कैलाली । कैलालीमा दलित अधिकारको सुनिश्चितताका लागि १२ दिने दलित अधिकार अभियान सुरू भएको छ । राष्ट्रिय दलित नेटवर्क नेपालको अगुवाईमा दलित अधिकार दशकलाई सफल बनाउन १२ दिने अभियान सञ्चालन गरिएको हो ।
नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले विज्ञप्ति जारी गर्दै कैलालीको धनगढी उपमहानगरपालिकामा एक कार्यक्रम गरी अभियानको शुभारम्भ गरिएको जानकारी दिए ।
अभियानको शुभारम्भ गर्दै उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले नेपालले संघीयता र समावेशी बिकास अवलम्वन गरिसकेको सन्दर्भमा समग्र दलित समुदायको मानव अधिकार सम्मान, संरक्षण र परिपुर्ति गर्ने मुख्य दायित्व राज्यको नै भएकोले यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकारले दलितमैत्री नीति र कार्यान्वयनको प्रभावकारी कार्यान्वयका लागि अनुगमन संयन्त्रको बिकास गर्नुपर्ने कुरामा जोड दिए ।
नेटवर्कका महासचिव मोहन ओड, नेपाल राष्ट्रिय समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र बिके, समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियार र दलित जनप्रतिनिधि मञ्चका अध्यक्ष राधा बिकेले मन्तब्य व्यक्त गरे ।
‘यो अभियान जेष्ठ १० गते रुकुम पश्चिममा नवराज बिक लगायतका ६ जना यूवाहरुको नरसंहार भएको दिन हो, जसलाई नेपाली दलित आन्दोलनले कहिल्यै भुल्न सक्दैन र प्रतिरोध गर्ने संकल्प गर्नुपर्ने दिन हो, भने सोही दिन जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय ऐन) २०६८ संसदबाट पारित भएको दिन, जेष्ठ १५ गते संघीय संसदमा बजेट आउने दिन, जेष्ठ १६ गते महिला अधिकार दिवश, जेष्ठ १८ गते छुवाछूत बिरोधी ऐनमा लालमोहर लागेको दिन र जेष्ठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिन अर्थात दलित अधिकार दिवश हो,’ नेटवर्कका अध्यक्ष विश्वकर्माले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यी सबै दिनहरुलाई सम्झेर १२ दिने दलित अधिकार अभियानको सान्दर्भिकता छ ।’