काठमाडौं । आईसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। जिम्बाबेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा आइतबार भएको खेलमा नेपाल उत्कृष्ट ब्याटिङका बाबजुद घरेलु टोली जिम्बाबेसँग ८ विकेटले पराजित भयो।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाबेले ४४.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। जिम्बाबेलाई सहज जित दिलाउन कप्तान क्रेग एर्विन र सेन विलियम्सले शतकीय योगदान दिए।
एर्विनले १२८ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १२१ रन बनाए भने विलियम्सले ७० बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १०२ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि १२५ बलमा १६५ रनको साझेदारी गरेका थिए।
यस्तै, वेस्ली मधेवारेले ३२ र जोलर्ड गुम्बेइले २५ रनको योगदान दिए। नेपालले केही क्याच र रनआउटको अवसर गुमाएको थियो।
बलिङमा नेपालका लागि सोमपाल कार्मी र गुल्सन झाले समान १ विकेट लिए।
त्यसअघि ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले निर्धातिर ओभरमा ८ विकेटको क्षतिमा २९० रन बनायो।
यो नेपालको एकदिवसीय क्रिकेटमा तेस्रो उच्च स्कोर हो। यसअििघ नेपालले ओमानविरुद्ध ३१० र पिएनजीविरुद्ध २९८ रन बनाएको थियो । यी दुवै कीर्तिपुर मैदानमा सम्भव भएको थियो।
नेपालका लागि कुशल र आसिफले उत्कृष्ट ब्याटिङ गरे । कुशल भुर्तेलले ९९ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे। उनी ३५औं ओभरको पाँचौं बलमा ह्यामिल्टन मासाकाट्जाको बलमा बोल्ड भए। यस्तै, मासाकाट्जाकै बलमा आउट भएका आसिफले १ सय बलमा ७ चौका प्रहार गर्दै ६६ रन बनाए।
यी दुईले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गर्दैै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यो नेपालको एकदिवसीय क्रिकेटको कुनैपनि विकेटका लागि सर्वाधिक साझेदारी हो।
यस्तै, कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाउँदा कप्तान रोहित पौडेलले २९ बलमा ५ चौका प्रहार गर्दै ३१ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ५७ बलमा ७२ रनको महत्वपूर्ण साझेदारी गरेको थियो । यस्तै, गुल्सन झाले १३, आरिफ सेखले १० रनको योगदान दिए।
जिम्बाबेका लागि रिचार्ड एनगारारभाले ४ विकेट लिँदा विलिङ्टन मासाकाट्जाले २ विकेट लिए।