काठमाडौं । प्रतिनिधिसभा सांसद सिता मिजारले विवाह गर्न मन्दिर पुगेको दलित समुदायको एक जोडीलाई विवाह नगराई भाग्ने पण्डितलाई कारबाही गर्नुपर्ने माग राखेकी छन् ।

मंगलबार संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा मिजारले बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालीका मन्दिरमा विवाहका लागि पुगेका एक दलित समुदायको जोडीको विवाह नगराई पण्डित भागेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउदैँ कारवाहीको माग गरेकी हुन् ।

‘बाजुरा जिल्लाको प्रकाश विक र कञ्चनपुरकी पार्वती सुनुवारको भेट सामाजिक सञ्जालबाट हुन्छ । त्यसपछि उनीहरु विवाह गर्ने निर्णयमा पुग्छन् । उनीहरु बाजुराको मार्तडीमा रहेको मालिका मन्दिरमा बिहान गर्नका लागि पुग्छन् । उहाँहरुले त्यहाँको पण्डितलाई पहिले नै विवाहका बारेमा जानकारी गराइसक्नुभएको थियो’, उनले भनिन्, ‘जब दुलाह र दुलही बिवाह गर्नका लागि पोशाकमा सजिएर जादाँ मन्दिर भित्र बत्ती बालेको देखिए पनि पुजारी मन्दिरमा ताला लगाएर भागेका छन् । २१ औ शताब्दीमा पनि हिन्दु धर्म वा जुनसुकै धर्मका नाममा दलित समुदायप्रतिको अन्याय अत्याचार किन भइरहेको छ ? के हामीले २१ औ शताब्दिमा पनि यस्तै परिकल्पना गरेको हो र ? संविधान र कानूनले यस्तै गर भनेको छ र ? त्यो भएको कारणले म यस्तो कार्यमा संलग्न पुजारीलाई कारवाहीको लागि सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

तपाईको प्रतिक्रिया