काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ १७ देखि २० गतेसम्म दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दाहालसँगको भ्रमणमा स्वकीय सचिव छोरीदेखि सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यसैगरी प्रधानमन्त्री दाहालले जेठ १८ मा भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ।

वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्ने कार्यक्रम छ। दाहालले जेठ २० मा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो। यस भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया