काठमाडौँ । नेपालका आदिवासी जनजाति संघ, संस्थाहरूले राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी गलत तथ्यांक सच्याउन माग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा विभिन्न जातीय संगठनहरूले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त माग समेतिएको ज्ञापनपत्र बुझाएका हुन् । तथ्यांक कार्यालयले जारी गरेको जाति, भाषा, धर्मको महलमा जातिहरूलाई फुटाएको भन्दै आदिवासी जनजाति संघ, संस्थाहरूले कानुनी व्यवस्थाअनुसार तथ्यांक सच्याउन र जातिभित्रको थरहरूलाई जातिको रुपमा नछुट्टाउन आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले कानुनी व्यवस्थाअनुसार अगाडि बढ्ने उक्त तथ्यांक सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘कानुनी व्यवस्था के छ त्यस बारेमा पनि म बुझ्छु । यसको विषयमा मलाई पनि जानकारी छैन । तथ्यांक कार्यालयका सम्बन्धित अधिकारीहरूलाई बोलाएर म कुरा गर्छु,’ प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै जनजाति महासंघका महासचिव दिवस राईले भने, ‘कतिपय जातिभित्रका थरहरूलाई जाति बनाउनु हुँदैन, त्यसले विभाजन ल्याउँछ भन्ने कुरामा म पनि कन्भिन्स छु । यसबारेमा सत्य, तथ्य बुझेर करेक्सन गर्न लगाउँछु ।’

जनगणनामा गुरुङ जातिबाट घले, मगर जातिबाट पुन छुट्टाएको छ भने राई जातिलाई धेरै टुक्रामा विभाजन गरेको छ । यो कुरा कानुनसम्मत हुनुपर्ने माग आदिवासी जनजातिहरूले गर्दै आएका छन् ।

यसअघि आदिवासी जनजाति आयोगले समेत तथ्यांक विभागलाई तथ्यांक सच्याउन आग्रह गरेको भए पनि कार्यालयले बेवास्ता गरेको महासंघका महासचिव राईले बताए ।

यसैबीच सो अवसरमा उनीहरूले नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने सरकारको तयारीका सम्बन्धमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । सरकारले प्रतिष्ठान खारेज गर्ने तयारीस्वरुप आगामी वर्षको बजेट कटौती गरेको भन्दै प्रतिष्ठान नेपालमा रहेका आदिवासी जनजातिसँग प्रत्यक्ष सम्बन्ध राख्ने महत्त्वपूर्ण निकाय भएको भन्दै त्यसलाई खारेज गरेमा आदिवासी जनजातिको पहिचान नै खारेज हुने बताएका थिए ।

प्रतिष्ठान खारेज भएमा आदिवासी जनजातिहरूलाई पहिचान गर्ने प्रतिष्ठान ऐन पनि खारेज हुने र त्यसले आदिवासी जनजातिको पहिचान नै खारेज हुने खतरा बढेको महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले बताए ।

भेटका क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता सुरेश आलेमगर लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया