल्थिन्। त्यो कुरा धनमती देवीको लागि सह्य थिएन्।
‘घर फर्किएपछि आमाले मुख छोड्नुहुन्थ्यो। एकदमै सुन्नै नसक्ने शब्द भन्नुहुन्थ्यो, जुन आज म भन्न सक्दिन। तर मलाई त्यो सुन्ने बानी परिसकेको थियो। त्यो गालीले त मलाई झन् खेल्नको लागि उक्साउँथ्यो। आफूभित्र खेलको भोक बढेजस्तो पो हुन्थ्यो,’ निरुता भन्छिन्।
कहिलेकाहीँ धनमती देवी मैदान आसपास देखिइन् भने निरुता कुलेलाम ठोक्थिन्। स्कुलको एक चक्कर लगाउँथिन्, आमा गएपछि फेरि खेल्थिन्। ‘खोलाको मैदानमा खेल्न जाँदा त ढुंगा मुढा कति खाइयो, खाइयो,’ गाउँमा निरुताको खेल अनुभव यस्तो छ, ‘तर केटाको टिममा चाहीँ खेल्ने अलरेडी ६ जना हुन्थे। मलाई त सर्भिस गर्न मात्र दिन्थे।’
कहिलेकाहीँ खेलमा जितेको पैसा उनी ‘आर्टिस्टिक इम्प्रेसन’ भएको महँगो कपी किन्थिन्। अनि कहिले चप्पलजुत्ता, नयाँ लुगा किन्थिन्।
‘अहिले सोच्दा लाग्छ मैले बुबाआमालाई सताएको भनेको नै पैसा चोर्ने र भागीभागी खेल्ने मात्र हो,’ उनी भन्छिन्।
गाउँको बसाई त्यस्तै रह्यो! परिवारको दबाबजस्तो – यो नगर, त्यो नगर। यस्तै भोगेर हुर्किएकी उनलाई अहिले सम्झिँदा लाग्छ ‘केही गर्ने विचार बच्चाबेलादेखि नै आउँने रहेछ। मनबाटै भनौँ।’ भन्छिन्, ‘तपाईंलाई मनबाटै लागेको छ। तर परिवारको दबाब छ भने त्यो कुरालाई परिवर्तन गर्न खोज्छु भनेर लाग्यो भने सकिने चाहिँ रहेछ। छिटोढिलो त आफ्नो ठाउँमा छ।’
रुढीबुढीको शासनले चलेको गाउँमा केटा मान्छेसँग बोल्नै नहुने। पढाई लेखाइलाई लिएर बोल्यो भने नराम्रो सोच्ने गरेको उनले नजिकबाट भागेकी छन्। तर अहिले धेरै परिवर्तन भइसकेको छ। ‘त्यही ८–९ वर्ष अघि यी सब परिवर्तन थिएनन्,’ उनी परिवर्तित समय नियाल्छिन्।
अहिले उनलाई एउटा कुरा पटकपटक मनमा आउँछ- जीवनमा दुःख र सुख धेरै आउँछन्। त्यो बेलामा पाइला चाल्न सकिन्छ कि सकिँदैन भन्ने कुरा नै मुख्य रहेछ।